नेपालीहरुलाई भारतीय दावी, कस्तो कुटनीति ?

–स्वयम्भुनाथ कार्की

भारतले अघोषित नाकावन्दी गर्दै आईरहेको छ । नेपालमा आन्तरिक सुरक्षाको वातावरण नबनेसम्म पारवहान सहज हुन नसक्ने कुरा औपचारिक रुपमै भनेपछि यो अघोषित नाकावन्दी हो भन्ने कुरामा शंक गर्ने ठाँउ नै हुँदैन । २०४५को नाकावन्दीमा अहिलेका दूई प्रमुख दलहरुले सो को फाइदा लिएर आन्दोलन शुरु गरेको अनुभवबाट लाभ लिंदै सीमा क्षेत्रमा आवागमन ठप्प पार्न केही नेपाली दलहरु बसेका छन् । त्यस वेलाको भन्दा चर्को स्वरले नाकावन्दीको जिम्मेवारी आफैं बोक्दै छन् । ०६३ को परिवर्तनपछि सत्ताको स्वाद चाखिसकेकाको नेतृत्वमा भएको यो आन्दोलनलाई भारतीय भन्न मिल्दैन । नेपालीहरुले उनीहरुलाई भारतीय पनि मानेको छैन ।

यता यो सबै चल्दै गर्दा भारतीय संचारमाध्यममा नेपालीले नेपाली ठानेका ती समूहलाई भारतिय मूलका र भारतबाट नेपाल बसाई सरेको भनेर प्रचार गरिदैछ । उनीहरुको हकको निमित्त भारतले कदम चाल्नु पर्दछ भन्ने आवाज मुखरित गरिदैछ । यो सबै कुराको भविष्यमा भारतलाई के कस्तो असर पर्ने हो ? यो नाकावन्दीलाई आफ्नो भन्ने राजनैतिक नेताहरुलाई कस्तो असर पर्ने हो ? अनि मधेशी भनेर पुकारिएका बुद्ध र जनकका गाँउले अनि सिताका माइतीको मनमा के असर पार्ने हो ? यावत प्रश्नहरुको जवाफ अहिले नखोज्दा पनि एक प्रश्न भने उप्जन्छ नै । के उनीहरुले आफु नेपाली भएको दावी छोडेको हो त ?

काठमाण्डु खाल्टोलाई मात्र नेपाल भनिने मानसिकताबाट भर्खर भर्खर बाहिर निस्केको मोफसलको नेपाललाई काठमाण्डुले कत्तिको आत्मसात गरेको छ भन्ने प्रश्न गर्ने अवस्था २०७२ को संविधान जारी भएपछि अझ टडकारो हुनु जत्तिको दुर्भाग्यजनक छ त्यो भन्दा ज्यादा नेपालीलाई भारतीयहरुले आफ्ना मुलका वा नेपाल बसोवास गरेका आफ्ना नागरिक भन्नुमा छ । नेपालको सत्ता काठमाण्डु खाल्टो भन्दा बाहिर निस्कन सकेको छैन । झण्डै दुई महिना पिल्सिएर बसेको बाहिरको नेपाललाई वक्तव्य र कफ्र्यूको उपहार बाहेक अरु दिन सकेन भन्दैमा नेपाली भारतीय हुन सक्दैनन् ।

अनन्तकालदेखि नेपाली नै रहेकाहरुलाई नेपाली भनेर अपनाएर राजाहरुले कुनै कृपा गरेका थिएनन् । देशको निमित्त काम गर्न गरिएको आव्हानमा उनीहरु होमिएका थिए । नेपालको उन्नती र भलो देशप्रतिको कर्तव्य सम्झेर पुरा गर्ने नेपाली सपुतहरु मोहम्मद मोहसिन, लवरु राना थारु, पुँहातु चौघरी, अनिरुद्रप्रसाद सिंह, बालेश्वर सिंह थारुहरुका सन्तानहरु आज कसरी एकाएक भारतिय भए ? के भारतीयहरुको यो दावीको प्रतिकार गर्नु सत्ताको कर्तव्य हैन र ? जसले यो संविधान जारी गर्‍यो त्यही राष्ट्रपतिलाई भारतीयहरुले आप्रवासी भारतीय भनेर दावी गर्दा उनको मन कति रोयो होला वा कति पोल्यो होला, तर यस दावीको खण्डन गर्न सत्ताले किन आवश्यक सम्झेन ? यस्ता नामहरुको उल्लेख गरेर साध्य छैन जसले अन्य भूभागका नेपालीसँग को भन्दा को कम भनेर मुलुकको उन्नतीमा काम गरेका छन् ।

मधेश नामले संवोधन हुने कुनै स्थान भारतमा छैन, त्यहाँका बासिन्दालाई भारतीय भनेर दावी गरिनु बुद्धलाई भारतमा जन्मेको भनेर दावी गरिनु भन्दा ज्यादा आपत्तिजनक हो, के नेपाली रगत यति चिसो भईसक्यो की आफ्नै स्वदेशी बान्धवलाई कसैले आफ्नो नागरिक भन्दा केहि असर नै पर्दैन ? होला भारतीय संचारमाध्यमले भनेको जस्तै केही हजार वा केही लाखले उताबाट आएर नागरिकता लिन सफल भएका होलान । तर यसमा ती मधेशी भनिने नेपालीको के दोष छ ? नागरिकता त सत्ताले नै बाँडेको हो जनताले बाँडेको हैन ।

आफुलाई अर्को मुलुकले दावी गरेका पीडामा के अर्को नेपालीले तीनलाई आड भरोसा दिनु पर्दैन ? के यो नागरिक कर्तव्य हैन ? आफ्नो घरको सदस्यलाई नै विरानो बनाउने यो प्रवृतिको विरुद्ध खै सत्ता बोलेको, खै काठमाण्डु बोलेको ? अहिले नाकावन्दीको मारले केही अभाव महशुस हुने वित्तिकै संवेदनशिल हुने काठमाण्डुलाई हप्तौ अन्यले भोगेको पीडाको किन अनुभूति हरायो ? आफु बाहेक अरुलाई नेपाली नै नदेख्ने कुरा उचित हैन । संविधानमा हरेक नागरिकलाई बरावरीको अधिकार लेखेर मात्र पुग्दैन त्यो अनुसारको व्यवहार पनि गरिनु पर्दछ । हप्तौको पीडा भोग्दा हालखबर पनि नलिने कुराले कितापमा अधिकार लेखिदिएका छ भनेर मुक्ति पाउँदैन ।

भारतिय सत्ताको यस्तो दादागिरी यो पहिलो हैन । पहिलेका दुई नाकावन्दी पनि सबै भूभागका नेपालीले दृढतापूर्वक सामना गरेकै हुन् । त्यतिमात्र नभएर सीमाक्षेत्रमा वस्नेहरुले दिनहुँ अनेक किसिमका हण्डर पाएका नै हुन् । आफ्नो मुलुकको गौरवको निमित्त संघर्ष गर्ने पहिलो लहरमा धेरै ती नेपाली नै हुन्छन् जसलाई मधेशी भनेर पुकारिएको छ । नेपालको गौरवमा प्रफुल्ल हुने र पीडामा खिन्न हुने हरेक नेपाली केवल नेपाली हो । तर कसैलाई अर्को मुलुकले मेरो नागरिक भनेर दावी गर्दा कति पिडा हुँदो हो । त्यो पीडामा साथ खोजेकाहरु प्रति वेवास्स्था देखाउने हो भने त्यो पीडा झन थपिन्छ । त्यसैले एक नेपालीको पिडा अर्को नेपालीले पनि महशुस गर्नै पर्दछ । यदि यो महशुस हुँदैन भने उसले आफ्नै छातीमा हात राखेर सोध्नु पर्छ, के ऊ साँच्चै नेपाली हो ?
विराटनगर १
प्रकाशन मिति:२०७२ असोज १४ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment