संवैधानिक राजतन्त्र र हिंदु राष्ट्र संजिवनी बुटी

–मिन बहादुर थापा
पंचायतकालमा तलदेखि माथिसम्म आफ्ना नजिकका नातेदार हुँदा हुँदै विद्यार्थी राजनीतिमा लाग्यो । नेपाली कांग्रेसले गरेको प्रजातान्त्रिक आन्दोलनमा दाँया बाँया नहेरी प्रजातन्त्र पुनर्स्थापना मुलुक मा भए अरु केहि नभए पनि पुग्छ जस्तो लाग्थ्यो । प्रजातन्त्र आयो फेरी पार्टी र सरकारमा गिरिजा प्रसाद कोइरालाको हैकमबादी चरित्र र उनको निरंकुस्ताको विरोध गर्दा गर्दै देशमा माओवादी आतंकले सिमा नाग्यो । लगभग राजनैतिक दलहरु असफल जस्तै नै भए । राजाले साशन लिएको होइन, सुम्पेको हो । पार्टीको एक इमान्दार कार्यकर्ता भएको हुँदा पार्टीले गरेको संबैधानिक राजाको होइन सक्रिय राजाको बिरोधको ०६३ को आन्दोलनमा राम्ररी नै काम गर्यो, सफल भयो ।

राजाले मरिसकेको संसद ब्युंताई दिए, त्यही मरेको संसदले राजा र हिन्दु राष्ट्र खायो । यो त सोह्र आना नै अन्याय हो भनि मेरो अन्तर आत्माले ठहर्‍यायो । यो प्रजातन्त्र दिने कि नदिने भने जस्तो खेल हो जस्तो पनि लागेन नेपाल रहन्छ कि रहदैन भन्ने मेरो आत्माले अहिले सम्म भनिनै राखेको छ । फेरी नयाँ नेपालको रंगी चंगीमा सामेल हुन मन लागेन यो वाहियात हो भन्ने मेरो बुझाई छ । त्यसैले हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र नै राष्ट्रियताका लागि आवश्यक छन् भन्ने लागे को छ । तसर्थ मैले आफु अनुसारको लामो राजनीति गरेर पनि सत्ताको समर्थन र अनुभूति गर्न नपाउनु इश्वरबाट नै मलाई यहि निर्देशित भएको हो कि भन्ने लाग्छ । तर पनि राजा पृथ्वी नारायण शाहले निर्माण गरेको आधुनिक नेपाल रहनु पर्छ जुन कुरा जननायक बि.पी. कोइराला र सन्त नेता किसुनजीले आफ्नो जीवनको अन्तिम अवस्थासम्म पनि संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र बहुदलिय साशन व्यवस्था राष्ट्रियताका लागि अपरिहार्य छ भनि नै रहनु भयो । तर बिपी, गणेशमान जी र किसुनजीका तस्बिर भने बर्तमान अवस्थामा नेपाली कांग्रेसका लागि राजनैतिक ब्यापार गर्ने एउटा राम्रो साधन बनेका छन् । वहाँहरुका राजनैतिक सिद्दान्त र आदर्श चाहीं रद्दीको टोकरी मा फालिएको छ । खसीको टाउको राखेर कांग्रेसले कुकुरको मासु बिक्रि गरिरहेको छ । बिक्रेतामा सबै दास मानसिकताका कार्यकर्ता तल्लिन छन् । आएको नाफाबाट मोज मस्तीमा गिरिजापथलाई आत्मसाथ गर्ने केहि नेता दिन दिनै बंगुर मोटाए जस्तो मोटाएका छन् । नेपाल र नेपाली दिनहु बाँस सुके जस्तो सुकेका सुकै छन् ।

संघिय गणतन्त्र धर्म निरपेक्ष राज्य व्यवस्था झन्डै आठ, दश वर्षमा नै असफल भैसके को छ । सबै कमुनिस्ट झुटको खेति गरिरहेका छन् । यसैको मध्यमबाट धेरै कमुनिस्ट नेता करोडपति बनेका छन् । गन्हाएको सिनोमा चित्र बहादुर के सी र कमल थापा पनि लुछ्न समिल भएका छन् । अझै यो अहिलेको राज्य व्यवस्थालाई अरु जबर्जजस्ती ठोक–ठाक गरेर यदि चलाउने प्रयत्न भयो भने नेपाल बिखन्डन हुँदै बिदेशी हस्तक्षेपबाट कसैले रोक्न सक्दैन । आज नेपालका नयाँ नेपाल बनाउछौ भन्ने राजनैतिक दलका सबै नेताहरु बिदेशीका घोडा हुनमा तछाड मछाड गरिराखेका छन् । तिनका कार्यकर्ता भने बिबेकशून्य औजार बनेका छन् । यो अवस्थामा राष्ट्र आज आ–आफ्नो स्वार्थ पूर्ति गर्ने थलोको रुपमा परिणत भएको छ । यसैका कारण संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपाल अझ राष्ट्रियताका लागि संजीवनी बुटी साबित भएको आम नेपालीले महसुस गरेका छन् ।

प्रकाशन मितिः२०७२ माघ ७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment