–स्वयम्भुनाथ कार्की
“त्यसपछि विरोधी पार्टीहरु भए, यस्तै विरोधी पार्टीहरु अहिले पनि छन् । जब हामीहरु यहाँ आयौ, त्यसको केही समयपछि डिल्लीरमण रेग्मी आए (राष्ट्रिय कांग्रेसको सभापतिको हैसियतले । ऋषिकेश शाह उनका सेक्रेटरी भएर आए । डिल्लीरमण रेग्मी बसे ऋषिकेश शाहकै कालिमाटीको घरमा । तिनको बारेमा धेरै चर्चा भयो मोहन शम्शेरले आयोजित गरेको भनेर” । यसरी कितापमा ऋषिकेश शाहको पात्र बिपी विरोध अभियानको एक प्रमुख हिस्सा देखिन्छ । यति हुँदाहुँदै पनि त्यहि ऋषिकेश शाह घोर विरोधका बीच वीरगंज अधिवेशनमा कांग्रेसको एक महामन्त्री बन्न पुग्छन् बिपीकै भिटोमा । यसको कारण परिच्छेद ४० मा बिपी भन्छन् “त्यस बखतमा म अध्यक्ष थिएँ र एउटा महामन्त्री मैले ऋषिकेश शाहलाई बनाएको थिएँ । त्यसमा पनि एउटा तगडा विरोध भएको थियो । मेरो प्रवृत्ति रहन्छ कि एउटा नयाँ मान्छे अगाडी बढोस् ” ।
पार्टीका अरुको विरोधको बिच बिपीको भिटो प्रयोगको औचित्य नै समाप्त भयो जब ऋषिकेश अधिवेशन पनि समाप्त नहुँदै त्यहाँबाट राजीनामा गरेर काठमाण्डू लागे । यसलाई बिपी यसरी प्रस्तुत गर्दछन् “तर ती भरपर्दा मानिस थिएनन् । तत्काल उनले एउटा मौका देखे । राजाले सरकार बनाउन लागेका छन् भनेर, त्यहाँबाट राजीनामा गरेर सोझै काठमाण्डू आए । त्यो अधिवेशन समाप्त हुनुभन्दा अघि नै उनले त्यसो गरेका थिए । त्यस्तो गरेका छन् यी ऋषिकेश शाहले वीरगंजमा” । ऋषिकेशको यो कामले बिपीलाई चोट पर्नु स्वभाविक नै थियो, त्यत्रा पार्टीको साथीहरुको विरोध नसुनेर महामन्त्री बनाएको मान्छे अधिवेशन भरी पनि नटिकेर कांग्रेस छोडेर हिंड्नु चानेचुने कुरा थिएन । अरु सामान्य व्यक्तित्वको मान्छे अध्यक्ष भएर यसो गरेको भए उसलाई आफ्नो अध्यक्ष पद पनि बचाउन हम्मेहम्मे हुने थियो । तर वीपी नै भएकोले मात्र खासै फरक परेन ।
हुनत ऋषिकेश शाह र समुहले वीपी गृहमन्त्री हुँदा चरित्रहत्या गर्ने प्रशस्त प्रयास भएको कुरा परिच्छेद ४८ को अन्ततिर उल्लेख छ । “यी सब काम ऋषिकेशहरु खूब गर्थे । पछि म प्रधानमन्त्री भएको बेलामा उनी त्यहाँ थिएनन् । पहिले, म गृहमन्त्री भएको बेलामा मेरो तस्विर, मैले खेलेको, स्वास्नीमानिसहरुसँग नाचेको तस्बिरहरु, कृष्णलीला बिपी कोइरालाको भनेर आँखामा पट्टी बाँधेका फोटोहरु वितरण गर्ने सारा काम पहिले उनी गर्थे, तर पछिल्लो पटक भने होईन” । आफु प्रधानमन्त्री भएको बेलामा त बिपीले ऋषिकेश शाहलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएर पठाएका थिए त्यसैले पनि त्यस वेला विरोधका जुन आवाजहरु उठेका थिए त्यसमा ऋषिकेशको संलग्नता हुन सक्ने संभावना थिएन । बरु एक प्रश्न भने टड्कारो देखापर्छ कि गृहमन्त्री कालमा त्यसस्तरको विरोध अनि महामन्त्रीबाट राजीनामा हुँदाहुँदै बिपीले ऋषिकेश शाहलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा भरोसा कसरी गरे ?
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको वेला बिपी, ऋषिकेशको ज्यादा सम्बन्ध देखा पर्छ जो उचित पनि हो । कुनै पनि मुलुकको संयुक्त राष्ट्र संघको निमित्त स्थायी प्रतिनिधिको जिम्मेवारी नै हो कि राष्ट्रसंघको कार्यक्रममा आउने आफ्नो मुलुकको प्रतिनिधि मण्डलको साथ काम गर्नु, त्यही ऋषिकेशले गरेका थिए । फिफ्थ एभेन्यूमा ख्रुश्चेवसंगको भेटमा ऋषिकेश हुन अनिवार्य थियो, खुश्चेव बिपीको यो भेटवार्तामा यी दुई बाहेक सहायकको रुपमा नेपालको तर्फबाट ऋषिकेश शाह र रुसको तर्फबाट कुनै एक रुसी थिए जसको परिचय कितापमा छैन । रुसले उठाएको ट्रोइका सिद्धान्तको समर्थनको निमित्त उत्प्रेरित गर्न त्यो भेटवार्ताको आयोजन भएको भान पर्छ, किनभने ख्रुश्चेव बिपीको सामुन्ने नै ऋषिकेश शाहमाथि एकदमसँग खनिए । यो एक किसिमको अभद्रता नै थियो किनभने कुराकानी बिपीसंग भई रहेको थियो अनि ख्रुश्चेव भने ऋषिकेशलाई “तिमी अमेरिकनहरुको निम्ति बोल्दैछौ । मलाई थाहा छ, तिमी अमेरिकनहरुको निम्ति बोल्दैछौ ” परिच्छेद ५२ मा वर्णित यो प्रसंगले धेरै कुरा मनन गर्ने बाटो खोल्छ ।
बिपीले ऋषिकेशले नेपाल सरकारको दृष्टिकोणको प्रतिनिधित्व गर्ने कुरा ख्रुश्चेवलाई बताए पछि उनी चुप लागे । यहाँ ऋषिकेश शाहले भनेको भनेर उल्लेखित कुरा “तपाईले मलाई बहो डिफेन्ड गर्नु भयो । अरु कुनै प्रधानमन्त्रीले त्यसो गर्ने थिएनन्” भने अनौठो छ । किनभने कुरो ऋषिकेशको व्यक्तिगत थिएन यो कुरो मुलुकले लिएको दृष्टिकोणको थियो जो बिपीको धारणामा आधारित थियो । किनभने “त्यो (ट्रोइका सिद्धान्त) मलाई ठिक लागेन । त्यसले संयुक्त राष्ट्र संघको सचिवालय प्रभावहिन भएर जान्छ भन्ने मलाई लाग्यो” भन्ने भनाईले ट्रोइकाको समर्थन नगर्ने बिपीको एक्लो धारण थियो कि भन्ने संकेत गर्दछ । त्यसैले ख्रुश्चेवले ऋषिकेशलाई भनेको सबै कुरा प्रत्यक्ष नै बिपीलाई भनिएको थियो । त्यसैले त ख्रुश्चेवले आफ्नो आत्मकथामा बिपीलाई व्यंग गरे ।
राष्ट्र संघमा दिने भाषणमा बिपीले राजाको बारेमा केही राखेका थिएनन् । राजा महेन्द्र र बिपीको बिचमा केही मतभेद छ भन्ने अन्तरर्राष्ट्रिय क्षेत्रलाई लाग्न थालेको थियो । यही ५२ परिच्छेदमा विदेशीहरुले परोक्षरुपमा आफुलाई राजासंग मिलेर काम गर्न सुझाव दिएका प्रसंगहरु छन । यस्तोमा नेपालको सरकार प्रमुखले दिने भाषणमा राजाको उललेख नहुनु उचित हुने थिएन । त्यसैले ऋषिकेश शाहले जोड गरेर “मैले हाम्रा महाराजाधिराजका शुभकामनाहरु तपाईहरुको लागि ल्याएको छु” थप्न लगाए । यहाँ ऋषिकेश शाहले राजा र बिपी मिलाउन अन्तर्राष्ट्रिय कुटनैतिक प्रयास गरेको भान हुन्छ । त्यसबाट पनि सफल हुन नसके पछि ऋषिकेश शाहले सचेत नै गराए । भने “तपाइलाई सचेत गर्न मन लागेको छ तुलसी गिरी र विश्वबन्धुको बारेमा । राजाले मलाई लास्ट टाइममा भेट्दा के भनेका छन् भने तुलसी गिरी र विश्वबन्धुलाई कति विश्वास गर्न सकिन्छ ?” ऋषिकेश शाहको यो भनाईले प्रष्ट भन्न खोजेको कुरा राजा र प्रधानमन्त्रीको सम्बन्धमा चिसोपन नहट्ने हो भने राजनीतिले अर्को बाटो लिन्छ भन्ने नै थियो, तर बिपीले यसमा ध्यान दिन आवश्यक नै ठानेनन् । यसरी पात्र ऋषिकेश शाह पुस्तकमा आवश्यक ठाँउमा उचित भुमिका निर्वाह गर्न सक्ने देखा परेको छ ।
विराटनगर–१
प्रकाशित मितिः २०७१ फागुन ०७ गते बिहीवार
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)