“नबिराउनु नडराउनु” महेन्द्र दर्शन

स्वयम्भुनाथक कार्की
राजा महेन्द्रले शासनको बागडोर हातमा लिंदा स्वभाविक रुपमा नै सर्वत्र एक प्रकारको अन्यौलता थियो । यो अन्यौलता अस्वभाविक भने थिएन । पचास र साठीको दशकमा संसारमा धेरै परिवर्तनहरु भए । धेरै राजनैतिक नेतृत्व, व्यवस्था आदि परिवर्तन भए । यी हरेक परिवर्तनहरु हिंसात्मक नै भए, परिवर्तन पछि कतै विकरालरुपमा र कतै अलिअलि प्रतिशोधात्मक कारवाही भए । यो त्यो वेलाको र केही रुप परिवर्तनको साथमा वर्तमानको पनि प्रवृति हो । तर अनेकौ आशंका र अन्योलतालाई चिर्दै सत्रसालको परिवर्तनले त्यस्तो केही गरेन ।

शुरुमा केही सय मान्छे पक्राउ परे, यो पक्राउमा गोलीको त कुरै भएन लाठीसम्म चलेको पनि चर्चा वा प्रमाण पाईएको छैन । पक्राउ परेकाहरु कोही तुरन्तै छुटे भने बिपी लगायतका केही नेताहरु भने ढिलो छुटे । जो निर्वाशनमा गए त्यो स्वेच्छिक थियो, मुलुकमा रहन अनुकुल नभएर होईन । यस कुरालाई बिपीको आत्मवृत्तान्तको परिच्छेद ६१ को अन्त तिर उल्लेखित कुराले बल पुग्छ । विपी भन्दछन “तर हिन्दुस्थान गएपछि, त्यत्रा काण्डहरु गरेर फर्केर आउँदा, मलाई लाग्छ, एउटा आयाम विस्तारित भयो । हिन्दुस्थान जाने अरु कुनै कारण थिएन” ।

राजाले शासन हातमा लिएको बेलामा सबैजसो स्थानको नेतृत्व र असरदार तथा सामान्य सबै पदमा नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकाहरु नै थिए । तर राजालाई आफ्नो मान्छे भन्दा योग्य मान्छेको आवश्यकता थियो । त्यसैले अब व्यवस्था वदलियो आफूलाई के होला भनेर भयभित भईरहेकालाई राजा महेन्द्रले “नबिराउनु नडराउनु”  भन्ने दर्शन दिए । आस्था सिद्धान्त जे जस्तो  भए पनि देश हितमा सहकार्य गर्न आव्हान गरे । यो नै वर्तमानको आलोचित “महेन्द्रको राष्ट्रवाद” । आफ्नो शासनकाल भरी नै उनले हमेशा आफ्नो कामको आलोचना प्रति सहिष्णु मात्र भएनन् विवेचनले आवश्यक देखेको कुरा अंगिकार पनि गरे ।
केही अपवाद नभएका होईनन्, कुनै कुनै कुरामा कसैमाथि आस्थाको आधारमा कारवाही पनि भए । तर यस्तो कुराको जानकारी हुने वित्तिकै त्यस्ता कुराहरु रोकेका उदाहरण पनि पर्याप्त छन् । यहि कारण नै हो समय र परिस्थितिले एक अर्काको विरोधीको रुपमा खडा गरेका राजा महेन्द्र र वीपी व्यक्तिगत हैसियतमा भने मित्र थिए । बिपीको नेतृत्वको नेपाली कांग्रेसले हमेशा नेपालको एकताको सुत्रको रुपमा राजसंस्था देख्यो भने राजसंस्थाले लोकसम्मतिको अनुसार काम हुनुपर्ने प्रजातान्त्रिक प्रणाली शासन व्यवस्थाको अभिन्न अंग मान्यो ।

राजा र नेपाली कांग्रेसको लामो संघर्षको क्रममा दुवै पक्षबाट यी मान्यतालाई ठेस पुग्ने केही घटनाहरु नभएका भने होईनन् । तर यी घटनाहरु अपवाद थिए, बिपीले पनि नेपाली कांग्रेसका तर्फबाट भएका यस्ता घटनाहरुलाई यथासंभव सच्याए र राजसंस्थाले पनि त्यसै गर्‍यो । झलक्क हेर्दा विपरित जस्तो लाग्ने राजसंस्था र प्रजातन्त्र नेपालमा भने वास्तवमा एकअर्काका पुरक र आधार थिए । यहि नै मुल कुरा हो बिपीवादको । यी दुवैको द्वन्द्ववाट मथेर निक्लेको राम्रो कुराको प्रयोग र नराम्रो कुराको त्याग बिपीवाद हो भने बाटो निर्वाध बनाउन सबै कुरा समाप्त पार्दै लैजाने कुरा जिपीवाद हो ।

मुलुकको हितमा भएको कुरा आफु अनुकुल नभए पनि रहनु पर्दछ भन्ने बिपीको कुराको उल्टो आफु अनुकुल बनाउन सबै कुरा समाप्त पार्दै जाने गिरिजाको चिन्तन नेपाली काँग्रेसमा हावी भयो । जसरी भए पनि आफ्नो वर्चश्व कायम राख्न सफल भएको गिरिजापथलाई १३औं महाधिवेशनमा अहिलेसम्म खुम्चेर बस्नु परेको बिपीपथले चुनौति दिएको छ । तुरन्त व्यक्तिगत लाभ हुने गिरिजापथलाई मुलुक नीति सिद्धान्तलाई व्यक्तिगतलाभ भन्दा मुख्य मान्ने बिपीपथले प्रतिस्थापन गरिहाल्न संभव होला वा नहोला, तर बिपीपथ मुर्छाबाट जाग्नु पनि ठूलो कुरा मान्नै पर्दछ ।

त्यसमाथि राजा महेन्द्रको “नविराउनु नडराउनु” भन्ने दर्शन र मुलुक बनाउन हाम्रो हैन राम्राको खाँचो छ भन्ने उनको कार्यनीति पनि मिसाउन आवश्यक छ । यसो भएको अवस्थामा छिमेकीको त के कुरा पुरा विश्वको पनि नेपालीले परवाह गर्नु पर्ने अवस्था आउदैन । एक ट्यांकर इन्धनले मुलुक हल्लाउन सफल हुनु नै राष्ट्रवाद कमजोर हुनु हो । आन्तरिक रुपमा बलियो भएमा शरिरमा पनि कुनै रोगले आक्रमण गर्न सक्दैन । त्यस्तै आन्तरिक रुपमा वलियो भए राष्ट्रमा पनि बाहिरी शक्तिले खेल्ने मौका पाउन्न ।

राष्ट्र बलियो हुन नागरिकको एकता आवश्यक पर्दछ । अनि एकता फरक विचारलाई सहमतिको नाममा थिचेर हैन उसको सम्मान गरेर कायम गर्न सकिन्छ । सहमतिको नाममा बहुलवादलाई समाप्त पार्न अरु वा आफुलाई नै बदल्ने गिरिजापथले मुलुक कमजोर भएको अनुभूति नेपाली कांग्रेसमा पलाएको प्रमाणको रुपमा अहिले खुलेरै बिपीपथ र गिरिजापथको बहस प्रारम्भ भएकोलाई सकारात्मक लक्षण भन्न सकिन्छ । प्रजातन्त्रमा राष्ट्रवादको मुकुट लागोस यहि नै सर्वोत्कृष्ट व्यवस्था हो ।

विराटनगर–१
प्रकाशन मिति २०७२ फागुन २० गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment