–सन्तोष कुमार मिश्र
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ घोषणा भएपछि देश लथालिंग, भताभुंग, भद्रगोल, बर्बाद, जसको शक्ति, उसको भक्ति, जसको हातमा लाठी, उसको भैंसी, यत्रतत्र सर्वत्र हत्या, हिंसा, लूटपाट, विध्वंश, आतंक, अराजकता कायम छ । सरकार छ, राज्य छ भन्ने अनुभूति कहिं कतै छैन । एकैसाथ देशले प्राकृतिक विपत्ति (महाभूकम्प) र राजनीतिक संकट, संवैधानिक संकट, कुटनीतिक संकट, आर्थिक संकट, आपूर्ति अस्तव्यस्तताको अवस्था व्योहोर्न परेको छ ।
नयाँ संविधान अन्तर्गत खड्ग प्रसाद (केपी) ओलीको नेतृत्त्वमा गठन भएको नेपाल सरकार ५० दिन नकट्दै पूर्ण असफल भएको छ । सिंगो राष्ट्रका सम्पूर्ण नेपाली, जनताहरूले सास्ती खेपीरहेका छन् । देशमा राजनीतिक द्वन्द्व र राजनीतिक संक्रमण लम्बिंदै जाँदा राष्ट्रमा पूर्ण बेथिति र अव्यवस्था कायम भएको छ ।
नेपालको इतिहासमा अहिलेको जस्तो विषम परिस्थिति कहिल्यै पनि आएको थिएन । स्वतन्त्र र सानो राष्ट्र नेपाल विभाजन र विलयको संघारमा उभिएको छ । बहुमतको आधारमा संविधान निर्माण गरी जारी हुँदा राजनीतिक र कुटनीतिक सन्तुलन बिग्रिएको छ । संविधानमा आफ्नो माग र अधिकार सुनिश्चित नगरिएको, मधेशमाथि विभेद गरिएको भन्दै पूर्व मेची देखि पश्चिम महाकालीसम्मको चूरे श्रृङ्खला मुनिको समथर भूभाग र छिमेकी राष्ट्र भारतसँग सीमाना जोडिएको नेपालको अति संवेदनशील भू–भाग तराइ मधेशका जनता अभूतपूर्व एकताका साथ आन्दोलनमा उत्रिएका छन् ।
तराई मधेश आन्दोलन जारी भएको सय दिन नाघेको र तराइ मधेश मात्र नभएर पूरै देश ठप्प भएको छ । तराइका जिल्लाहरूमा दशगजा देखि महेन्द्रराजमार्ग बीचको क्षेत्र लगभग आन्दोलनकारीको कब्जामा छ । मधेशी जनताहरूले वीरगंज लगायतका भन्सार नाकामा धर्ना दिई भारतबाट कुनै पनि सामान नेपाल भित्रिन नदिएको आन्तरिक नाकाबन्दीले पनि ६० दिन काटिसकेको छ ।
सरकार र मधेश केन्द्रित दलहरूबीच पटक–पटक भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । समानान्तर सरकार गठनको भित्रि तयारी भइरहेको छ । आन्दोलन झन–झन पेचिलो र जटिल बन्दै गएको छ । व्यथा सहिन्छ दशैं, तिहार, छठ मानिन्छ भनेर एकथरी राष्ट्रवादी नेपाली जनताले निराशाजनक अवस्थामा असह्य पीडा, अभाव र महंगीका बीच चाडपर्व मनाए । अर्काथरि राष्ट्रवादी नेपालीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने, आन्दोलन अन्तिम निर्णायक र वार कि पार हुने अठोटका साथ आन्दोलनको मोर्चा कसेका छन् ।
एउटा देशभर पहाडी राष्ट्रवाद, मधेशी राष्ट्रवाद दुई राष्ट्रवाद कायम छ । एकथरि राष्ट्रवादी भारत समर्थक चीन विरोधी छन् । अर्काथरी राष्ट्रवादी चीन समर्थक भारत विरोधी छन् । नेपाली राष्ट्रवाद विचलित छ । देश अभूतपूर्व संकटमा छ तर प्रधानमन्त्री ओली विभिन्न उद्घाटन र विमोचन समारोहमा भारतप्रति कटाक्ष गरेर सन्तोष मान्दैछन् ।
गुट, फूट र लूटमा रमाउँदै आएका एमाले र एनेकपा माओवादीका नेता केपी ओली प्रचण्ड गुटका कार्यकर्ता शासनसत्ता टिकाउन हरसंभवको प्रयासमा छन् । सरकार नढलेसम्म सास्ती खेपिरहनुपर्ने अनुमान निर्णायक एवं सार्वभौम नेपाली देशभक्त जनताहरूको छ । एमाले र एनेकपा माओवादी गुटको उत्ताउलो, खोक्रो र नक्कली राष्ट्रवाद अब लगभग असफल भएको छ । सरकार ढल्ने र ढाल्ने दिन शुरु भएको छ । नेपालकै इतिहासमा पहिलोपटक बामपन्थीहरू सरकार र एकै ठाउँमा रहेको सुखद अनुभूति एकथरीले गरेपनि अर्काथरीले बामपन्थीहरूको एउटै चिहान हुने भनेर खुशी छन् ।
यता कालोबजारी र भन्सार चोरी निकासी नियन्त्रणभन्दा बाहिर छ । राजश्व संकलन झण्डै १०० दिनदेखि शून्य बिन्दूमा झरेको छ । प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सन्देश दिंदा र अर्थमन्त्री विष्णु पौडेलले आर्थिक श्वेतपत्र जारी गर्दा पनि कुनै सकारात्मक संकेत देखा परेको छैन । कथित भारतीय अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय मुद्दा बनेको छ ।
तराइ मधेशका आन्दोलन राष्ट्रिय समस्याको रुपमा खडा भएको छ । तराइ मधेश आन्दोलनका कारण सबै क्षेत्रमा उथलपुथल आएको छ । तराई मधेशका आन्दोलन र भारतीय नाकाबन्दीलाई ओली सरकारले एकैसाथ जोडेर समाधानको उपाय खोजेको छ । तराई–मधेश आन्दोलनलाई सुरुका दिनमा दमन गरेर ठीक पर्ने रणनीति सरकारले अख्तियार गर्यो । जनविद्रोहमाथिको दमनले विष्फोटको स्थिति लियो । सरकारले मधेशवादी दलको २ प्रदेशको सिमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, राज्यका हरेक क्षेत्रमा समानुपातिक, समावेशी व्यवस्था गर्नु पर्ने नागरिकताका बारेमा स्पष्ट नीति हुनु पर्ने लगायत मागहरू पूरा आलटाल र आनाकानी गरेकै कारण अहिले देशमा ‘कहिं नभएको जात्रा हाँडी गाउँमा” भन्ने उखान चरितार्थ भएको छ ।
उखान र चुट्किलामा टुकडे ‘उस्ताद’ प्रधानमन्त्री ओली अहिले अभागी र निरिह प्रधानमन्त्री का रुपमा राष्ट्रकासामु कलंकित भएका छन् । राष्ट्रलाई दाउमा राखेर सम्पूर्ण नेपाली जनताहरूलाई सास्तीमा पारेर आफ्नो सत्ता टिकाउन नानाथरीका कुतर्क अघि सारेर हदैसम्मको हर्कत गर्दैछन् । ओलीको सिद्धान्त भनेको तुच्छ व्यक्तिगत स्वार्थमा टिकेको ‘आए आँप गए झटारो’ नै हो । उनलाई देश र जनताको स्वार्थ रक्षाको कुनै मतलब छैन । ओली सरकारले भारतीय नाकाबन्दी र मधेश आन्दोलनलाई वार्ताको माध्यमबाट हल गर्ने, निकास दिने क्षमता देखाउन नसक्ने वातावरण देखापरेकोले नेपाली जनताहरूले राष्ट्रलाई बचाउन तत्काल सरकारको विकल्प खोज्नुपर्ने बाध्यता आएको छ ।
केपी ओली नेपालको ३८ औं प्रधानमन्त्री हुन् । इतिहासमै धेरै उप–प्रधानमन्त्री ६ जनालाई बनाइएको छ । ४७ दिनमा ३० जना मन्त्री भइसकेका छन्, चार पटक विस्तार गर्दा पनि मन्त्रीपरिषद अझै अपूर्ण छ । भारतलाई हेर्ने सरकारको कुनै ठोस नीति र दृष्टिकोण छैन ।
भारतले के चाहेको, के खोजेको, कुनै अत्तोपत्तो छैन । भारतलाई सरकार बन्नु अघि कस–कसले के के आश्वासन दिएका थिए, त्यो किन पूरा गरिएन ? ओलीलाई सत्ता, नेपाली जनतालाई सास्ती कहिलेसम्म रहने ? ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ को अवस्था ओली सरकारले प्रस्तुत गरेको छ । ओली अति पूर्वाग्रही र अति सत्ता महत्वाकांक्षी प्रधानमन्त्री सावित भएका छन् । यो नेपाल र नेपालीकालागि दुर्भाग्य हो । नेपालको राजनीतिक इतिहासको बिडम्बना हो । वर्तमान अस्वाभाविक अवस्था कायम गर्नमा नैतिक दोषी ओली नै देखिएका छन् । इतिहास र समयले उनलाई कठोर सजाय दिन्छ नै ।
मुलुकमा ३६ वर्षपछि पहिलोपटक आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको छ । देशको अर्थतन्त्र टाट पल्टिने संभावना छ । त्यतिखेर देश असफल र कमजोर हुन्छ कि हुँदैन ? देशलाई जानाजानी असफल र कमजोर बनाउन संलग्न राजनीतिक दलका नेताहरू राष्ट्र र जनताका महाशत्रु हुन् कि होइनन् ? बन्द, हड्ताल र नाकाबन्ीका कारण वीरगंज लगायत देशभरकै उद्योग, व्यापार, धाराशायी भएको छ । अहिले देशमा गम्भीर मानविय संकट उत्पन्न भएको छ । बन्द हडताल र आपूर्ति प्रणालीमा अवरोध लम्बिंदै गएको छ । साविकको मूल्य भन्दा तोब्बर–चौब्बर बजारमा वस्तुको मूल्यवृद्धि भएको छ ।
कालोबजारी कायम भएको छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको नाकाबाट ठूलो परिमाणमा अवैध धन्दा चोरी निकासी भइरहेको छ । अवैध धन्दाको समानान्तर भन्सार खुलेको छ । तराई मधेशमा दिनहुँ मधेशी जनता र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको छ । गाउँवस्तीमा कहिं कतै प्रहरी चौकी छैन । सुरक्षाकर्मी जिल्ला सदरमुकाम केन्द्रित भएकाले तराइ मधेश जनताको कब्जामा छ । निर्वाध, नि:संकोच आन्दोलनकारीसँग मिलेर उनीहरूको आँखा छलेर तस्करी धन्दा सुचारु भएको छ । उनीहरूको झण्डै तीन महिनादेखि तस्करी धन्दाको स्वर्ग कायम गरेका छन् । तस्करी धन्दामा संलग्न हुनेहरूले दिन गुनी रात चौगुनीले पैसा कमाइरहेका छन् यसलाई तस्करहरूले ऐतिहासिक अवसर ठानेका छन् ।
अवैध तरिकाले भारतबाट भित्रिएको पेट्रोलियम पदार्थ लगायतका वस्तुहरू बिना रोकटोक काठमाण्डौसम्म पुग्ने गरेको छ । स्थानीय प्रहरी प्रशासनको अवैध धन्दामाथि नियन्त्रण र निगरानी छैन । बजारमा सरकारको अनुगमन छैन । यतिखेर सास्ती खेपीरहेका नेपाली जनताहरूको अगाडी एउटा मात्र विकल्प केपी ओली नेतृत्वको अनिष्टकारी सरकार ढालेर विद्यमान समस्याको स्थायी समाधान गर्ने कि केपी ओली सरकारलाई टिकाएर एमाले र एमाओवादीका केही नेताहरूको स्वार्थको राष्ट्रवादलाई जपेर दु:खसास्ती खेपीरह्ने ?
प्रकाशन मिति: २०७२ मंसिर १० गते बिहीवार