हिमायातिले हिरिक्क गरुन तर बन्दुक उठाएर,
कानुन मिचेर ल्याएको गणतन्त्रले शान्ति दिँदैन
सँधै लयाग ल्याङग गरेर काम छैन । तमाम गुण र दोष केलाउदै श्री ५ ज्ञानेन्द्र उनले दलहरुसँग गरेको “सहमति”लाइ लत्याउदै उनैले पूनस्र्थापना गरिदिएको संविधानसभाले राजसंस्था उन्मूलन गरेपछि उनले देखाएको सदासयता पूरा नगरेर भाँड भैलो माच्च्याएर एक दशक बिताउन लागेको अवसरमा जनताबीच गएर आफ्नो सदाशयता राखे भने अहिलेका मै हुँ भन्ने दलका नेताहरुको हविगत के होला ? किनभने श्रीपेँच र राजदण्ड गणतन्त्रका महानायकहरुलाई सुम्पेर जंगलमा बसाई सर्ने काम नेपालको शाहवंशले मात्र गरेको छ । जनताको इच्छाको सम्मान गरेर यो विश्वलाई देखाएको छ । अत्यन्त प्रतिकूल परिस्थिति श्रृजना गराइएपछि राजगद्दी छोडेर पनि आफ्नै मुलुकमा जयजयकार गराएर बस्ने ताकत केवल नेपालको शाहवंशमा मात्र छ भने कुरा गणतन्त्रका प्रत्येक झोले, भरिया र ठेकेदारहरुले बुझी सक्नु पर्ने हो । राष्ट्र र राष्ट्रियतालाई कहिल्यै नझुकाई शिर ठाडो राखिदिने काम त्यै राजतन्त्रले गरेको थियो भन्ने कुरा प्रत्येक नेपालीको मन भित्र गडेको छ । हिमायातिले हिरिक्क गरुन तर बन्दुक उठाएर, कानुन मिचेर ल्याएको गणतन्त्रले शान्ति दिँदैन बरु मुलुक टुक्रयाएर वा सर्लक्कै विदेशीको पोल्टामा इनले सरक्क राखिदिन्छन् भन्नेकुरा भन्ने कुरा घाम झैँ छर्लंग छ ।
प्रत्येक नेपालीलाई थाहा छ राजसंस्था किन र कसकालागि चाहिन्छ भन्दा प्रत्येक राष्ट्रवादी नेपालीहरुको मनबाट सहजै निस्कन्छ प्रजातन्त्र, देश, राष्ट्र, राष्ट्रियताकोलागि राजसंस्था अपरिहार्य छ । जति सुकै छि: छि: र दुर दुर गरुन र भृकुटी खुम्च्याउन बिगत २४० बर्षमा राजतन्त्र नरहेको भए नेपाल रहने थिएन र हामी नेपाली हुने थिएनौ । अंग्रेजी साम्राज्यको भूँडी भित्र छिरिसक्ने थियौ । त्यसकारण आफ्नो स्वाभिमान माथि गर्व गर्ने प्रत्येक आम नेपालीहरु राजावादी र राष्ट्रवादी दुवै हुन् । राजावादी त राजावादी भैहाले । तर राष्ट्रवादी चाहिँ को हुन् भने यदि कुनैपनि व्यक्तिले हलो जोतोस, रिक्सा चलाओस, भाँडा माझोस वा बिदेशमा पुगेर बेल्चा चलावोस वा जे सुकै काम गरोस् यदि नबुझेरै पनि राष्ट्रको हितकालागि चिन्ता गर्छ भने उ राष्ट्रवादी हो । आम नेपालीहरु जो कुनै पनि राजनीतिक पार्टीहरुको मतियार र भरौटे होइनन् ती सबैले व्यक्ति भन्दापनि राष्ट्रिय एकताका प्रतिक, नेपाली राजमुकुट र सिंहासनलाई मान्दछन् र त्यसैलाई आधार बनाएर राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रकोलागि चाहना व्यक्त गर्दछन् ।
–प्रवीण अधिकारी