मधुमेहबाट बचौ....

– डा.अरुण कुमार सिंह
बाल रोग विशेषज्ञ / ISPAD Fellow

अप्रिल ७ को विश्व स्वास्थ्य संगठन दिवस मनाइँदै छ । Beat The Diabetics कार्यकम बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि मनाइँदै छ, मधुमेहबारे ज्ञान दिनु मूल उदेश्य रहे को छ । सन् २०१४ मा विश्वका ९ प्रतिशत युवामा मधुमेह देखिएको थियो, जो १८ वर्ष र सोभन्दा माथिका छन । सन् २०१२मा करिब १ करोड ५० लाख मानिसहरुको मृत्युको कारंण मधुमेह भएको बताइन्छ ।

मधुमेहलाई अंग्रेजीमा, डायबिटिज मिलाइटस भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । समयमै उपचार गरिएन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ । छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू, स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन् ।

मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो ।

मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । पहिला ‘इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस’ वा ‘अपरिपक्व मधुमेह’ भनेर चिनिन्थ्यो । के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।

टाइप वान डायबिटिज
शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कम हुँदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यस्ता बिरामीलाई बाँच्नको लागि नै इन्सुलिन चाहिने भएकाले यिनीहरु जिवनभर इन्सुलिनमा आश्रित हुन्छन् । जुनसुकै उमेरमा देखापर्न सक्ने भएतापनि यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा शुरु हुने र दुब्लापातला मानिसमा बढी देखिने गर्दछ ।

टाइप ट्र डायबिटिज
शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोसा्रे किसिमको मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेकाही इन्सुलिनको पनि आवश्यकता पर्न सक्दछ । यस्तो मधुमेह सामान्यतया ४० बषको उमेरपछि प्राय:मोटाघाटा व्यक्तिहरुमा देखापरेको पाइन्छ ।

               टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ । टाइप ट्र डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ । इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन् ।

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रोफसर डा.गौरी शंकर शाह, वरिष्ठ बाल रोग विशेषज्ञको रेखदेखमा क्लिनिक संचलित छ, यसबाट बाल बालिका मधुमेहको उपचार र मधुमेहबारे ज्ञान लिन सकिन्छ ।

(डा. सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत हुनुहुन्छ)

प्रकाशन मिति: २०७२ चैत्र २५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment