-सीता पौडेलजहाँ साधारण जीवन जिउनेहरुले आफ्नो सभ्यता, संस्कार अनि भद्रताको मुल्यांकन गर्दै समाज या देशमा सुन्दर सोच र विचारलाई राख्ने गर्छन् भने, त्यहीँ मर्यादित पेशा अनि गरिमामय छवि बनाएर समाजमा राम्रै पहुँच भएका व्यक्तिहरु जसको चर्चित अनुहार भित्र कालो अनि घृणित अनुहार लुकेको कुरा उनीहरुको विभिन्न क्रियाकलापले दर्शाइ रहेको हुन्छ ।
घरमा श्रीमती, छोराछोरी भएका भद्र भलाद्मी व्यक्तिहरुका आँखा पराई चेलीबेटी र अरुका श्रीमतीलाई गलत नजरले हेर्ने र आफ्नै श्रीमती जो वास्तवमै सुशील अनि सहनशील छ उसैलाई विभिन्न शंका अनि उपशंका गरेर आरोप प्रत्यारोप लगाउँदै विभिन्न खाले यातना दिने गरि रहेका थुप्रै उदाहरणहरु छन् ।
फेरि हाम्रो समाज जस्को दायित्व हुन्छ सहीलाई सही अनि गलतलाई गलत भन्नू पर्ने, तर त्यो समाजले पनि मर्यादित पेशा अनि गरिमामय छविकै आडमा अझ उल्टो उसैलाई समर्थन र महत्व दिने गरेको हुनाले यस्ता चरित्रहरु झन् भन्दा झन् मौलाईरहेका छन् ।
एक्काइसौं शताब्दीको उदाहरण दिएर महिलाले सोच अनि विचारमा फराकिलो भएर परिवर्तन ल्याउनु जरुरी छ भन्ने ती भद्र महाशयहरु किन आफ्नो घरमा त्यो एक्काइसौं शताब्दी भन्ने शब्दलाई प्रयोग गर्दैनन् ? के पर नारीसँगका भलाकुसारीमा मात्र यो शव्दको प्रयोग गर्नु पर्ने हो र ? या पर नारीको सामीप्यता पाउनको लागि भद्र पुरुषहरूले यस्ता शव्द प्रयोग गर्ने गर्छन् ?
ठुला–ठुला पदका घुम्ने कुर्सीमा विराजमान हुने वरिष्ठ महानुभावहरुले आफ्नै कार्यालयमा आफूभन्दा तल्लो तहको पदमा कार्य गर्ने कर्मचारीहरुमा पनि पुरुष भन्दा महिला कर्मचारी प्रतिको व्यवहार र सामिप्यतालाई बडो रोमाञ्चकारी ढंगले निभाउने गर्छन् र तिनै भद्र महाशयहरु घरकी सुशील नारी प्रति तुच्छ व्यवहार गर्ने गर्दछन् ।
ज्ञान अनि विज्ञानको दुनियाँमा जतिसुकै अगाडी बढेर वाह वाही लुटे पनि कहिलेकाहीँ ज्ञानरुपी त्यो दिमागमा मन्दवुद्धिको बिर्को लागे पछि कठै तिम्रो विज्ञानरुपी ज्ञान भन्ने स्थिती आउँदो रहेछ । त्यहाँ नीर पनि उसको त्यो कालो चरीत्र झल्किन्छ । म यहाँ नीर ती महिलाहरुलाई पनि त्यत्तिकै दोषी मान्छु जसले यस्तो दोहोरो छवि भएका मर्यादित पुरुषहरुको वास्तविकता आँफूमै समेटेर राख्ने गर्छन् । यदि यस्ता दोहोरो चरित्रको खेल खेल्नेहरुलाई बेलैमा थन्को नलगाउने हो भने यसले अझै विकराल रुप नलेला भन्न सकिन्न ।
आफ्नो मर्यादित पेशा अनि गरिमामय छवि बनाएर समाजमा सुन्दर छाप बनाएर प्रस्तुत हुन सफल हुनुभएका भद्र महानुभावहरु आफ्नो क्षणिक मनोरञ्जनकोलागि या कसैको भावनासँग खेल्ने गरि चालिएको यो गलत कदमले आफ्नो भइ रहिआएको त्यो सुन्दर छविमा कतै कालो नपोतियोस् किनभने जतिसुकै राम्रो छवि भए पनि ध्यान अलिकति मात्रै पनि गलत कार्यतिर लाग्यो भने त्यहाँ डर लाग्दो घटनाले पर्खी रहेको हुन्छ जस्को बारेमा सायद कहिल्यै सोच्नु भएको पनि छैन् होला । हरेक मानिसको जीवनमा राम्रो र नराम्रो दुबै पाटोले भुमिका खेलेको हुन्छ । नराम्रो पाटोले बर्बाद गराउन ठिक त्यसरी नै मौका पर्खी रहेको हुन्छ जसरी एउटा चोरले कसैको घरमा चोर्ने एउटा दाउ हेरिरहेको हुन्छ ।
राम्रो कुराबाट ध्यान हट्यो कि दुर्घटना घट्यो । त्यसैले आफ्नो भावनालाई स्थिर राख्नुहोस् किनभने भावना त सागर जस्तै अस्थिर हुन्छ बगिरहने अनि अनेकौं छाल लिएर हुत्तिइरहने जसले कहिलेकाहीँ अपत्यारिलो तरिकाले डर लाग्दो विपत्ति निम्त्याउने गर्छ । कतै तपाईंको अस्थिर भावना त्यही पर्खाइमा त छैन् ?
प्रकाशन मितिः २०७३ असार ०९ गते विहीबार
Nepalese Rupee Exchange Rate