एकादेशको कथा

–झगेन्द्र के. दंगाली

एका देशमा एउटा झुसे भन्ने मानिस थियो । उसका दुई वटा छोराहरु थिए । जेठो मुसे र कान्छो बकम्फुसे । मुसे अलि फटाहा स्वभावको थियो । उसले बाउले भनेको कुरा पटक्कै टेर्दैनथ्यो । साथैं आफू भन्दा सानो भाइलाई पनि कुटिरहन्थ्यो । एकदिन बाउ झुसेले स्कुलमा खाजा खान भनेर दुबै लाई १०/१० रुपैयाँ दिएर पठायो । तर स्कुलमा पुगे पछि मुसेले भाइ बकम्फुसे को १० रुपैयाँ पनि खोसेर लगिदियो । भाइ दिनभरि भोकै बस्यो । साँझ घरमा आएर उक्त कुरा बाउ झुसेलाई सुनायो । झुसे रिसले आगो भयो र मुसेलाई हात बाँधेर एकरात बाख्राको खोरमा थुनिदियो ।

त्यो दिन देखि मुसे केही सुध्रिए पनि मनमा रिस भने साँधिरहेको थियो । समय बित्दै गयो मुसे र बकम्फुसे दुबै जवान भए । सानो हुँदा जति दु:ख दिए पनि ठूलो भए पछि मुसेले भाइलाई राम्रै गथ्र्यो । किनकी उसले भाइको साथ लिएर बाउसँग बाख्राको खोरमा थुनेको बदला लिनु थियो । एक दिन बकम्फुसेले बजार जान बाउसँग केही पैसा माग्यो । तर बाउले दिएन किनकी ऊ सँग त्यतिबेला पैसा नै थिएन । त्यही पैसा नदिएको निहुँमा बाउ छोराको झगडा भयो । उता मुसे यहि मौका कुरिरहेको थियो । उसलाई बलेको आगोमा घ्यू थप्ने खुब मौका मिल्यो । भाइलाई अनेकौं कुराहरू लगाएर बाउको विरुद्धमा भड्काउँदै लग्यो । दुईभाई मिलेर बाउको नाममा भएको सम्पूर्ण घर र जग्गा जमिन मुसेको नाममा गर्नु पर्ने माग राखेर दिन रात झगडा गर्न थाले । सन्तानको अगाडि बाउ झुसेको केही चलेन । र उसले आफ्नो नाममा भएको घर जग्गा जमिन सबै मुसेको नाममा पास गरिदियो । अनि आफू चाहिँ नजिकैको वृद्धाआश्रममा गएर बस्यो ।

यसरी बाउलाई निकालि सकेपछि दुई दाजु–भाई  निक्कै खुशी थिए । दुई भाई मिलेर घरको नाम पनि परिवर्तन गरेर झुसे निवासलाई मुसे निवास बनाए । अनि जग्गा जमिन पनि सबै गाउँलेलाई अधियामा दिए । केही दुख्खै गर्न नपर्ने । अधियाबाट आएको अन्नपात बेचेर पैसा दाजु–भाईले आधा आधा बाँड्थे । र त्यही पैसामा रमाईरहेको थियो बकम्फुसे । तर त्यसको केही दिनमै भाइलाई थाहै नदिइ आफ्नो नाममा भएको उक्त घर र जग्गा जमिन सबै बिक्री गरेर मुसे शहर तिर पस्यो । यो कुरा बकम्फुसेलाई थाहै थिएन । एकदिन बिहानै साहु घरमा आएर घर खाली गर्नु पर्ने कुरा सुनायो । बिचरा बकम्फुसे छाँगाबाट खसे झैं भयो । अब कहाँ जाने, के गर्ने केही सोच्नै सकेन । बाउ कहाँ जाने हो मुख देखाउने ठाउँ नै छैन । उता दाइलाई खोज्ने हो कहाँ खोज्ने । साहुसँग रुन कराउन थाल्यो । यो देखेर साहुले यदि खान लाउन दिएर महिनाको तीन हजार तलबमा काम गर्ने भए आफुले सोही घरमा खेतालो राख्ने कुरा सुनायो । अन्त्यमा मर्नु भन्दा बहुलाउनु ठिक भने झै त्यही साहुकोमा खेतालो बस्यो ।

झुसे, मुसे र बकम्फुसे त यस कथाका प्रतिनिधि पात्र मात्रै हुन । यदि झुसेको ठाउँमा पुर्व राजा ज्ञानेन्द्र शाह, मुसेको ठाउँमा सरकार र बकम्फुसेको ठाउँमामा जनतालाई राखेर हेर्ने हो भने अहिलेको देशको अवस्था ऐनामा आफ्नो अनुहार देखे झै छर्लङ्ग देख्न सकिन्छ । देश जनयुद्धले जर्जर बनेपछि आफैले केही मुख्य भुमिका खेलेर भए पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सकिन्छ कि भन्ने मनसायले तात्कालिन राजा ज्ञानेन्द्र शाहले केही नेताहरूलाई खोरमा हालेर शाही सरकार गठन गरेपछि राजा प्रति क्रुद्ध भएका नेताहरू कसरी बदला लिने दाउ हेरेर बसि रहेका थिए । ठिक त्यही समयमा जनयुद्धको रापले छट्पटाएका जनता सडकमा ओर्लिएपछि त झन नेताहरूलाई के खोज्छस काना आँखो भने झै भयो । त्यसैमा घ्यू थप्न थाले । दुश्मन राजालाई सकाइ दिए । आन्दोलन दिन प्रतिदिन बढ्दै गयो । उता बन्दुकको भरमा राज्यसत्ता कब्जा गर्ने रणनीतिमा लगेको माओवादी अप्ठ्यारोमा पर्यो ।

जनयुद्धमा होमिनु पर्ने जनता सडक तिर झरेपछी जनयुद्धमा पुर्णविराम नै लाग्ने होकि भन्ने डर भयो । र रित्तै हुनु भन्दा आधा पाउनु उपयुक्त ठानेर बन्दुक जङ्गल तिरै लुकाएर ऊ पनि आन्दोलनमा होमियो । अन्त्यमा जनताको अगाडि राजाको केही लागेन उनले जनताकै खुसीको निम्ति सजिलै सत्ता छोड्न मन्जुर भए । किनकि उनलाई जनताको माया थियो । यदि त्यसो नहुँदो त आज सिरियामा जस्तै आन्दोलनलाई दबाइ रहन्थे र लाखौं जनधनको क्षति पनि हुन सक्थ्यो । तर उनले त्यसो गरेनन् ।

त्यसपछि दलहरूले सत्ता हातमा लिए । संविधानसभाको चुनाव पनि भयो । जनताले संविधानसभामा आफ्ना प्रतिनिधि चुनेर पनि पठाए । गणतन्त्र घोषणा पनि गरियो । त्यहाँ सम्म ठिकै पनि थियो । जब संविधान लेखन शुरु भयो त्यसपछि नेताहरू जनताको इच्छा र चाहना भन्दा पनि आफ्नो सत्ता र स्वार्थको लागि आइसी डलरको लोभमा पस्दै गए । त्यसैले संविधानमा नेपालीजनतालाई भन्दा पनि विदेशी प्रभुलाई खुशी पार्न तिर लागे र उनीहरुकै चाहना अनुरुपको संविधान जारी गरे । त्यसैको परिणाम आज देशमा विदेशी हस्तक्षेप बढ्दै गयो । र स्वयं आफै प्रधानमन्त्री जस्तो पदमा बसेर देशमा सिक्किमिकरण बढ्न सक्ने खतरा औंल्याइ रहेका छन् । त्यसैले अब छिटो भन्दा छिटो जनता एकजुट भएर राजसंस्था पुनर्वहाली नगर्ने हो भने कतै आफ्नै घरमा साहुको खेतालो बस्नु पर्ने झुसे, मुसे र बकम्फुसेको जस्तै एकादेशको कथा बन्ने त होइन नेपाल ?

प्रकाशन मितिः २०७३ वैशाख ९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment