एक अनुहारको लामो असफल खोजी

-स्वयम्भुनाथ कार्की

पञ्चायत हटाईसकेपछि वर्तमानको गणतन्त्र संविधानसम्मको झण्डै तीन दशकको लामो कालखण्ड असफल भएको नै हो । यो दावी प्रमाणित नै गर्नु आवश्यक छैन किनभने यस अवधिमा हताकर्ता भएकाहरु सबै आफै यही कुरा निरन्तर भन्दैछन् । सफलताको दावी गर्नपर्नेहरु आफैंले असफल भनेपछि थप प्रमाणको आवश्यकता नै परेन । त्यसै पनि नेपालको संविधान २०७२ को प्रस्तावनाले यस संविधान भन्दा पहिले नेपाल रहेको कुरा नै स्विकार गरेको छैन ।

प्रस्तावनाको “सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै” वाक्यांश पर्याप्त छ । यस अनुसार नेपाल मुलुक हैन एक अन्यायको गठवन्धन थियो र अहिले मुक्त भयो भन्ने अर्थ लाग्छ । यदि कोही नेपालको पूर्व इतिहासमा गौरव गर्दछ भने त्यसले यो संविधानको मान्यतालाई अस्विकार गर्दछ ।

त्यही पात्र, नेतृत्व विगत तीस बर्षको व्यवस्थालाई यति ठूलो आरोप लगाएर नयाँ नेपालको नाममा फेरी आफ्नो हाली मुहाली चलाउछ भने त्यो केवल नेपालमा मात्र संभव छ । हिजो रगत उमाल्ने विचार प्रवाह गर्ने बुद्धिजीवि मध्ये केहीलाई अब यस कुराको अनुभूति हुन थालेको छ । कोही निर्भिकतापूर्वक यो कुरा स्विकार पनि गर्न थालेका छन् भने धेरैमा यो सत्यको साक्षात्कार गर्ने साहस छैन । आफ्नो त्यो लज्जास्पद विचार प्रवाहको बचावटको निमित्त कुनै उदेश्य र लक्ष विहिन कार्यहरू गर्दैछन् ।

जसले बुर्जुवा शिक्षालिए दिएको अपराधमा हजारौंलाई मृत्युदण्ड सुनायो त्यो अहिले स्नातक उतीर्ण नगरेकोले नेतृत्व गर्न नपाउने विचार राखेर दल खोल्छ । दशौं वर्षसम्म किताप र कपी खोसेर बन्दुक बोकाईएका जनतालाई अर्को दशकसम्म पनि आफ्नो अधिनमा राख्ने यो राम्रो उपाय हो । किनभने कुनै नेताका सन्तानहरु त्यस अवधिमा अशिक्षित रहनु परेको थिएन । सबै नेताहरुको घरमा स्नातकहरु भरिभराउ छन् । तर कुनै जनताको घरमा त्यो कालखण्डमा आक्कल झुक्कल मात्र पढेका भेटिन्छन् ।

जनता र नेता परिवारमा यो विभेद पैदा गर्न आवश्यक भएको थियो । सबै समान भनेर मुखले भन्ने र कामले भने नेता परिवार भन्दा बाहिर नेतृत्व नजाओस् भनेर सोचिएको यो प्रणालीको चालक शक्ति नै यहि विभेद हो । नेपालमा केही औंलामा गन्न सकिने नेताले कसैलाई पनि कतैबाट टिपेर रातारात नेता बनाउन सक्छन्, त्यसै गरेर कुनै नेतालाई रातारात सर्वसाधारण पनि बनाउन सक्छन् । यस्ता रातारात हुने नेता र सर्वसाधारण भने नेता परिवारका होईनन् । यी त जनतालाई समानताको भ्रममा राख्न प्रयोग गरिने औजार मात्र हुन् ।

यति सबै हुँदा पनि र यत्रो शक्तिको निर्वाध उपयोग गर्दा पनि कसैले आफुलाई अनुहारको रुपमा स्थापित भने गर्न सकेन । विभिन्न विदेशी संस्थाहरुको सहयोगमा विश्वको सयमा परेको भनेर केही नामहरुलाई लगातार अनुहार बनाउने प्रयत्न नगरिएको पनि हैन । विश्वको धनी सूचिमा पनि नेपाली आए । तर सूचिमा आएदेखि नै बरु झन प्रतिष्ठा गुमाए । केही यस्ता नाम पनि आए जसले ती नाम चुन्ने संस्था प्रतिको नेपालीको भरोसा नै खसायो ।

आफ्नो मुलुकको एक देवस्थलको भ्रमणमा जाँदा पनि विवादमा परेर एकल महिलाको आवरणमा ढाल खोज्नु परेको नेपालको राष्ट्रपति विश्वको शक्तिशाली महिलाको सूचिमा पर्नु मान नै थियो त ? भनेर सोध्ने नेपाली रहनु नै त्यो मूल्यांकन ठिक नभएको प्रमाण हो । यो नेपालीको कत्रो दुर्भाग्य हो कि विश्वसूचिमा आफ्नो राष्ट्रपति पर्दा समेत सुशी मनाउन संकोच मान्नु पर्ने भयो । विश्वको कुशल अर्थमन्त्री छानिएर महतले नेपाली मनमा इज्जत भन्दा ज्यादा उपहास कमाए ।

भविष्यमा पनि नेताहरुबाट कुनै राष्ट्रिय अनुहार बन्नसक्ने क्षमताबान देखिएका छैनन् । कुनै यस्तो अर्को नाम देखिएको छैन जसमा सकारात्मक वा नकारात्मक कुनै पनि तरिकाले कसैले क्षमता रहेको मानोस । प्रधानमन्त्री गम्भीरतापुर्वक कुनै काम गर्छु भन्छन्, तर नपत्याउनेहरुको समुह नै तैयार हुन्छ । बाबुराम नयाँ दल खोल्छन्, लगानी अनुसारको चर्चासम्म पाउँदैनन् । हमेशा तरंग ल्याउन खप्पिस प्रचण्ड कुनै तरंग पैदा गर्न सक्दैनन् । यहाँसम्म कि कल्याणकारी तानाशाहमा दावेदारी गर्दछन् त्यो पनि ओसिएको दाउरा सरह हुन्छ । नेपाली कांग्रेसलाई जनता विदुषकको टोली मान्छन् ।

यस्तोमा केवल राजा ज्ञानेन्द्र मात्र एकलौटी चर्चा पाउँछन् । उनले न सत्ताको दावा गरेका छन् न राजनीति गर्ने चहाना नै । तै पनि उनको हरेक कुरामा सबैको चासो रहन्छ । कसैको मनमा ढ्यांग्रो ठोक्न थाल्छ, अनि गाली गर्न थाल्छन् । कतै देखिने सुचना पाएपछि जनतालाई उनीसम्म जान कसैले रोक्न सक्दैन । आव्हान गरेका वन्द बेकार हुन्छन् । हो अनुहार भनेको यस्तो हुन्छ जो समर्थकको आशाको केन्द्र त बन्छ नै विरोधिको मुटुमा ढेयांग्रो पनि ठोक्छ । कुनै लोभ लालच नदेखाई, कुनै धम्की नदिई ।
विराटनगर–१

प्रकाशन मितिः २०७३ असार ०९ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment