पञ्च कार्यकर्ताबाट पञ्चे, विद्यार्थी मण्डलबाट मण्डले

–स्वयम्भुनाथ कार्की

गुटगत स्वाथ्र्य र त्यसको संघर्षले नेपाली समाज आक्रान्त भै सकेको थियो । २०१५ सालको आम निर्वाचनमा १०९ स्थान मध्ये ७४ स्थानमा जितेको नेपाली कांग्रेसलाई आफ्नो सरकार बचाउन धौधौ परेको थियो । १९ स्थान लिएको नेपाल राष्ट्रवादी गोर्खा परिषद र नेपाल कम्युनिष्ट पार्टीका ४ जनाको समर्थन आवश्यक परेको थियो ।  यो कुरा स्वयं बिपी कोइरालाले आत्मवृत्तान्तको परिच्छेद ५३मा भनेका छन । अहिले जे भनिए पनि २०१७सालमा राजा महेन्द्रको सामुन्ने यस्ता अव्यवस्थाबाट मुलुकलाई बचाउन आफ्नो हातमा शासन लिनै पर्ने वाध्यता आईलागेको थियो ।

गुटगत संघर्षमा मुलुक र जनता गौण हुने परिस्थिति रोक्न दलविहिनता नै उनले उपयुक्त व्यवस्था देखे । तर राजनीतिकर्मीहरु कुनै न कुनै दलसंग आवद्ध थिए त्यसैले दलविहिनतामा राजनीति सञ्चालन गर्ने प्रयाप्त अनुभवी व्यक्तिहरु पाउन कठिन थियो । यसको हल परंपरागत संरचनालाई पुर्नवहाली गर्न मै थियो । परम्परादेखि पञ्चहरु मार्फत समाजको काम गर्ने चलनलाई नै राजनैतिक प्रणालीमा ढाले । पञ्च नाम नलिए पनि त्यो पद्धतिको प्रभावकारीता अहिलेसम्म छँदैछ । नागरिक समाज, बुद्धिजीवि आदिको नामले समाजमा गरिने काम त्यही प्रणाली हो । तर यस्ताको कुनै वैधानिक हैसियत नभएकाले जिम्मेवारीबाट पन्छन् सजिलो भएको छ । पञ्चायतमा भने जिम्मेवारी बहन गर्नुपर्ने गरेर वैधानिकता दिईएको थियो ।

राजनीतिमा अनुभव भए पनि वा नभए पनि आफ्नो समाजको भलो गर्न र सेवा गर्न स्वतन्त्र व्यक्तिहरु सफल भए । यस्ता व्यक्तिहरुलाई पञ्च कार्यकर्ता भनिन् थाल्यो । समाजमा उनिहरुले ईज्जत र प्रतिष्ठा कमाउन थाले । काम गर्न सघाउन हरेक एकाईलाई सचिव दिईयो । यस्ता सचिवहरुलाई तालिम दिन प्रशिक्षण केन्द्रहरु खोलिए । यी प्रशिक्षण केन्द्रहरुमा पञ्च कार्यकर्ताहरुलाई पनि प्रशिक्षण दिने वन्दोबस्त भयो । पढेलेखेका कम हुने त्यो समयमा मुलुकभरिका स्नातकहरुलाई पनि शासन व्यवस्थामा समेटने प्रयत्न भयो । राष्ट्रिय पञ्चायतमा स्नातकहरुले आफ्नो प्रतिनिधि पठाउने व्यवस्था बन्यो ।

विभिन्न वर्गलाई पनि मुलधारमा ल्याउन वर्गिय संगठनहरु भए । वर्ग संघर्ष भन्दा वर्ग समन्वयको बाटोले समाज र मुलुकमा प्रगति हुन्छ भन्ने सोच वन्यो । गुण र दोषको आधारमा, कामको आधारमा कसैको समर्थन वा विरोध हुनु पर्दछ भन्ने यो व्यवस्थाको मुल मर्म थियो । यसले यो मेरो मान्छे यो तेरो मान्छे भनेर टाउको गन्ने गुटगत राजनीति मौलाउन कठिन थियो । सबै कुरामा स्वतन्त्रता भए पनि गुट निर्माणमा बन्देज थियो, राष्ट्रघातमा बन्देज थियो, साझा आस्थाको अनादार बन्देज थियो । यसले पञ्च कार्यकर्तालाई समाजमा प्रतिष्ठा मिलेको थियो । गुण दोषको आधारमा साथ वा विरोध हुनाले स्वअनुशासित समाजको निर्माण हुँदै थियो ।

व्यवस्था, प्रणाली, काम, कर्तव्य तथा अधिकारको बारेमा कोही अनभिज्ञ नहोस भनेर पाठ्यक्रममा पञ्चायत पनि एक विषय राखिएको थियो । राष्ट्रलाई माया गर्ने, नैतिक र चरित्रवान पुस्ता तैयार हुन निमित्त कार्यशालाको काम गर्न राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल खडा गरियो । दु:खको कुरो यो भयो कि त्यो विद्यार्थी मण्डल मात्र केही बर्ष रह्यो अनि मण्डलेमा परिणत भयो । समाजलाई उज्यालो तिर डोर्‍याउने काममा सहयोग र निर्देशन पुगोस भनेर प्रशासन र पञ्चकार्यकर्ताहरुसँग गरिएको मण्डलको सहज पहुँचको दुरुपयोग भयो ।
केही चतुर पञ्चहरु, छट्टु प्रशासकहरुले विद्यार्थी मण्डललाई आफ्नो युवादस्तामा परिणत गरिदिए । सबै नेपालीको समान पहुँचको अवधारणमा निर्मित व्यवस्थामा महापञ्च बन्ने रोग लाग्यो । यस्तो बेलामा निर्देशन र नियन्त्रण हुनको साटो चाकरी चाप्लुसी र चुक्लीको भूमिका बलियो हुनलाग्यो । केही प्रशासक र महापञ्चका कारण पञ्चहरुले प्रतिष्ठा गुमाउदै जान थाले । उल्टो २०३२ सालमा संविधानको दोश्रो संसोधनले पञ्चायतलाई एक दलिय व्यवस्थामा परिणत गरिदियो ।

पञ्चर्‍यालीहरुको बाढी आउन थाल्यो । पञ्च सम्मेलनहरु आम घटना हुन लागे । जनतालाई गाडीमा कोचेर र्‍यालीमा भिड गरेर शक्ति प्रदर्शन गर्ने संस्कारको नेपालमा जन्मदाता तिनै महपञ्चहरु हुन । जनतामुखी भनेर आरम्भ गरिएको व्यवस्था त्यसको ठिक उल्टो केन्द्रमुखी बन्न पुग्यो । देश बनाउन सबैको बरावर हक भएको राजा महेन्द्रको कुरालाई पाखा लगाएर पञ्चायत नीति जाँचवुझ केन्द्र, अनि गाउँफर्क राष्ट्रिय अभियानको समाजिक स्वरुप मारेर इतर र भितर वर्ग पैदा गर्ने औजार बनाईयो । अब विद्यार्थी मण्डलले अपमानजनक नाम मण्डले पायो र पञ्चले पञ्चे हुनु पर्‍यो ।

यो विनाश गर्नेहरु भने पञ्चायत पछि पनि कुनै न कुनै रुपमा शासनको हिस्सा भई रहे । यो गणतन्त्रमा पनि तिनैको बोलवाला छ । इमान्दार पञ्च कार्यकर्ताको कमाई अपहरण गरेर पद र प्रतिष्ठा निरन्तर पाई रहेका छन । राजाको काम मान मात्र थापेर बस्ने हैन जनताप्रति मुलुक प्रति कर्तव्य पनि हुन्छ । यो कुरा सम्झाउन खोज्नेहरु महापञ्चका कोपभाजन भए । यो पञ्चबाट पञ्चे र विद्यार्थी मण्डलबाट मण्डलेमा भएको रुपान्तरण महापञ्च हुन पाएका पञ्चे र मण्डलमा ढलीमली गर्न पाएका मण्डलेहरुलाइ त फाप्यो तर पञ्च कार्यकर्ता र नेपाली जनतालाई भने पीडादायक भएको छ ।
विराटनगर–१

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीवार

थप लेखका थप लेखहरु निरन्तर पढ्न दिइएको फेसबुक पेज चन्द्रसूर्यका सिधाकुरा लाइक गरौं

SHARE THIS

Author:

Facebook Comment