नयाँ वर्षमा यस्तो नहोस

पाठक विचार

– ईश्वोरा भट्टराई

समय परिवर्तनशील छ, हरेक क्षण समय निरन्तर रुपमा अगाडी बढिरहेको हुन्छ । सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना गर्दा वर्ष बित्छ । हरेक महिना हाम्रो घर/कार्यालयको भित्तामा राखिएको क्यालेण्डरका पानाहरू पल्टाइने गरिन्छ र वर्ष दिनमा ती क्यालेण्डर अर्थात भित्ते पात्रोलाई परिवर्तन गरी नयाँ पात्रोलाई स्थान दिन्छौं ।
यसै सिलसिला अर्थात समयको जीवनचक्र अन्तर्गत बि.सं. २०७१ सालले हामीलाई छाडेर विदा भएको छ । २०७१ सालको विदाईसँगै हामीमाझ २०७२ को मिर्मिरे उज्यालोले हामी सबैमाझ नयाँ जोश, नयाँ उमंग, उत्साह र आशाका किरणहरू लिएर उपस्थित भएको छ ।

संसारका प्रत्येक मुलुकमा नयाँ वर्ष हर्षोल्लास र उमंगकासाथ मनाईन्छ । विकासको रफ्तारसँगै देश र जनताले हरेक सालमा सफलताको एक नयाँ उचाईबाट नयाँ वर्ष मनाउँछन् । हरेक क्षेत्रबाट नयाँ नयाँ सफलताका वार्षिक प्रतिवेदका तथ्यांकहरु बाहिर ल्याएर इतिहास रच्दै नयाँ योजनाकासाथ राज्यले नयाँ वर्षलाई मिसनको रुपमा मनाउँछन् ।

जनताको सेवामा सरकार अभिभावकझैं भुमिका निभाएको हुन्छ, त्यसैले त उनीहरु राज्यलाई सम्मान गर्छन, मायाँ गर्छन् अनि आकाश झिलमिल पारेर पटका पट्काएरै नयाँ वर्ष मनाउँछन् । हामी नेपालीले आफ्नो नयाँ साल कुन खुशीयालीमा मनाउने हो भनेर सोच्नु पर्ने भएको छ ।

खाडीको घाममा मृत्युसँग जुझिरहेको एक नेपालीे, भारतको गल्लीमा डन्डा बजार्दै र जुठो भाँडा माझ्दै गरेका नेपाली, एक गाँस खानाकोलागि बगरमा बालुवा बोक्न जानेहरु, बिहान क्याम्पस गएर दिनभर लेबरी गर्नेहरु, आफ्नै घर परिवार, आफन्त तथा छिमेकी समेतबाट बलात्कृत हुने चेलीहरू, दाइजोको निहुँमा आगोले पोलिने, मानसिक यातना खेप्ने चेलीहरू, तमाम सुकुम्बासी, हलिया, भरीया, किसान, दिनभरी मजदुरी गरेर परिवार पाल्नेहरु, औषधिको अभावमा मृत्युलाई कुरेर बसेकाहरु आदि (८०% नेपालीहरुले) कुन खुशीयालीमा नयाँ वर्ष मनाउँछन् ?

हरेक नयाँ वर्षले थप भार, दु:ख र पीडा बोकेर आएको हुन्छ, अनि कसरी मनाउने नयाँवर्षको खुसियाली ? दु:खलाई भुलेर त मनाउन सकिएला यदि राज्य अर्थात मुलुकले विस्तारै प्रगतिको पाईला चाल्दै छ भने । तर हाम्रो मुलुक झन–झन गहिरो खाडलमा धाँसिदै छ, आर्थिक बृद्धिदर सयौ गुणाले घट्दै छ, देशका कलकारखाना, संस्थानहरु, प्राधिकरणहरु चल्नै नसक्ने अवस्थामा पुगेका छन्, देशको आयश्रोत शून्य छ, जनताबाट कर उठाएर आफ्नो पोल्टो भर्दै छन् नेताहरु, सरकार र प्रतिपक्षको निरन्तरको खिचातानी, संविधान नबनाएर वर्षौं वर्षसम्म राज्यको ढुकुटीमा ब्रम्हम्लुट गर्दै छन् ।

कमिशनको चक्करले बनेका कच्ची विकासका संरचनाहरु एक वर्षमा भत्किएका छन्, विदेशीको ईशाराले गर्दा देशको अस्तित्व नाजुक बन्दै छ, सिमाना लुटिएको छ, लुम्बिनी लुटिएको छ, विदेशीहरुले नेपालीलाई पत्याउन छोडे, देशका मन्त्री/नेताहरु भ्रष्टाचार गर्दै विदेशमा सम्पत्ति थुपार्दै छन्, गुण्डागर्दीले राजनीतिमा प्रवेश गरेको छ, दण्डहीनता, अपराधीअरुलाई संरक्षण तर गरिब जनतालाई हुदै नभएको कानुन लगाएर जेल चलान, लुटपाट, मानव बेचबिखन, फिरौती, कोही न्यायकोलागि महिनौं आमरण अनशनमा बसेर मृत्युवरण गर्छ भने कोही भ्रष्टाचार निवारण र सर्वशुलभ स्वास्थ्य व्यवस्था मिलाउन आमरण अनशनमा बस्नु परेको अवस्था...........उफ्फ !!!

खै कसरी मनाउने नयाँ वर्ष ? यो लोकतन्त्र भन्दा त हिजोको राजाको शासन हजारौं गुणा राम्रो थियो । कम्तीमा काम गरेर सुखसँग खान पाएका त थिए नेपालीले । विकासका संरचनाहरु हजारौं गुणा बलियो र गुणस्तरीय थिए जुन अहिलेसम्म जस्ताको त्यस्तै छन् ।

आफ्नो माग पूरा गराउन अर्काको सम्पत्ति जलाउने, देश नै ठप्प पार्ने, अराजनीतिक गतिविधि र चलखेल, दण्डहीनता, अनुशासनहीनता, वर्तमानजस्तो भ्रष्टाचार, मनपरी राजाको शासनकालमा थिएन। तर खै आजकाल,  बनाएको दुई दिनमै भत्किएका छन् संरचनाहरू, अपराधीलाई राजनीतिक संरक्षण र सोझा निमुखाले जेल भोग्नु पर्ने अवस्था छ ।

वर्तमान नेपाली समाजमा सत्य बोल्नेलाई पागलको संज्ञा दिन्छन् भने असत्य बोल्ने, ढाँट्ने, छल्ने, देखावटी संसारलाई वाहवाही गर्छन् । सत्य कोही सुन्न चाहँदैनन् ।

जेजस्तो अवस्था र दैनिकी भएपनि समयसँगै दिनहरू फेरींदै वर्षदिन पनि बितेर हामीमाझ नयाँ वर्ष २०७२ को आगमन भएको छ । यो नयाँ वर्षमा सबैको केही न केही आकांक्षा, अभिलाषाहरू पक्कै पनि होलान् । २०७१ सालमा  लाखौं प्रयासका वाबजूद पूरा हुन नसेकका आशा, अभिलाषाहरू होलान् । कसैको नयाँ जीवनको शुरुवात गर्ने चाहना होलान्, प्रेमी प्रेमिकाले एकआपसमा जीवन विताउने सपना देखेका होलान्, कसैको जागिर खाने, कसैको देश सेवा गर्ने, यस्ताखाले अनेक चाहना र अभिलाषाहरू बोकेर  वर्षैभरी अनेक प्रयासका बावजूद पनि सफल परिणाम प्राप्त गर्न सकेका छैन होलान् ।

सबै प्रयासका बावजूद पनि २०७१ सालमा सफल हुन नसकेका सबैको चाहना, सकारात्मक अभिलाषा, अर्काले देखाएको सपना, वाचाहरू २०७२ मा पूरा होउन, स्वदेशमै रोजगारी गरी देशको देशको सेवा गर्ने लक्ष्य लिएकाहरू रोजगारीको अभावमा विदेशीन नपरोस्, कुनै पनि चेलीले बलात्कारको शिकार हुन नपरोस्, मन मिलेसम्म सँगै बस्ने, रमाउने र शारीरिक काम समेत गर्ने र मन नमिलेसी मलाई फलानो केटाले बलात्कार गर्यो भनेर कुनै पनि पुरुषले अनाहकमा सजाय भोग्न नपरोस, त्यस्तै सँगै रहँदासम्म राम्रो र स्वस्थ मित्रता कायम राख्ने र छुट्टिएपछी कुनै पनि नारी, दिदि बहिनी वा चेलीले अनाहकमा बलैकमेलको शिकार हुन नपरोस, अपराधीले सजाय पाउन, कुनै पनि निर्दोषी नेपालीले अनाहकमा सजाय भोग्न नपरुन, आफ्नो घरपरिवार लगायतका आफन्तको एक्लो आशाका किरणले मानसिक तनाव खप्न नसकी आत्महत्या गर्न नपरोस् ।

      कसैले पनि आफ्नो हुँदा खाँदाको परिवार, खुशी त्याग्न नपरोस्, जीवन जिउने आशामा बसेका कसैले पनि मानसिक तनावमा आफ्नो जीवनलाई नर्क सरह बनाउने दिन यो नयाँ वर्षमा नआओस्, आफ्नो प्रेमी वा प्रेमिकाको गल्तीको सजायँ आफैंलाई दिई आफ्नो पेशा, व्यवसाय, जागिर, साथीसँगी, समाज र मुलुक नै त्याग गरी शारीरिक कष्ट भोग्न अर्काको देशमा जान नपरोस् । आफ्नो व्यक्तिगत फाइदा, रहरकोलागि कसैलाई पनि झुटो आश्वासन, सपना नदेखाइयोस् ।

राज्यको तर्फबाट हरेक नागरिकले समान अधिकार पाउन्, कुनै पनि नागरिकले पहुँच भए न्याय पाउने र पहुँच र सम्पर्क नभए न्यायको पर्खाइमा जीवनको अन्त्य गर्न नपरोस, सबैले न्याय पाउन् ।    

नयाँ वर्षले सबैको सकारात्मक अभिलाषहरू पूरा होस्, देशमा शान्ति र अमन चयन कायम होस्, सबैमा आपसी प्रेम सदभाव, भाइचारा कायम होस् लगायतका चाहना, आकांक्षा अभिलाषाहरू हुँदा हुँदै पनि २०७१ सालको गतिविधि हेर्दा  देशले खासै कुनै प्रगति गर्न नसकेको अवस्थामा विभिन्न निराशाहरू उत्पन्न भएपछि भन्नै मन लाग्यो, “भो अब म मनाउँदिन नयाँ वर्ष ! जबसम्म नयाँपनको अनुभुती हुँदैन ।

यद्यपि मैले नयाँ वर्ष नमनाएपनि, सबै नेपाली दाजु भाई, दिदी बहिनीलगायत देशप्रति माया भएका नेपाल र नेपालीप्रति सद्भाव राख्ने सबैको सकारात्मक अभिलाषाहरू श्री पशुपतिनाथले पूरा गरुन् । नयाँ वर्ष २०७२ मा सबैको जय होस् ।


SHARE THIS

Author:

Facebook Comment