वक्तव्य र सन्देशमात्रले पुग्दैन

–स्वयम्भुनाथ कार्की
मुलुकको अहिलेको अवस्थाले पीडामा भएका नेपाली जनता जताततैबाट आशा गर्दैछन ।
विसं २०६१ साल माघ १९ गते राजाबाट “जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन् । तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनु हुँदैन ।

२१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो । नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहोर्‍याउन चाहन्छौ ।" भनेर नेपाल र नेपालीको हितको निमित्त जोखिम उठाइएको थियो ।

देश र जनताको निमित्त त्यति ठूलो जोखिम उठाउँदा उनलाई पनि आफ्ना हजुरबुबा र बुबाको जस्तै जनताको संयुक्त विवेकको भरोसा थियो होला । तर सोचको विपरित नेपालमा रहेको राजा र जनता विचको सम्बन्ध तोड्न खोज्नेहरुको पक्ष हावी भयो ।

उनको त्यो प्रयत्नलाई दुष्प्रयास ठानियो । यो सत्प्रयास गरेवापत उनले पाएको पुरस्कार (?) अनौठो छ । जुन शव्दावली उनका र उनका सम्पूर्ण वंशका निमित्त प्रयोग भई रहेका छन तिनलाई भविष्यले कस्तो मूल्यांकन गर्ला ?
अहिले उत्साहित भएर ती शव्द प्रयोग गर्नेहरुका शाखासन्ताहरु नै आफ्ना पूर्वजको यो काम प्रति लज्जित महशुस गर्नेछन भन्ने कुराको छनक देखापर्न थालिसकेको छ ।
आफ्नो र राजगद्दीको निमित्त त्यसवेला कुनै खतरा थिएन भन्ने कुरा सिद्ध गर्ने कुराहरु खुल्ने क्रम जारी छ ।
तात्कालिन संविधान अनुसार प्रतिनिधिसभाको एक अधिवेशनबाट अर्को अधिवेशनको समयावधी छ महिना भन्दा बढी हुन नहुने व्यवस्था कायम राख्‍न शेरबहादूर देउवा अक्षम भएका थिए ।

२०५९ असोज १८ गते उनलाई हटाउदा अव आफू प्रधानमन्त्री हुने भईयो भनेर मयलपोश ठिक्क पार्नेहरुको कमी थिएन । तिनै संभावित दावेदारहरु बीच ‘म्यूजिकल चियर’ खेलाएर उनी चीरकालतक राज्यभोग गर्न सक्थे ।
अहिले पनि उनलाई गाली गर्नेहरु मध्ये सबै जसोले यहिबाटो नलिएकोमा बुद्धि नभएको भनेर भन्ने गर्दछन ।
उनले यो बाटो लिएको भए नेपाल र नेपालीले दुख पाउने थियो । हुनत सम्भवत २०६३ पछि नेपाल र नेपालीले भोग्नु परेको हविगत भन्दा त्यो दुख नै कम हुन्थ्यो होला । हुनसक्छ जनताले आफ्नो यो इमान्दार प्रयत्नलाई अविश्वास गर्नेहरुको कुरा पत्याउलान भन्ने लागेको भए त्यसै गर्थे कि ?

तर जे होस अहिले उनले त्यो घोषणामा भनेको जस्तै धेरैलाई मातृभूमिको भार लागेको छ । आफ्नो निमित्त सहायतामा आएका सामाग्री गोदाममा सडेर गएको टुलुटुलु हेरेर आश्वासनको भरमा बाँच्नु परेको छ । सबै पौरखी हात रुखो मरुभूमिलाई उन्नत बनाउन पठाउनु परेको छ ।

महिनौ लामा बन्द हड्तालमा कष्टकर भएको जीवनमा थपमा संस्थागत काला बजारीको उपहार स्विकार्नु परेको छ ।

उनले घोषणामा भनेका थिए ,“सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो । सफल प्रजातन्त्र नै सक्कली जनवाद हो ।

यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ" ।

यो कुरालाई प्रतिगमन हो भनेर मान्नेले मुलुकको वर्तमान अवस्थासंग गुनासो गर्ने अधिकार गुमाईसकेको छ ।
विगतमा जोखिम लिंदा जुनजुन कुरालाई जनताको हित ठानेका थिए तिनीहरुलाई नै जनतामाथिको अन्याय भनियो । कुरो यसो हैन भनेर त्यस आरोपको खण्डन नगरेर ‘मौन स्विकृति’ जस्तो दिए पछि राजाले वक्तव्य, सन्देश आदि भन्दा ज्यादा के गरुन ?

जसरी वक्तव्य र सन्देशले मात्र पुग्दैन त्यसै गरेर केवल आशामात्रले पनि पुग्दैन । त्यसैले उनले लगातार जनताको ईच्छा अनुसार हुनुपर्दछ भनेर भन्दै छन । कर्तव्य विमुख छैनन त्यसैले जनतालाई सोध्दै पनि छन ‘क कसको भूमिका के के हुनु पर्दछ ?’

त्यो भने प्रष्ट नगरेर राजाले नै प्रयत्न गरुन, सफल भए फलमा भागिदारी गरौला असफल भए बुद्धि नपुगेको भन्दै उनलाई प्रताडित गर्नेहरुको होमा हो मिलाउला भन्ने पिपलपाते कुरा चल्दैन ।

जसरी उनले वक्तव्य र संदेशमात्र दिएर पुग्दैन त्यसै गरेर आशा मात्र गरेर पनि पुग्दैन । जनताले यसभन्दा पहिले सडकबाट बोलेको थियो भने फेरी सडकबाटै भन्नु पर्दछ उ ककसको केके भूमिका चाहान्छ ।
कुनै विदेशी शक्तिको त्रास मान्नु पर्दैन । जहाँजहा र जहिले जहिले राजा र जनताको संयुक्त अभियान चलेको छ त्यहाँ अरु कसैको केही चलेको छैन । त्यसैले विदेशी शक्तिहरुको के स्वार्थ्य छ भनेर मानसिक दासता स्विकारेर पहिले पराजय स्विकार गर्नु पर्दैन ।

विराटनगर १
२०७२।११।१७
(गोरखा एक्सप्रेस)

लेखकलाई फेसबुकमा फलो गर्नुहोस्

SHARE THIS

Author:

Facebook Comment