विडम्वनै विडम्वनाको नयाँ नेपाल

– स्वयम्भुनाथ कार्की
फागुन ७ को साइत निकालेर शुरु गरिएको २०४६को आन्दोलन त्यसै बर्षको चैत्र २६ गते पञ्चायती व्यवस्था विगठन संगै समाप्त भयो । नेपाल उन्नती र विकाशको चरणमा प्रवेश गरेको उद्धोष संगै विभिन्न लोभलाग्दा सपनाहरु बाँडिए ।
मेलाम्चीको पानीले काठमाण्डौका सडक पखाल्नेदेखि मुलुकलाई सिंगापुर जस्तै बनाउने सपनाहरुमा कुनै शंका पनि गरिएन र सपना बाँड्नेको खिल्ली पनि उडाईएन ।
तर विडम्वना नै भन्नु पर्छ त्यो आन्दोलन शुरु भएको छ बर्ष पुग्न करिव एक हप्ता बाँकी छँदै मुलुक अर्को चरणको हिंसात्मक आन्दोलनमा फस्यो । २०५२साल फागुन १ गतेबाट माओवादी सशस्त्र विद्रोहको रुपमा ।
करिव १० बर्षको यो त्रासदीमा नेपालले जे जे भोग्नु पर्‍यो र जुन मोल चुकाउनु पर्‍यो त्यसको लेखाजोखा इतिहासले गर्ला नै । तै पनि शान्ति प्रक्रिया, शान्ति सम्झौता आदि शान्तिका अनेकौ प्रयत्न भए पनि नेपालले शान्ति भने अनुभव गर्न पाएन ।
संक्रमण कालको ओट पाएर त्यो अवस्थालाई स्वभाविक नै भने पनि भोग्नेहरुले पिडा भोगेकै हुन । संसारभर शान्तिसेना पठाएर शान्ति कायम गर्न सघाउने मुलुक नेपालले आफैलाई शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघ नगुहारी धरै पाएन । यो विडम्वना हैन भने केलाई विडम्वना भनिन्छ ? भन्ने प्रश्न आम नेपालीको मनमा गडेको छ ।
४६ सालदेखि नै काम गर्न जे जेलाई बाधा भनेर भनियो त्यो त्यो हटाईयो ।
निर्दलिय व्यवस्थाले बाधा दिएको भनियो त्यो विना शर्त हटाईयो र त्यो वेलामा के राम्रो वा नराम्रो भएको थियो केलाउने प्रयत्न पनि गरिएन ।
राजाको सकृयतालाई बाधक भनियो राजालाई संवैधानिकको नाममा आलंकारिक मात्र राखियो ।
राजाले वेलावेलामा वाधा दिए भनेर भनियो राजसंस्था नै कुनामा पुर्‍याईयो ।
धर्मले बाधा गर्‍यो भनेर मुलुक धर्म निरपेक्ष गरियो ।
एकिकृत राज्य व्यवस्थाले अन्याय गर्‍यो भनेर भनियो मुलुकलाई संघीयतामा लगियो ।
वर्ग हैन जाती थिचोमिचोको कारण भनियो , थिचिएका भनिएका जातजातीलाई आरक्षण दिईयो ।
यी सबै परिवर्तन अगाडी वा पछाडी नेपाली जनताले पुरा समर्पणको साथ दल तथा नेताको कुरा माने । एक पटक पनि परिवर्तन पहिलेको र पछिको अवस्था दाँजेर हेर्ने प्रयत्न पनि गरेनन । यो भन्दा अगाध आस्था अरु के हुन सक्छ र ?
तर मागेको कुरा सबै पुर्‍याई दिंदा पनि , उनीहरुले काममा बाधा भनेको सबै कुरा हटाइदिंदा पनि नेपालीले भोग्नु परेको कष्ट र पिडा घट्नुको साटो झन बढेको छ । यो कुरामा सबै जसो एकमत नै छन ।
करिव तीन दशकदेखि बाँडिएका हरेक सपना, देखाईएका हरेक आशा पुरा हुन्छन भनेर विश्वास गरेर बसेको नेपाली जनता अव थप आश्वासन र सपना हैन केही भए पनि अत्यावश्यक र आधारभूत सहजताको निर्माण भएको हेर्न चाहान्छ ।
६२साल ताका भएको हप्ताको छ घण्टाको लोडसेडिङ्ग पनि कष्टकर ठान्ने जनता दिन मै १४ घण्टाको घोषित लोडसेडिङ्गमा केही समय भए पनि कमी चाहान्छ । वर्ष दिनमा लोडसेडिङ्ग मुक्त हुने उधारो आश्वासन भन्दा आजैदेखि एक घण्टा भए पनि लोडसेडिङ्ग कम भएको भोग्न चाहान्छ ।
इन्धनको चरम अभावमा बन्द भएको चुल्होमा बर्षदिनमा सिलिन्डर नै राख्न नपर्ने सपना भन्दा पुरा नभए पनि दिनमा एकछाक पकाउन भए पनि ग्यास सिलिण्डर प्राप्त होस भन्ने चाहान्छ ।
पेट्रोल डिजलको अभावमा ठप्प प्राय भएको आवागमन , ढुवानी आदि कार्यकलापहरु आजैदेखि सैकडा दशबीस भए पनि बढोस भन्ने चाहान्छ ।
तर विडम्वना यो पाउनुको साटो वर्ष दिन पछि एक सहज जीवनको आश्वासन पाई रहेको छ ।
नेपाली जनताले प्रधानमन्त्रीको सपना, योजना आदिको खिल्ली उडाएको होईन । उसले त त्यो सपना पुरा भएको हेर्न बाँच्न न्यूनतम परिस्थिति मागेको हो ।
प्रधानमन्त्रीले असंभव र संसार मै नभएको कुरा पुरा गर्ने आश्वासन दिएको हैन भन्ने कुरा जनतालाई थाहा छ । त्यो योजना पुरा गर्न समय लाग्छ त्यो पनि थाहा छ । तर त्यो पर्खन पर्ने समयसम्म बाँच्ने आधार खोजेको हो ।
बरु त्यो योजनाको भाका बढाएर भए पनि एकबर्षमा दिने भनेको कुराको न्यूनतम हिस्सा जो बाँच्न आवश्यक छ त्यो अहिले नै मागेको हो । तर विडम्वना प्रधानमन्त्री जनताले आफ्नो खिल्ली उडाएको सम्झन पुगे ।
प्रधानमन्त्रीका यी आश्वासनको प्रतिरक्षा गर्न तम्सेकाहरु यी कुरा अन्यत्र भएको प्रमाण पेश गर्दैछन । यो प्रमाण आवश्यक नै छैन , किनभने नेपालका सबैजसो पौरखी हातहरु तिनै मुलुकहरुमा छन । उनीहरु आफुलाई एक बर्ष पछि दिने भनेको सुविधा ती मुलकका नागरिकलाई दिने काममा मजदुरी गर्दैछन ।
त्यही मजदुरीबाट प्राप्त ज्याला बचाएर आफन्तको प्राण धान्न नेपाल पढाउदैछन । सरकारी तथ्यांक हर्ने हो भने मुलुक तिनैले पठाएको रकमले धानिएको छ । आधुनिक प्रविधिको प्रयोगले नेपाल भित्रै रहेकाहरु पनि अन्यत्र त्यो सुविधा भएको कुरा देख्दैछन, जान्दैछन ।
अहम कुरो त के हो भने मानौ जनताले पत्याएनन अरे , खिल्ली उडाए अरे । तर त्यो पुरा गर्न गर्नुपर्ने काम गर्ने हात त रोक्न गएका छैनन । त्यसैले पुरा गरेर देखाउन बाधा के ले भयो भनेर अचम्म मान्नुपर्ने अवस्था आएको छ ।
विगतका करिव तीस बर्षमा दलहरुले दलका नेताहरुले भनेको हरेक बाधा हटाईएको छ । निर्वाध रुपमा हरेक विकल्पहरु प्रयोग गर्न स्वतन्त्र छोडिएको छ , चाहे त्यो विकल्प संविधान भित्र होस वा वाहिर ।
सम्पुर्ण राज्यशक्ति निर्वाध संचालन गर्ने अधिकार सुम्पिएको छ । सवै किसिमका गठवन्धनहरुका अभ्यास भई सकेका छन अव थप देखाउने बाधा पनि छैन र अभ्यास पनि बाँकी छैन ।
थप मौकामा गर्न सक्ने न कुनै नयाँ किसिमको गठवन्धन बाँकी छ न नयाँ कार्य योजना नै । अव उप्रान्त जेकुरा हुन्छ ते पहिले भई सकेका कुराको पुनरावृत्तिमात्र हुन्छ ।
त्यसैले अव कुनै निकास, कुनै विकल्प वा अभ्यास बाँकी छ भने त्यो केवल जनतासंग मात्र बाँकी छ । यो विडम्वनै विडम्वनाले भरिएको नयाँ नेपालमा एक पटक सबैले पालो पाई सकेका छन , अर्थात एक चक्र पुरा भईसकेको छ ।
अर्को चक्रको प्रस्थान विन्दु कहाँबाट र कोबाट शुरु गर्ने हो त्यो जनताले नै सोच्ने कुरा हो । नेपाली जनताले कहिले सोच्ला त्यो भने कौतुहलको विषय नै छ ।


विराटनगर १
२०७२।१०।३
(खेश्रा, परिमार्जित अन्नपुर्ण पोष्ट)
(कार्कीको फेसबुक वालबाट साभार)

SHARE THIS

Author:

Facebook Comment