नियमित समाचार र निगरानी अहिलेको आवश्यकता–सन्तोष मिश्र

–सन्तोष मिश्र २०४७ को राजनीति परिवर्तनपछि नेपालमा अभूतपूर्व रुपमा संचारक्रान्ति भयो । छापा पत्रकारिताले धानेको नेपालमा एफ.एम. टेलिभिजन स्थापना भए । संचार क्षेत्रमा नयाँ प्रविधि भित्रियो । जनताहरुलाई सुसूचित गराउन मिडियाहरु बीच प्रतिस्पर्धा हुन थाल्यो । सूचनाको पहुँच अधिराज्यभर पुग्यो । संचार माध्यमले अझै सशक्त वाच डगको भूमिका भने निर्वाह गर्न सकेका छैनन् । संचार माध्यमको संख्यात्मक बृद्धि भए पनि गुणात्मक अभिबृद्धि भने हुन सकेको छैन । एफ.एम. हरुले आफ्नो उत्पादन सामाग्रीमा ध्यान दिन चाहेका छैनन् । संचार माध्यम गैर नाफामूलक राष्ट्र र जनताको सेवक बन्न सकेका छैनन् । व्यवसायिक पत्रकारिताको नाराले संचारमाध्यमलाई ध्येय मूलक, नाफा रहित बनाउनमा अवरोध पुर्‍याएको छ । प्रेस स्वतन्त्रताको सहि उपयोग हुन सकेको छैन ।
    विकास पत्रकारिता अन्तर्गत नेपालका सम्पूर्ण संचार माध्यमले गरिबी निवारण, बेरोजगारी, अशिक्षा, भोकमरी, जलवायु परिवर्तन, स्वास्थ्य सेवामा पहुँच, शिक्षामा व्यापारिकरण, पर्यटन, जलविद्युत, कृषि, यातायात, संचार, औद्योगिकीकरण वातावरण संरक्षण, महिला सशक्तिकरण, सबैखाले शोषण, विभेद, भ्रष्टाचार, नेताहरुको पदलोलुपता, सुविधाभोगी र षडयन्त्रको प्रवृत्ति, बिदेशी चलखेल, क्रिश्चियन धर्म परिवर्तन, मानव अधिकार, द्वन्द्वव्यवस्थापन, साधन श्रोतको सही उपयोग र पहुँच आदि जल्दाबल्दा विषय हुन । यी विषयबारे नगन्य रुपमा समाचार प्रकाशन र प्रशारण नभएका पनि होइन । यद्धपी नियमित निगरानी र विश्लेषणात्मक, समीक्षात्मक प्रस्तुतीमा भने संलग्न संचारकर्मीले अल्छयाइ भरी रहेका छन् । जति बोले पनि, लेखे पनि वाञ्छित सुधार नदेखिए पछि नियमित निगरानीले महत्व पाउन नसकेको हो की ? पत्रकारिता भनेको अथक प्रयास हो । वाञ्छित सुधार नभएसम्म आफूले उठाएको मुद्दा, विषय वस्तुमा संचारकर्मीहरुले नीच मार्नु हुँदैन । कलम युद्धमा विजय हासिल गर्नै पर्दछ । तबमात्र संचारकर्मी सफल र संचारमाध्यम सफल हुन सक्दछ । संचार माध्यमको प्रमुख ध्येय भनेकै सुधार, संशोधन र परिवर्तनको अनुभूति, प्रत्याभूति गराउनु हो । हिजोआज संचार माध्यममा मानवीय विकास, लैंगिक विकास, महिला सशक्तिकरण, दलित र पिछडिएका वर्गहरुको समस्या, वातावरण, निजी क्षेत्रको विकास, निजी क्षेत्रसँगको साझेदारी, राष्ट्रियता, सामूहिक स्वार्थ, सामूहिक प्रयास, सफलताका कथा व्यथा, गरीबी निवारण, रोजगारीका अवसर, बाल मृत्युदर, मातृ मुत्युदर, ग्रामीण आय बृद्धि भौतिक तथा सामाजिक पूर्वाधारमा लगानी, नेपाल सरकारको कार्यनीति, रणनीति, संयुक्त राष्ट्रसंघको सहस्राब्दी लक्ष्य उर्जा, कृषि सूशासन आदिमा संचारकर्मी र संचार माध्यमहरुले पुर्‍याउँदै आएको योगदान सन्तोषजनक नै छ । थप योगदान होस् भन्ने राष्ट्रको आवश्यकता र जनताको चाहनालाई संचारकर्मीहरुले उत्साहका साथ कलम चलाउनु पर्दछ । पत्रकारिताले परिवर्तनको ढोका खोल्छ । समाजलाई नष्ट भ्रष्ट पार्ने तत्वहरुलाई ठेगाना लगाउँछ ।
    नेपाल सरकारको समानान्तर रुपमा कार्यरत फरक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको गतिविधिले संचार माध्यममा मनग्गे स्थान पाउँदै आएको छ । समाचार पनि विज्ञापन हो भन्ने धारणा फष्टाएको छ । विज्ञापन सूचना हुन सक्दछ, तर समाचार विज्ञापन हुनु हुँदैन । संचार माध्यमहरुले फाइदा, बेफाइदा नहेरी आलोचना र विश्लेषण गर्ने सक्नु पर्दछ । अन्य पेशा भन्दा सामाजिक जिम्मेवारी र रािष्ट्रय उत्तरदायित्वको क्षेत्रमा विशेष भूमिका बोकेको चौथो अंगको दर्जा पाएको प्रेस जगतले आफू बिवाद बाट मुक्त भएर गलत काम कुरोलाई बिवादमा ल्याउनै पर्दछ ।
अहिले नेपालमा सबैखाले विशिष्टीकृत विषयको पत्रकारिता गर्ने वातावरण लगभग तयार हुँदैछ । पत्रकारिता पेशाप्रति दक्ष व्यक्तिहरुको आकर्षणपनि बढेको छ । स्वार्थ अनुसारको रुची हुनु हुँदैन । सबैलाई सधै फाइदा हुने विषय वस्तु र मुद्दाहरुप्रति संचारकर्मी सेचत भइसचेतना फैलाउनु पर्दछ । एकपटक समाचार लेख्यो, प्रकाशन र प्रशारण भयो सिद्धियो होइन, त्यसको फलोअप भइरहनु पर्दछ । नेपाल र नेपालीको स्वार्थसँग जोडिएको विकास पत्रकारितामा लागेका संचारकर्मीहरुले आफूलाई स्थापित र विशेषज्ञ पत्रकारका रुपमा उभ्याउन आफूले उठाएको मुद्दा कार्यान्वयन वा सुधार भयो भएन निगरानी गर्न आवश्यक छ ।

SHARE THIS

Author:

Facebook Comment