को हो नेपालको पक्का राष्ट्रभक्त ?

आकाश खुल्ला थियो । फराकिलो नीलो आकाशको पर—परसम्म कतै पनि बादलका ढिस्काहरु थिएनन् र त्यसैले पनि आकाशको बीचोबीच झल्किरहेको सूर्य झन् निख्खर देखिन्थ्यो । पार्कको एक छेउमा राखिएको एउटा सानो बेन्चमा टेकिएर एक वृद्ध, हल्का खालको शारीरिक व्यायम गर्दै थिए । स्पष्टै थियो, घामको निख्खरतासँग शरीरलाई मस्तसँग तताउन सक्ने सामथ्र्य काफी मात्रामा थिएन । अनुहारको अलिकति भागलाई मात्र नाङगो पारेर सम्पूर्ण शरीरलाई बाक्लो कपडामा ढाकेका सो वृद्ध, नुवाकोटतिरका केदार लामिछाने थिए । लण्डनस्थित वेम्ब्लीतिर बसोबास गर्ने बहत्तर वर्षीय लामिछाने आफ्ना छोरीज्वाइँ र नातिसँगै तिनको घरमा विगत तीन वर्षबाट बसिरहेका थिए । एक्लिनुलाई मात्र, देश छोड्नुको कारण भन्न नरुचाउने, श्रीमतीको मृत्यु भएपछि विदेशिएका पूर्व हेडमास्टर वृद्ध लामीछाने केही अप्ठ्यारो मान्दै “वर्तमान बदलिँदो परिवेश”लाई दोष दिन्छन् ।

“यो एक्लोपन र यस्तो जाडोले यो उमेरमा तपाईँलाई कत्तिको नेपालको सम्झना दिइरहेको छ त ?” भन्ने प्रश्नमा “जन्मेको ठाउँ जे र जस्तो भए पनि दिल र दिमागबाट कहिल्यै हराउँदैन” भन्दै वृद्ध लामिछाने यसरी एकोहोरो एकातिर टोलाउँदछन् कि आफ्नो सम्झनामा बसेको विगतहरुमा खुशी खोज्दैछन् या दु:खले पिरोलिँदैछन्, बुझ्न गाह्रो हुने गरी केही घोरिएपछि अगाडि भन्दछन् —
“नरिसाउनु बाबु, तिमीहरुका पुस्ताहरुले नेपाललाई बस्नलायक बनाएनन् ।”
भोगाइको असर हुनुपर्दछ, त्यही असरले विचार बनाउँदछ । समय मन्द गतिमा चलेको लाग्ने सुदूर विगतमा जन्मेकाहरुले खासगरी बदलिँदो परिवेशको गतिलाई पछयाउन नसकेर दुखेका भने अवश्य हुन्छन् ।
“खास त्यस्तो त होइन होला, तपाईँ सायद समयसँग चल्न सक्नु भएन । स्थिति अनि अवस्थाहरु त समयसँगै परिवर्तनशील हुन्छन्, होइन र ? तपाईँ त बुझ्ने मान्छे ।”
हल्का—हल्का हल्लिन छोडेर बेन्चमा बसेका वृद्ध लामिछानेलाई फेब्रुअरी महिनाको जाडोले थर्थराउँदै थियो । तीन वर्षपछि लण्डनको यो क्षेत्रमा पनि हिँउ परेको थियो । रसुवाको धुन्चेबाट नुवाकोट झरेका लामिछाने खानदानले जुगौं जुग ती जिल्लाहरुवरपर बिताएको थियो । लौरोको रुपमा छातालाई टेक्दै अगाडि हिँड्दै गरेका वृद्ध भन्दै थिए —
“गोसाइँकुण्ड जाँदा उबेला मज्जाले हिँउ खेलिन्थ्यो, यो हिँउले मलाई त्यो बेलाको नेपाली संसारको याद आउँछ । गरीवीमा बाँच्न पनि समाजमा निक्कै सुखशान्ति थियो । एक—अर्कामा भरोसा थियो, समाजमा हाम्रो ईज्जत थियो । अहिले त्यही गाउँमा आफ्नो परम्परालाई धान्दै ईज्जतले बाँच्न नसक्ने अवस्था छ । छुवाछूत कानूनी रुपमा हटाइएको हो तर आफ्नो अधिकारको स्थापना गर्ने भन्दै अर्कालाई आफ्नो परम्परा, अरुलाई चोट नदिई पालन गर्न पाउनु पर्ने अधिकारको हनन त गर्नु भएन नि ?”
जातपात र छुवाछूत हटेको भन्दै ब्रह्मणहरुको घरभित्रको चुल्होहरुमा जुत्तासहित गाउँका त्यस्ता जातिका युवाहरु भित्रिन थालेपछि लामिछानेको परिवार शान्त मनसँगै सो गाउँमा बस्न नसकी त्रिशुली बजारमा झरेका थिए । एक छोरो अमेरिकाको डल्लासमा र अर्की छोरी यूकेको लण्डनमा वर्षौंदेखि घरजम गरी बस्दै आएकोले श्रीमती बितेपछि कहिले अमेरिका र कहिले यूके बस्दै आउने वृद्ध लामिछाने अन्त्यमा भन्दै थिए —
“आफै भन त बाबु, जहाँ ईज्जतका साथ शिर ठाडो गरेर हिँडिएको थियो, त्यही ठाउँमा शिर निहुर्‍याएर अनि अपहेलित भएर बाँच्न सकिन्छ त ? त्यसैले नेपालको त सम्झना मात्रै छ बाँकी, फर्केर त्यतै बाँकी जीवन बिताउन सकिने मैले चाहिँ देख्दिन पक्कै नै ।”
हङकङमा वर्षौंदेखि बसोबास गर्दै आउने नेपालीहरुका ९९ प्रतिशत जनजातिहरु भएको स्थानीय नेपाली जमातका चर्चा छ । हङकङमा रहेको नेपाली महावाणिज्य दूताबासमा आजसम्म नेपाल सरकारले एकजना पनि जनजातिमूलका महावाणिज्यदूत पठाएको छैन, जसका लागि हङकङमा जनजाति महासँघलगायतका अनेकौं जातीय संस्थाहरुले त्यहाँ नेपाल सरकारको प्रतिनिधित्व गरेर आउने गैरजनजातीय महावाणिज्यदूतको औपचारिक रुपमा विरोध गर्दछन् र सो गैरजनजातिमूलको व्यक्तिको सार्वजनिक रुपमा नेपाली संस्थाहरुले गरेको भन्दै सामाजिक वहिष्कार पनि गर्दछन् ।
पानी परेको अगस्टको एक वाफिलो साँझ, चिम सा चुईस्थित स्टार फेरी पियरबाट फेरीमा यात्रा गर्दै वानचाई जाने क्रममा, केही हप्ताको लागि श्रीमतीसहित हङकङ आएका कृष्ण प्रसाद भण्डारी हङकङमा प्रकाशित एक नेपाली साप्ताहिक पत्रिकाको मुख्य पृष्ठ पढ्दै थिए र साथमा श्रीमतीसँग बोल्दै पनि थिए —“नेपाली राजनैतिक पार्टीहरुको भागमा पर्ने हङकङमा पठाइएको सरकारी दूतलाई हङकङमा बस्ने सहुलियत पाएका नेपालीहरुका बहुमतले सार्वजनिक रुपमा यहाँ वहिष्कार गर्ने रे, अल्पमतमा रहेकाहरुलाई उक्त नेपाली प्रतिनिधिलाई यहाँ सम्मान गर्न चाहे पनि नपाउने भए । यस्तो पनि हुन्छ र ?”
पूर्व रामेछापको जिल्ला अदालतमा काम गर्ने वकिल पेशाका भण्डारीलाई नपचेको कुरा, आफ्नो अधिकारको सम्वद्र्धन गर्दै भनेर गरिएको अधिकारको प्रयोगमा, अर्काको अधिकारलाई हनन गर्न कोही पछि पर्दैनन् रहेछन् भन्ने थियो । उनको बुझाइमा नै हङकङ नेपालको कुनै एक जिल्ला वा अञ्चल वा क्षेत्र थिएन, जसमा पठाउनका लागि सरकारले त्यहाँ बस्ने मानिसहरुको रुचि र मागलाई आधार बनाओस् । पार्टीगत कोटाको हिसावमा भागवण्डा गरिएर नियुक्ति थमाइने परिपाटी चलेको वर्तमान राजनीतिगत कृयाकलापहरुमा व्यक्तिको राजनैतिक साँठगाँठ अनि पहुँचले नै मान्यता पाउँदछ पदको लागि छानिनुमा भने, त्यहाँ जातीय विविधकरणको त कुरै आउँदैन । हङकङमा कानूनी रुपमा बसोबास गर्ने त्यही माथि भनिएकै जम्मा एक प्रतिशतका गैर जनजातिहरुलाई, सायद हुन सक्दछ, गैरजनजातिमूलका महावाणिज्यदूतलाई सम्मान गर्ने चाहना होस्, तर ९९ प्रतिशतका मानिसहरुले उनलाई विरोध गर्न पाउने अधिकारका बीच, त्यो एक प्रतिशतहरुले उनलाई सम्मान गर्न पाउनु पर्ने अधिकार मिचिएको थियो । भण्डारी भन्दै थिए —“यसरी ९९ प्रतिशतका आप्रवासी नेपालीहरुका घृणाको पात्र भएर आएको महावाणिज्यदूतहरुलाई यहाँ बाँच्न कति गाह्रो भयो होला ? अनि त्यो एक प्रतिशतहरुलाई आफ्ना मौलिक अधिकारहरुको उपयोग गर्न नपाई भित्रभित्रै कुँजिएर बस्दा कत्तिको अप्ठ्यारो भयो होला ?”
मानिसहरु सामाजिक प्राणी हो, समाजबाट अलग रहेर कतै बस्नै सक्दैनन् । मानिसहरुलाई खुशियाली बाँड्न समाजको साथ चाहिन्छ, अर्काले सहानुभूति नदेखाउने भए मानिसलाई वास्तवमा कुनै दु:खले दुखाउँदैन । चाड, पर्वहरु तथा मौसमहरु सबै सबै समाजमा सामाजिक हुँदा प्यारो लाग्दछ भने जस्तोसुकै विपदहरु पनि समाजमा सजिलोसँग पार लाग्दछन् । माथि राखिएको दुई उदाहरणहरु निक्कै नै सारगर्भित छन् । नुवाकोटका लामिछाने र रामेछापका भण्डारीहरुले राख्ने विचारहरु पक्कै नै व्यक्तिगत मात्र होइनन् । समय सापेक्ष भन्ने गरिएका भए तापनि त्यो परिवर्तनमा समाजमा व्यापक विखण्डन भने ल्याएको हो । लामिछानेले भोगेका घटनाहरुले उनको एक्लो प्रतिनिधित्व गर्दैन, त्यसले एक सिङगो कालखण्डको पनि प्रतिनिधित्व गर्दछ ।
एउटा सिङगो कालखण्डलाई थन्क्याउने गरेर नेपालमा शाह वंशको विनास गरियो । देशमा विकराल किसिमले आन्तरिक गृहयुद्धजस्तो चलिरहेको सङक्रमित बेलामा घटाइएको वीरेन्द्र शाहको वंश—नाशको बेला, त्यसबेला नारायणहिटी दरबारमा सम्पूर्ण पारिवारिक जमघटको अवसरमा पूर्व राजा ज्ञानेन्द्रको अनुपस्थिति हुनु, उनकी श्रीमती कोमल र छोरो पारस घटनास्थलमा भएर पनि सकुशल हुनुले अपरिमेय रुपमा पूर्व राजा ज्ञानेन्द्रमाथि सबैको शंका परेको हो । प्रजातान्त्रिक राज्य व्यवस्था भएको अवस्थामा घटाइएको सो घटनापछि तत्कालीन सरकारलाई घटनाको निष्पक्ष जाँचबुझ गर्न कसैले पनि रोक्न सक्ने अवस्था थिएन र त्यहीअनुरुप विभिन्न प्रतिवेदनहरु आए, अनुसन्धानहरु भए र अन्तिममा पूर्व राजकुमार दीपेन्द्रको पागलपनको नतिजा भएको समाचारहरु बाहिर आयो । अन्तत: ज्ञानेन्द्र राजगद्दीमा बसेर केही समय अप्रत्यक्ष र केही समय प्रत्यक्ष नेपाल सरकारको हैसियतमा शासन गरे नेपालमा । तथापि आम नेपालीको नजर र बुझाइमा, स्व. राजा वीरेन्द्रको वंशनाश, उनकै भाइ पूर्व राजा ज्ञानेन्द्रबाट भएको हो भन्ने धारणा अद्यपि हटेर गएको छैन ।
अन्तर्राष्ट्रिय कानूनी मान्यता तथा विश्वव्यापी सत्यताअनुसार पनि अपराधी तबसम्म अपराधी कहलिँदैन, जबसम्म मुलुकको अदालतबाट उक्त व्यक्तिलाई अपराधी प्रमाणित गरिँदैन । कानूनी रुपमा अपराधी वा हत्यारा नबताइएको व्यक्तिसँग कुनै पनि मुलुकमा अन्य नागरिकसरहको आत्मसम्मान अनि आम अधिकारहरुको वहन गरेको अवस्था हुन्छ । उक्त व्यक्तिलाई तदनुरुप पनि अपराधी भन्नेहरुमाथि मानहानीको मुद्दा हाल्न सक्ने पूर्ण कानूनी अधिकार उक्त व्यक्तिसँग रहेको हुन्छ । राजगद्दी छोडेर आम नागरिकसरह जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्रसँग अन्य आम नागरिकसरह के यो मौलिक अधिकार छैन त, आफ्नो परिवार तथा आफ्नो आत्मसम्मानको रुक्षा गर्न ?
विश्वमा अद्यावधि १०७ वटा देशहरुमा राजसंस्था छन् र त्यसमध्ये ४० वटा देशमा संविधानसम्मत राजतन्त्र रहेको छ । जम्माजम्मी १०२ वटा देशहरुबाट पूर्ण रुपमा राजसंस्था हटाइएको छ । बेलायती राजसंस्था पुनर्वहाली भएको राजसत्ता हो भने अन्य केही मुलुकहरु जस्तै बुल्गेरिया र क्याम्बोडियामा राजसंस्थाको पुनर्वहालीका कामहरु तीव्र रुपमा भइरहेका छन् । हाल विश्वमा राजतन्त्र गुमाएर अद्यापि जिवित अवस्थामा रहेका पूर्व राजाहरुमा बेलायतलाई छोडेर वास्तवमा ६ जना छन् । बुल्गेरियाका सिमेओन द्वितीया, ग्रीसका कन्स्टेनटाइन द्वितीया, रोमानियाका माइकल प्रथम, रुवान्डाका किगेली पाँचौं, जन्जिबारका सुल्तान जम्सिद विन अब्दुल्ला र नेपालका ज्ञानेन्द्र शाहमध्ये पूर्व राजा ज्ञानेन्द्रबाहेक सबैले सत्ताच्युत भएपछि आ–आफ्नो देश छोडी अन्य देशमा शरण लिएर आरामको जीवन बिताइरहेका छन् । यो एउटा वास्तविकता हो । किन कसैले ज्ञानेन्द्रको यो कदमको बारेमा सोँचेनन् र तदनुरुप बोलेनन् ?
इतिहास साक्षी छ, विगतमा नेपाली राजनीतिमा लाग्नेहरुका लश्करहरु छन्, जसलाई राजनीतिको यात्रामा लागेर अन्तत: हासिल भएको पदले फलाएको थियो, फुलाएको थियो र त्यसैले पनि भन्न सकिन्छ, तिनलाई नेपाली राजनीति फापेको भने हो । प्रधानमन्त्री, मन्त्रीहरु मात्रै होइनन्, तिनका आसेपासेहरुलगायत साँसदहरु अनि तिनका आसेपासेहरुका पनि फलिफाप भएका उदाहरणहरु यथेष्ठ छन् । देशले भोग्नै पर्ने वा विकासका आँधीबाट बच्नै नसक्ने समयसापेक्ष प्रगतिहरु बाहेक, वास्तव मै भन्ने भए देशले विकास कहिले पायो ? कुन नेतालाई आफ्नो अनि परिवारको लगायत, आफ्नो परिवेशको बाहेक, सम्पूर्ण रुपमा राष्ट्रको बारेमा सोँच्ने चासो थियो र छ पनि ? चुनावभन्दा अगाडि मुसा जस्ता भएर आउने नेताहरु, पदमा पुगेपछि हात्तीको स्वरुपमा फुक्दछन् । उदाहरणहरु खोज्न प्रयास गर्नुपर्दैन, जताततै छर्लङ्ग हुने गरी ती देखिएका छन् । नेपाली राजनीतिको दूषित मन्त्रले गर्दा आज नेपालीहरु जातजातमा, क्षेत्र अनि धर्ममा विभाजित छन्, त्यसैको फलस्वरुप समाजमा वैमनष्यता फैलँदो छ । सबैलाई आफू र आफ्नो जमात प्यारो लाग्ने भएको छ भने साझा तथा सम्पूर्ण पनको कसैलाई मतलब नै छैन । यसबारे ज्यादा बोल्नु जरुरी छैन, सर्वत्र व्याप्त छ ।
देश अविछिन्न रहने भनेको, आफ्नो मौलिक संस्कृति तथा परम्पराले गर्दा हो । आज नेपालसँग के छ, जसको लागि नेपालीहरुले गर्व गर्न सकुन् । लामिछानेजस्ता हजारौं ब्राह्मणहरु छन्, जो आफ्नो परम्परासहित आफ्नै थातथलोमा ईज्जतसाथ बाँच्न सक्दैनन् । धर्म निरपेक्षताको नाममा वा परिवर्तनको नाममा हिन्दू धर्मावलम्बीहरुको सक्दो खिल्ली उडाइरएको छ । आफ्नो अधिकारको उपभोग गर्ने भन्दै हिन्दूधर्मीहरुको अगाडि नै गाईलाई काटी मासु खान थालियो भने त्यहीं गाईलाई माता मानी पुज्न पाउनु पर्ने हिन्दू आस्थाको अनि तिनको मौलिक अधिकारको खिल्ली उडाइयो । सम्पूर्ण धर्मावलम्बीहरुको गहन आस्थालाई अपहेलित गरियो । कोही व्यक्ति आफ्नै घरमा अन्यले देख्ने गरेर नाङ्गो रहे, अरुलाई यौनदायी यातना दिएको मानिन्छ र सोअनुसार अपराधी ठहरिन सक्दछ भने हिन्दूहरुले देख्ने गरी गाई काटिनु कत्तिको ठूलो यातना होला ? त्यस्तो ठाउँमा ती आस्थावानहरुलाई ईज्जत साथ, सुरक्षित रुपमा जिउन पाउने अधिकारको, सरकारले ज्ञारेन्टी किन दिएन ? त्यस्तो अप्ठ्यारो परिवेशमा लामिछाने जस्ताहरुसँग अन्य विकल्प के होला ? त्यस्तै हङकङमा एक प्रतिशत गैरजनजातिहरुले निश्चिन्त रुपमा नेपालको प्रतिनिधित्व गरेर आउनेलाई सम्मान, वेफिक्री साथ किन गर्न पाउँदैनन् ? नेपालको प्रतिनिधित्व गरेर आएका महावाणिज्यदूतहरुलाई विदेशी भूमिमा वहिष्कार गर्नेले, त्यो अल्पमतका आस्थालाई पनि त अपहेलना गरेनन् र ? त्यसरी बाँच्न कति गाह्रो होला तिनलाई हङकङमा ?
संविधान बनाउनका लागि देशको सम्पूर्ण सामाजिक, धार्मिक, जातिगत, पेशागत आदिको प्रतिनिधित्व गरेको भन्दै बटुलिएका ६०१ मा परेकाहरुका कार्यगत शैली भर्खरै देखियो र नतिजा पनि आयो —संविधान झन झन पो जटिल बन्दै गएको छ । आफ्नो जातिलाई ठूलो मान्दै सोअनुरुप राज्यको स्थापना गर्न चाहानेहरु, धर्मको नाममा राजनीति गरी आफ्नो धर्मलाई श्रेष्ठ बनाउन खोज्नेहरु, पार्टीगत विचारमा लग्न भई देशमा साझापनमा होइन, विचाराधारागत विविधतमा खिंची बर्गीकृत गर्न चाहानेहरु, देश अप्ठ्यारोमा परेको बखत मौका पार्दै आफ्नो व्यापारलाई चौगुना गर्नेहरु, देशमा समस्या वल्झिएको बेला देश छोडी विदेशिनेहरु, राष्ट्रियतालाई ओझेल पार्दै इमान्दारिताको हवाला दिएर बेलायती बनेका भूतपूर्व गुर्खाहरु, कोटामा पढ्न विदेशिएर विदेशी बन्ने दौडमा उन्मुक्त विद्यार्थीहरुलगायत वृद्ध केदार लामिछानेहरु अनि उनै पूर्व राजा ज्ञानेन्द्रमा को होलान् सच्चा राष्ट्रभक्त वा राष्ट्रवादी ?
कति गाह्रो भयो होला राजतन्त्र अनि राजगद्दी गुमाएर अनि अन्यसरहको सर्वसाधारण भएर उही ठाउँमा हिजोसम्म विष्णुको अवतारको रुपमा पुजिएका पूर्व राजा ज्ञानेन्द्रलाई बाँच्न ? एक व्यक्तिको सहनशीलताको आधारमा मात्रै अध्ययन गर्न सकिने के यो एउटा विषय थिएन र ? वृद्ध केदार लामिछानेलाई उनको धर्ममा खेलबाड भएको मात्रैले पनि नुवाकोटमा ईज्जतका साथ बस्न सकेनन् र पलायनको बाटो रोजे । पूर्व राजा ज्ञानेन्द्रलाई कुन मापको अप्ठ्यारो अनि असजिलो भएको होला ? आफ्नो परिवार नै सबैको लागि हाँसोको विषय बनेको अनि आफ्नो गुम्दै गएको साख उही साँध र सिमानामा बसेर अनुभव गर्दा उनलाई कस्तो मुश्कील परेको होला ? यो कुनै राजावादी लेखको मनासय होइन, यो मात्र मानवीय अनुभवको अन्दाजको कुरो हो । के ज्ञानेन्द्रलाई सपरिवार अन्य देशमा पलायन हुनको लागि कसैले रोक्न सक्थ्यो र ? के उनीलगायत उनको परिवारसँग सम्पत्तिको अनि सम्पर्कहरुको कमी थियो र ? आज संसारको कुनै पनि देशमा ईज्जतका साथ व्यापार व्यवसाय गरेर सुख शयलले बस्न सक्ने ल्याकतमा रहेका ज्ञानेन्द्रले नेपालमै हर एकबाट अपहेलित भएर बस्न किन रुचाए ? आफ्नो अधिकारको हनन भइरहेको भोग्न वाध्य रहेका ज्ञानेन्द्रको सो कार्यमा कत्तिको राष्ट्रियता झाङगिएको होला भनेर किन कसैले सोँचेनन् ? नेपालमा वास्तवमा भन्ने भए ज्ञानेन्द्र जत्तिको राष्ट्रभक्त कोही छैनन् भन्नु अत्योक्ति पक्कै हुँदैन । यो राजावादी सोँच होइन, एक यथार्थपरक निचोड हो ।
छाताको टुप्पोलाई लठ्ठीको रुपमा प्रयोग गर्दै अगाडि बढेका वृद्ध केदार लामिछाने केहीबेर सुस्ताउँदछन् । उनलाई सायद नेपालमा आफूले भोगेका तीतो अनुभवहरुको फेहरिस्त नै सुनाउनु थियो । “बाजेलाई त त्यस्तो गाह्रो भएछ, त्यस्तो अप्ठ्यारो अवस्थामा दैनिक जीवन यापन गर्न, भने पूर्व राजा ज्ञानेन्द्रलाई कस्तो भयो होला ?”
वृद्ध लामिछाने एकपटक छक्क पर्दछन्, उनलाई सायद त्यस्तो प्रश्नको अपेक्षा थिएन । केहीबेर घोरिएर भन्दछन् — “ज्ञानेन्द्रको अवस्थासँग हामी आम जनताको अवस्थालाई तुलना गर्न मिल्दैन बाबु ।”
उनी तटस्थ लाग्दछन्, आफ्नो अवस्थाको अनि वर्तमान नेपाली परिवेशको दोषको भागीदार उनले राजपरिवारलाई पनि दिन चुकाएका थिएनन् ।
“सायद तपाईँ सही भन्दैहुनुहुन्छ होला, बाजे । त्यो राजाहरुलाई दुख्ने मुटु हुँदैन होला ।” वृद्ध लामिछाने चुपचाप घोरिन्छन् त्यसपछि ।
(मेरो युके अनलाइनबाट सभार)

प्रकाशित मितिः२०७१फागुन ७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment