अपदस्थ राजा ज्ञानेन्द्रको सशक्त अभिव्यक्ति र निरिह गणतन्त्र

-सन्तोष मिश्र

दशवर्षे सशस्त्र माओवादी जनयुद्ध र जनआन्दोलनपश्चात बनेको अन्तरिम संविधान २०६३ ले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र राजनीतिक व्यवस्था हटाएर संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्‍यो । अन्तरिम संविधान लागु भएको १० वर्ष पछि दोश्रो संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल–२०७२ को संविधान जारी गर्‍यो । तराइ–मधेशका जनताहरूको अधिकार सुनिश्चित नगरिएको भन्दै संविधानका विरुद्ध मधेश केन्द्रित अभूतपूर्व एकता सहितको मधेश केन्द्रित आन्दोलन भयो, अझै जारी छ । नेपालको संविधान २०७२ जारी भएपछि भारत चिढियो । कुटनीतिक सम्बन्ध खलबलियो । ५ महिनासम्म भारतले आर्थिक अघोषित नाकाबन्दी समेत गर्‍यो । संविधान जारी भएपछि धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन महाअभियान चलाएर युरोपेली महासंघ, पश्चिमेली राष्ट्रहरूको अवाञ्छित गतिविधि नेपाल भूमिबाट चिनविरुद्ध लक्षित भएपछि नेपालसँग चीन पनि सशंकित बन्दै आएको छ । पछिल्लो पटक अमेरिकाले नेपाललाई भारतीय दृष्टिकोणले नहेर्न अभिव्यक्ति दिएको छ । हरेक ठूला साना राजनीतिक पार्टी गुट, फूट र लूटको संस्कार र संस्कृतिमा ग्रसित र कमजोर छ । गणतन्त्र दिवस केवल औपचारिकता निर्वाहको दृष्टिले मुलुकभर निरीह र उदासिन रुपमा मनाइएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद ओलीलगायतले शुभकामना सन्देश दिएका छन् । राष्ट्रवादी धारको दृढतापूर्वक वकलात गर्ने राष्ट्रिय दैनिक अन्नपूर्णपोष्टमा गणतन्त्र दिवसकै दिन अपदस्थ राजा ज्ञानेन्द्र शाहसँग सम्पादक युवराज घिमिरेले गरेको साक्षात्कारमा आधारित अति महत्वपूर्ण सम्पूर्ण न्यायप्रेमी परिवर्तनकामी देशभक्त नेपाली जनताको मन छुने, मन जित्ने अभिव्यक्ति मुख्य पृष्ठमा छापिएको छ र सो सनसनीपूर्ण अभिव्यक्तिले चर्चाको शीखर छोएको छ ।


लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलका शीर्ष नेताहरूलाई अपदस्थ राजाको अभिव्यक्तिले हतप्रभ नै बनाइदिएको छ । गणतन्त्रलाई सत्तास्वार्थकेन्द्रित राजनीतिक हतियारका रुपमा सीमित गर्ने नेपालका दलका नेताहरूको छिनछिनमा मात्तिने, आत्तिने मनस्थिति छ । राजनीतिक दूरदर्शिता र दूरदृष्टि केही छैन । क्षणिक सत्तास्वार्थ र सुखमा रमाउने दलका नेताहरूबाट जनताहरू वाक्क दिक्क भइरहेको बेला, संविधानको अक्षरस पालन हुन नसकेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको मार्मिक यथार्थ र ताजा विचारले उदासिन सम्पूर्ण नेपालीहरूमा नयाँ आशा र भरोसाको संचार गरेको छ । राजा सबैको साझा, राजा राष्ट्रियताको प्रतीक भन्ने तरंग पैदा गरिदिएको छ । पूर्व राजा ज्ञानेन्द्रको ताजा अभिव्यक्तिको समग्र देशका सम्पूर्ण नेपालीको मनमा उब्जिएका कुराहरुको प्रतिनिधित्व गरेको छ ।
फाइल तस्वीर

गणतन्त्र दिवसका दिन राष्ट्रपति भण्डारीले दिएको सन्देशमा पहिलोपटक संविधानसभाबाट नेपालको संविधान जारी भएको र यसको कार्यान्वयन सुरु भएको छ । ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी जनतलाई पूर्ण सार्वभौम बनाएको छ । राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिंगो मुलुक आन्तरिक श्रोत र साधनको अत्यधिक सदुपयोग गर्नमा केन्द्रित हुनुपर्ने उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीको सन्देशमा २००७ सालदेखि नेपाली जनताले गरेको संघर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएर गणतन्त्रात्मक लोकतन्त्र संस्थागत भएको, संविधानले राजनीतिक मात्र होइन, आर्थिक रुपमा सामाजिक सांस्कृतिक हक सुनिश्चित गरेको छ । संविधान जारी भएपछि अब आर्थिक विकास प्राथमिकतामा रहेको उल्लेख छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशमा सत्यता नभएकोले नेपाली जनताहरूले सन्तुष्टी लिने ठाउँ देखिंदैन । नेपाली जनताले व्याप्त घुसखोरी, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, ढाड भाँच्ने महंगी, अभाव देखिरहेका छन् । भोगीरहेका छन् । सुशासनको लक्षण कहिं कतै देखा परेको छैन । जताततै वेथिति र अव्यवस्था छ । यस्तो अव्यवस्थामा जनताको आशा र धैर्यता टुटिसकेको छ । जनताले वर्तमान संविधान र व्यवस्थाको विकल्प खोज्न सुरु गरिसकेका छन् । यस संसारमा निर्विकल्प, निर्विवाद र असंभव भन्ने केही छैन ।

राजनीतिक व्यवस्था भनेको साधन हो । सार्वभौम नेपाली जनता राजनीतिक व्यवस्था रोज्न स्वतन्त्र र सवल छन् । राजतन्त्र ढाल्नु मात्र गणतन्त्रको आधारभूत कुरा होइन, राजतन्त्रले हिजो के के गरेको थियो, वर्तमान दलहरूको सरकारले के के गर्दैछ नेपाली जनताले गम्भीरतापूर्वक अध्ययन र समीक्षा गरिरहेका छन् र वर्तमान राजनैतिक दलहरूको सत्ता बाँडफाँड, भागबण्डा, कार्यशैली र व्यवहारबाट आम उत्पीडित जनताहरू आक्रोशित बन्दै गइरहेका छन् ।
राजा ज्ञानेन्द्रको यथार्थपरक अभिव्यक्ति र विश्लेषणले नेपालीहरूको भाँचिंदै गएको मनलाई दरो बनाउन निकै ऊर्जा मिलेको छ । वास्तवमा भन्ने हो भने दलका नेताहरू आफ्नो गराइ र भनाइबाट आफैं असन्तुष्ट छन् । उनीहरूको आत्मामा डरले घर गरिसकेको छ । राष्ट्रको बजेट कार्यकर्तालाई भागबण्डा गरेर नेपाली जनताहरूमाथि शासन गर्न सकिंदैन भन्ने हेक्का दलका नेताहरूलाई भइसकेको छ । दलहरू र जनताहरूबीचको सम्बन्धमा दरार उत्पन्न भइसकेको छ । राष्ट्रिय एकताको क्रमभंग भएको छ ।

यस्तो परिप्रेक्ष्यमा राजा ज्ञानेन्द्रको मर्मस्पर्शी अभिव्यक्तिले जनताको ह्दयको ढुकढुकी बढाएको छ । नेपालमा वर्तमान राजनीतिक व्यवस्थाको विरुद्ध जनविद्रोह हुने प्रबल संभावना बढ्दै गएको छ । राजाको ताजा अभिव्यक्तिमा तत्काल कुनै स्वार्थ, आग्रह र पूर्वाग्रह झल्किएको छैन । राजाको अभिव्यक्तिले होशियार, खबरदार गरेको छ । पूर्वराजा ज्ञानेन्द्रले संविधान बनेर राष्ट्र हार्न हुँदैन भनेका छन् । यो गम्भीर विषयमा आम देशभक्त परिवर्तनकामी जनताको गहिरो चिन्ता र चासो हुन जरुरी छ । राजनीतिका निर्णायक र परिवर्तनका संवाहक शक्ति जनताहरू नै हुन् । नेपाली जनताहरू कुनै पन राजनीीतक दलका दास हुन सक्दैनन् । दलहरूको भय र भ्रमबाट मुक्त हुन लगभग सबै जनताहरूले चाहेका छन् । वर्तमान ठूला राजनीतिक दल भनिएका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी मिलेर नेपालको संविधान २०७२ को पूर्ण कार्यान्वयन गर्न सक्ने वातावरण अब आउला जस्तो लाग्दैन ।

बहुमतीय सहमतिमा बनेको संविधान कार्यान्वयनकालागि अधिकतम सहमति, सबै पक्षलाई मान्य हुने, राजनीतिक मूल प्रवाहमा सबै अटाउन सक्ने, एकैसाथ हिंड्न सक्ने वातावरणको नितान्त आवश्यक छ, त्यस्तो आवश्यक वातावरण अब कुनै पनि हालतमा बन्दैन र पुन: संविधान संशोधन हुन अति जरुरी छ । राजनीतिक सन्तुलन र छिमेकी कुटनीति सम्बन्ध विगारेर शासन सत्तामा धेरै दिन कोही टिक्न सक्दैन । माओवादी र सात राजनीतिक दलबीच भएको वृहत्त शान्ति सम्झौता धरापमा परिसकेको छ । एउटा द्वन्द्वको व्यवस्थापन हुन नपाउँदै अर्को जटिल द्वन्द्व उत्पन्न् भइसकेको छ । राजनीतिक दलको शक्ति कमजोर भइसकेको छ । हरेक दृष्टिकोणबाट राजनीतिक दलहरू असफल भइसको छन् । कतै राजनीतिक दलहरू नै अफाप सिद्ध हुने हुन् कि भन्ने परिस्थिति पनि देखा परेको छ । राजा ज्ञानेन्द्रको अभिव्यक्ति सबैले पढेर, बुझ्न, मनन गर्न आवश्यकता छ । सत्य र यथार्थताको जहिलेपनि विजय हुन्छ । विरोध र आलोचनाबाट तत्काल विनाश अवश्यंमभावी छ ।

महान जनयुद्ध, जन आन्दोलन, मधेश आन्दोलन, उत्पीडित वर्ग, जाती, लिंग क्षेत्र र समुदायका जनताको आन्दोलनको प्रतिफल हो नेपालको संविधान २०७२ भनिएपनि परिस्थिति नेताहरूको गलत चिन्तन, व्यवहार र प्रवृत्तिबाट निकै टाढिएको छ । नेपाल र नेपाली जनताको भाग्य र भविष्य निकै अनिश्चित र असुरक्षित भइसकेको छ । एमाले, काँग्रेस, नेकपा माओवादीको सत्ता स्वार्थको गठबन्धनले मात्र अब नेपालमा कुनै पनि हालतमा शान्ति सु–व्यवस्था, स्थिरता र विकास कायम गर्न सक्दैन । नयाँ राजनीतिक अभ्यास र नयाँ राजनीतिक शक्तिको आवश्यकता भइसकेको छ । अपदस्थ राजा ज्ञानेन्द्रले नयाँ राजनीति निर्माण गर्नकालागि विशेष पहल गर्ने गरेको पाइन्छ । रजा ज्ञानेन्द्रको पक्षमा जनलहर उर्लन, दलका नेताहरूलाई जनताहरूले घृणा र बहिष्कार गर्ने क्षण देखा परिसकेको छ । दलहरूको नेताहरूबाट अक्षम्य गल्ती, कमजोरी र त्रुटीहरु थुप्रै भइसकेका छन् ।

राजा ज्ञानेन्द्रले भनेका छन्, समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवन क्रममा पनि आरोह अवरोह आउँछन् । मलाई संिवधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ । जुनसुकै हैसियतमा पनि म जन्मभूमिलाई कर्मभूमि ठान्छु । मेरो भ्रमण जनतासँग सामीप्य बढाउन र समय सन्दर्भको आत्मबोध गराउन सफल छ । म सबै नेपालीलाई समभावसाथ माथि उठाउन मियो बन्न सक्छु ।
नेपाल र नेपालीप्रति अगाध श्रद्धा भएका शाहवंशीय अन्तिम राजा बन्न पुगेका ज्ञानेन्द्रले भनेका छन्, – सदा स्वतन्त्र, सदा स्वाभिमानी र सदा पौरखी राष्ट्रका रुपमा चिनिएको नेपाल अहिले यस्तो कहालीलाग्दो अवस्थामा किन र कसरी पुग्यो ? भन्ने प्रश्न पनि जनस्तरमा व्याप्त छ । आफ्नो तालासाँचो आफैंले बलियो पारेर आफ्नो जोड जोगाउ आफैंले गर्नुपर्छ । क्षणिक स्वार्थपूर्तिकालागि निमित्त हामी लहलहैमा लाग्नु हुन्न ।, यो नेपालीहरुको पुख्र्यौली मान्यता हो । हाम्रो राष्ट्रिय  आवश्यकता भनेको राष्ट्र र राष्ट्रवासीको सर्वोत्तम हित नै हो ।

परिवर्तनपछि बितेका १०/११ वर्षभित्र हुनुपर्ने कुरा के कति भए र नुहुनुपर्ने तमासा, वितण्डा र बिडम्बना केके भए ? नेपाली जनतामा त्यसको हेक्का हुनै पर्दछ ।

राजा दशरथका पुत्र रामले वनवास जानुपरेको कुरा उल्लेख गर्दै श्री ५ को पदवी खोसिएका ज्ञानेन्द्रले जनता नै सर्वोपरी हुन लोकसम्मति नै राष्ट्रियता, प्रजातन्त्र र समृद्धिको आधारस्तम्भ हो भन्ने नेपाली राजसंस्थाको ऐतिहासिक परम्परा र सनातनी प्रचलन हो, सुदृढ राष्ट्रियता, राष्ट्रको अखण्डता, राष्ट्रको अटल सुरक्षा तथा समावेशी प्रजातन्त्र र समन्वयकारी सामाजिक एकता नै नेपाली राजसंस्थाको वैभव हो भन्ने स्मरण गराउनु भएको छ ।

उहाँले परम्पराको त्यही राष्ट्रिय धर्म निर्वाह गर्दै आजभन्दा १० वर्ष अघि मैले आफ्नो विरासतबाट विश्राम लिएको हुँ र अग्रगतिका निमित्त मार्ग प्रशस्त गरिदिएको हुँ भन्ने राजाको भनाइले समय र जनताले साथ दिए राजाको नेतृत्व सरकार बन्ने संभावनाको संकेत गरेको छ । जनता संवेदनशील हुन्छन्, छिटो निर्णायक बन्न सक्दछन्, कठोर दण्ड दलका नेताहरूलाई दिएर राजालाई सम्मानित पदमा पुर्‍याउन पनि सक्दछन् । राजाको अभिव्यक्ति अति सागर्भित र सार्थकपूर्ण छ ।

सत्ताशीन दलहरूका नालायक नेताहरु आतंकित हुन पर्ने दिन देखा पर्दैछ । आम जनताको गणतन्त्रप्रतिको उदासिनताले राजनीतिक दुर्घटनाको संकेत गरेको छ ।

प्रकाशन मितिः २०७३ जेठ २७ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment