आफ्नो दुख: आफै सित छ हजुर

-जनकमान डंगोल

अहिले यतिखेर यो पंक्तिकार काम बिशेषले राजधानी काठमाण्डौमा अड्डा जमाएर बसेको छ । बल्खु हानागुलु चोक भित्र आफन्तको डेरामा आश्रय लिएर बसेको पंक्तिकारको आफन्तको डेरा अगाडी बिहानै एकजना कवाडी खोज्दै हिंडेका ब्यक्ति संग भलाकुसारी गर्ने मौका पाए ।
परिचयको सुरुमा सोधिने भनेकै नाम र ठेगानाबाट हो त्यसैले तराईकै लवजमा के नाम हो चाचा अनि घर कता परी लियो ? भनेर सोधें ।

नाम हाम्रो रामकृत साह हो । सर्लाही जिल्लाके सुदामा गाउँमा पर्छ हजुर हाम्रो गाउं ।

अनि तराईमा घर भाको मान्छे, जग्गा जमिन पनि त होलानी हैन ?

जग्गा जमिन पहिला थियो तर बाबु आमा सब बेचेर खाई लियो । अहिले त घर घडारि (घरेडी) केहि पनि छैन हजुर । जग्गा जमिन नभएपछि कसरी पेट पाल्ने ? त्यसैले कामको लागी काटमाण्डू आएको छु हजुर ।

अनि बेटाबेटी कति छ त चाचा ?

तिनगो लर्का और दुगो बेटी । सबको सादी बिहा भै सक्यो । येगो लरकीको सादी ईण्डिया बिहारके  सितामढी अरु बाँकी सबको नेपालमै सादी करी दिएको ।

अनि छोराहरु के गर्छन् त ?

हामी जस्तै कबाडीको काम गर्छ तर अलग बहु लिएर बसी लिएको छ । हामी बूढ आदमीलाई काहाँ हेर्छ । यसो भन्दा तिनको आँखामा देखिएको पीडा सजिलै संग पढ्न सकिन्थ्यो ।
अनि आम्दानी कति हुन्छ त चाचा ?

कहाँ आम्दानी छ हजुर ? दिनमे दुपांच सौ हुन्छ । कोहि दिन त भुखा बस्नेको दिन पनि आउछ । बल्खु खोलाके बगरमे हामी जस्तै भाई संगीके साथ मिल्कर बसी लिएको छु ।

ती तराईबासीको यस्तो कुरा सुन्ना साथ यो पंक्तिकारलाई स्व.राजा महेन्द्रले रचेको गीत
गर्छिन पुकार आमा
रोई कराई जोडले
सक्तिन हेर्न भन्छिन
सन्तान थरिथरिका
कोहि धनी असाध्य
कोहि गरिब माग्ने
सक्तिन हेर्न भन्छिन
सन्तान थरिथरिका
को सम्झना आयो । पंक्तिकारले स्कुले जीवनमा थुप्रै पटक घोकेको यो गीत त्यसै लेखिएको हैन रैछ भन्ने कुरा प्रमाणित भएको छ ।

कुराकानीको सिलसिलामा तराई मधेसको आन्दोलनको कुरा कोट्याए ‘चाचा तपाई त खुंखार खुंखार राजनीति गर्ने नेताहरुको क्षेत्रको मान्छे रहेछ । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुर, नेपाली कांग्रेसका अमरेस कुमार सिंह देखि सद्भावना पार्टीका नेता राजेन्द्र महतोहरू  समेत तपाईको जिल्लाको नेता । यिनीहरु मन्त्रि पनि भक्यो नि हैन र ? गरिब मधेसीजनको लागी केहि गर्दैन ?

मेरो प्रश्न सोधाई देखेर ती कबाडीवाला रामकृत साहले जवाफ दिए ओ सब नेता लोगन हामी गरिबके काहा हेर्छ हजुर । भोट माग्नेके बखत दुहात जोडेर बहुत मिठासवाला बात बोल्छ । चुनाव खतमके बादमे हामी गरिब लोगनके काहांसे याद गरि लिन्छ, पहचानतो दुरके बात हजुर ।

कुरै कुरामा तिनले जागिरको कुरा निकाले हामी जवानीको बखत पुलिसमे भर्ति बहुत सजिलो थियो । नसिबमे लिखेको रैनछ । वो समयमे पुलिसमे जागिर खाई लिएको भए आज यस्तो दिन काहांसे देख्नु पर्थ्यो हजुर । अब पछ्ताने से क्या फायदा ।

नेपाली हुन् तर जग्गा जमिनको नाउँमा १ धुर नभएको यस्ता धेरै रामकृतहरु राजधानी देखि देशका अन्य थुप्रै शहरहरुमा बाँच्नकोलागि बिभिन्न कामहरु खोज्दै र गर्दै हिंडेको भेटिन्छन् । बाँच्नुको लागि जस्ता सुकै तुच्छकाम गर्न पनि पछी नपर्ने रामपृतहरुको मुक्तिको नारा दिंदै  तराईका नेताहरुले ईन्कलाबी नारा घन्काउन थालेको पनि धेरै बर्ष भयो । मधेसी नेताहरुको ईन्क्लाबी नाराले यस्ता गरिब मधेसीहरुको लागी सिन्को भांचेको छैन र भाँच्दा पनि भाँच्दैन तर मधेशी जनताहरुको बर्गीय मुक्तिको नारा बुलन्द गरेर धेरै मधेसी नेता तथा तिनका आसेपासेहरु मालामाल बनेका छन र बन्दैछन् अनि लाजै नमानी मधेसी जनताको मुक्तिको नारा लाउन पनि छोडेका छैनन् ।

प्रकाशन मितिः २०७३ असार २ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment