प्रदर्शनीमा राखिएको “नेपाल” र झोले नागरिक

–सीता पौडेल

मानिसको जन्मसँगै जन्मेको हुन्छ उसको जीवनयात्रा, र त्यही जीवनयात्रामा कोरिएको हुन्छ सुख–दु:ख, घाम–छाँया, वर्षा–खडेरी र अनेकौं उतारचढावहरु र मानिस तेसैको आधारमा अगाडी बढ्छ ।

तर कतिपय मानिसहरु आफ्नो गन्तव्यलाई अर्कै मोडले मोडि दिन्छन् मतलब गलत तरीकाबाट जिउने जीवन शैली अपनाएर, जसमा पर्छ चोरी, हत्या, लुटपाट, भ्रष्टाचार, कालोबजारी अनी स्वार्थै स्वार्थले भरिएको राजनीति ।

दस वर्षको अवधिमा मुलुक अहिले अत्यन्त जर्जर अवस्थामा पुगेको छ । देशको अस्थिर राजनीतिले गर्दा कथित नेताहरूले नेपाललाई एउटा मनोरञ्जनको खेलको मैदान बनाएका छन् । जसले गर्दा नेपाल र नेपालीको स्वाभिमान माथि प्रश्नचिह्न लागेको छ । अन्तर्राष्ट्रि जगतमै नेपाल र नेपालीले आफ्नो आत्मसम्मान गुमाइ सकेको अवस्था छ ।

मञ्चमा उभिएर मिठा–मिठा भाषण दिएर सोझा साझा जनताहरुलाई मूर्ख बनाउँदै देशलाई ओरालो लागेको हरिणको चाल बनाई रहेका कथित नेताहरु धिक्कारका पात्र बनेका छन् । सस्तो लोकप्रियताको लागी परिवर्तनको नाउँमा ठूला–ठूला भाषण मात्रले केहि हुने वाला छैन ।

भुकम्प गएको एक वर्ष बित्न लागि सक्दा पनि पीडितहरुले अझै बाँस र राहत पाएका छैनन् । देशमा कुनै पनि कार्य पद्धतिको गतिमा तिव्रता नआउँदा सर्वसाधारण जनताले भोग्नु परेका विभिन्न दु:ख पीडालाई सरकारले कसरी हेर्न सकेको छ ? किन अहिलेसम्म बासको टुंगो लगाएको छैन् ? कार्य पद्धतिको भार बोकेका सरकारी निकायको ठूलो ओहदामा बसेका ती ठुला ठुला कर्मचारीहरु अहिलेको यो नाजुक अवस्थालाई मौका पारेर उद्धार गर्नुको सट्टा भ्रष्टाचार तिर सलबलाई रहेका छन् ।

भुकम्पले दिएको दर्दनाक पिडाबाट उकासिन त दुर दुई छाकको जोहो गर्ने अवस्था सम्म छैन तिनीहरुको । वृद्ध वृद्धाहरु र साना बालबालिकाले जुन मार खेपिरहेका छन् अहिले त्यसले किन मन पोलेको छैन यो सरकारको ? हावाहुरी, असिनापानी संग–संगै वर्षा आउँन लागि सक्यो अझै किन मौनताको चुप्पी साँधेर बसेको छ यो सरकार ? या त केही गरोस् होइन् भने ती सम्पूर्ण पीडित जनतालाई आफ्नो बास दिएर आफू पाल मुनी गएर बसोस् । र सरकारी ओहदाका उच्चपदमा सु–सज्जित भएर आसन ग्रहण गरेर बस्नु भएका महानुभाव ज्युहरु कार्य पद्धतिको कार्यभार निभाउन सकिदैन भने आ–आफ्नो पदबाट अवकास लिंदा हुन्छ ।

सारै दु:ख लाग्छ रमिताको लागी प्रदर्शनीमा राखिएको हाम्रो देश जो अन्तर्राष्ट्रिय जगतमा लिलामीको अवस्थामा छ । धिक्कार लाग्छ ती मूर्ख जनताहरु प्रति जो झोले बनेर हरेक झोले नेताको झन्डा बोकेर हिंडेका छन् । अनि दुख लाग्छ विनाशको भुमरी भित्र बिलाउन लागेको हाम्रो प्यारो सुन्दर देशको विवशतालाई देख्दा ।

प्रकाशन मिति: २०७२ चैत्र २५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment