आत्मवृत्तान्तको ऐनामा: सान्दाजु वीपी र ठूल्दाजु मातृका

– स्वयम्भुनाथ कार्की
बनारसको अस्सी घाटमा भएको गान्धीको सभामा सरकारी स्कुल नजाने घोषणा गर्न उठेका वीपीलाई मातृकाले कुर्ता समाएर तान्दा पनि रोक्न सकेनन् ।  भाईलाई रोक्न सफल नभए पछि मातृकालाई पनि साथ दिन करै लाग्यो र उनले पनि म पनि स्कुल जान्न भनेर घोषणा गरे । आठ बर्ष जतिको वीपीको यो घोषणालाई आदर गर्न नेहरुले मञ्चमा लिएर गएर माला लगाई दिए । सामान्यतया कुनै आन्दोलनमा यस्तै हुने गर्दछ, त्यतिखेर सानो उमेरको वा वृद्ध उमेरको समर्थनले अत्याधिक महत्व पाउने गर्दछ । त्यसपछि आन्दोलनको समर्थनमा गरिएका उरन्ठेउला गतिविधिले महत्व पाउने गर्दछ । गाली शिरोमणी भन्न सुहाउने लेख, कथा, तुकवन्दीहरु उच्चस्तरका साहित्य झै लाग्ने गर्दछन । यहाँनेर मातृकाले आफ्नो उमेरको भन्दा ज्यादा परिपक्वता देखाएका छन पिताजीलाई यो कुरा आफुले नभनेर वीपीलाई नै पहिले भन्न दिएर । पिताजीले यो कुरा पचाए पछि मात्र आफुले पनि भाईलाई साथ दिएको कुरा भनेका छन ।

कितापको परिच्छेद ४मा वर्णित यो घटनालाई वीपीले करिव करिव मातृकाको अवसरवादी चरित्र संकेत गर्ने किसिमले प्रस्तुत गरेका छन । यस घटनाले मातृकाको सानै उमेरमा परिपक्वताको संकेत दिन्छ । यदि घरमा आएर भाईले यसो गर्‍यो र मैले पनि त्यसै गरेंं भनेका भए धेरै सम्भव थियो वीपी र पिताजी दुवैलाई भाइृको पोल लगाएको महशुस हुन सक्ने थियो । यदि यसलाई पिताजीले नराम्रो ठानेको भए रोक्न नसकेकोमा खप्की मातृकाले नै खाने थिए । वीपीले पनि ठूल्दाजुले पोल लगाई दिए भनेर दोष दिने थिए । बाबुको वीपी माथि अतिरिक्त स्नेह थियो, यदि त्यो नभएको भए पनि साधारणतया ठूलो र सानो साथै
भएको वेलामा सानोले केहि अतिरिक्त लाभ त पाँउछ नै । त्यसैले यहाँ यो घटना मातृकाको अवसरवादीताको परिचय थिएन । पर्नसक्ने नराम्रो असरको संयुक्तरुपमा न्यूनिकरणको प्रयत्न थियो । तर यसलाई वीपीले मातृकाको अवसरवादीपन जीवन पर्यान्त ठाने , प्रमाण जीवनको अन्त्यमा पुग्दा समेत यस घटनाको अर्को पाटो देखेनन वा देख्न चाहेनन ।

त्यहि परिच्छेदमा अको एक घटनाको उल्लेख छ, हरेक जसो बेलुका आयोजन हुने वादविवादमा एक पटक राखिएको विषयको उदाहरण वीपीले दिएका छन । बिषय थियो ‘खद्दर आर्थिक दृष्टिबाट ठिक कुरा हो, होईन ’ । मातृकाले होइन भन्ने पक्षबाट बोले वीपीले ठिक हो भन्ने पक्षबाट , वीपीको मान्यता के थियो भने गान्धीवादी भएर खद्दर लगाउनेले ठिक होइन भन्ने हुन्न । खद्दर ठिक हो भन्ने कुरा सत्यको पक्ष भन्न वीपीको आधार आफुले प्रयोग गर्ने हुनाले त्यो सत्य हो भन्ने थियो । आफुलाइृ सत्य लागेको कुराको पक्ष लिने त्यो बानी अन्तसम्म रहेको स्विकारोक्ति वीपी यसरी गर्छन ‘हामी खद्दर लगाउँछौं, त्यसलाई उहाँ किन ठीक होइन भन्नुहुन्छ ? गलत कुराको पक्षमा किन बोल्ने भनेर म तर्क गर्दथें । त्यो त बहसमात्रै हो, भन्न सकिन्छ भनेर मलाई सम्झाउँथे । म भन्दथें बहस पनि त कुनै गल्ती कुराको हुनसत्तैmन । मेरो धारणा जो त्यसबेला बनेको थियो, आजसम्म पनि मेरो त्यही धारणा बनिरह्यो । तर ठूलदाजु हरपक्षमा बोल्न सक्नु हुन्थ्यो’ ।

आर्थिक कारण थियो वा वीपीमा मौलाउदै गएको मातृका द्वेश कृष्णप्रसादले देखेका थिए उनले मातृकालाई साथमा राखेनन । एक डाक्टरकोमा दरभंगा पठाई दिए । छोरा जस्तैराख्ने र महिनाको पन्द्र रुपैया दिने शर्तमा डाक्टरले मातृकालाई लगेका थिए । ती डाक्टरले किन त्यो गरे, के मातृकाको व्यक्तित्वबाट प्रभावित भएर त्यसलाई अझ सिंगार्न त्यसो गरे वा आफ्नो व्यक्तिगत काम सघाउन , यो कुराको विष्लेषण यस आलेखको विषयवस्तु होईन । तर मातृकाको महिनाको पन्द्र रुपैयाको कमाईबाट आएको चार रुपैया महिनाको भने वीपीको व्यक्तित्व निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका छ । यो कुरा भने वीपीले कितापमा इमान्दारी पुर्वक स्विकार गरेका छन । सम्पूर्ण कितापमा मातृकाको हरेक कुराको , कामको विपरित अर्थ देख्ने प्रवृति भेटिन्छ तर यो चार रुपैया महिना दिएकोमा भने वीपीले कुनै नकारात्मकता देखेका छैनन ।

सरकारी स्कुल बहिस्कार गर्ने वीपीलाई टेढि पुगेपछि फेरी बनारसमा नै पढने इच्छा जाग्यो , त्यो पनि गान्धीवादी स्कुलमा हैन सरकारी स्कुलमा नै । घरमा आर्थिक संकट चुलिएको बेला थियो , जेठो छोरा मातृका दरभंगा थिए कृष्णप्रसादलाई चौतर्फी आर्थिक संकट थियो । हालत वीपीलाई बनारस पठाउन सक्ने थिएन । यस्तोमा बहिनी नलिनीले आफुसंग भएको सुन दिईन, सानीआमाले आफुसंगको एक तोला सुन पनि दिईन । यस कुरामा साली भिनाजुको रिसारिस पनि पर्‍यो । तै पनि वीपीको शुरुवाती खर्चको जोहो त भयो । खानबस्नलाई चिन्ता थिएन वीपीको हजुरआमा त्यहाँ बस्नु हुन्थ्यो । भरसक फिस माफ गराउन र अन्य मद्धत गर्न पिताजीले आफ्ना परिचित प्रोफेसर गणेशदत्त शास्त्री र सीताराम पन्तलाई चिठ्ठी लेखिदिए । फिस आधा माफ भयो, तीन रुपैयाबाट एक रुपैया बाह्र आना । दरभंगाबाट मातृकाले पठाउने गरेको मासिक चार रुपैया अब प्रयाप्त भयो वीपीलाई ।

प्रारंभिक खर्च बहिनी र सानी आमाको सुन बेचेर आएको २३,२४ रुपैया एडमिसन फिस, किताप कापीआदिमा केहि खर्च भै सकेको थियो । बचेकोले थप तीनचार महिनालाई पुग्ने थियो , पिताजीको हालत मासिक खर्च पठाउन सक्ने थिएन । यस्तो अवस्थामा ठूलदाजुले बाबुको कर्तव्य पालन गरे आफ्नो पेट काटेर महिनाको चार रुपैया भाईलाई नियमित पठाएर । यो खर्चले वीपीको फिस लगायतका नियमित खर्च मात्र पुरा गरेन उनले यसबाट आफुले पढन खोजेका साहित्य, राजनीति आदिका किताप पनि किन्न सके । यसै चार रुपैयाको उपतिको अध्ययनबाट वीपीले आफ्नो ज्ञानभण्डार बढाए । विश्व प्रसिद्ध साहित्य पढने अनि त्यमा चर्चा गर्ने मण्डलीमा वीपीको प्रवेश भयो । शान्तिप्रिय द्विवेदीको प्रेरणा र प्रयत्नले प्रेमचन्द सम्पादित ‘हंस’ जस्तो प्रतिष्ठित पत्रिकामा उनको ‘अतिथि’ कथा पहिलो पल्ट छापियो । नेपाली साहित्यमा महत्वपूर्ण स्थान राख्ने कथाकार वीपीको विजारोपण थियो त्यो । ठूल्दाजु र सान्दाजु दुबैको यसमा महत्व छ, यसमा दुविधा हुनु हुन्न ।
यो पनि पढ्नुहोस...
विराटनगर १
प्रकाशित मितिः २०७१।६।३०

आत्मवृत्तान्तको ऐनामा: वीपी र भगवान सहाय

यसका पछिल्ला भागहरु पढ्न तल दिइएको लिंकमा क्लिक गर्नुहोला
आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु



SHARE THIS

Author:

Facebook Comment