नेपाल र चीन, नेपाल–भारतबीच ठूलो व्यापार घाटा छ । चीनले नेपालको व्यापारमा वृद्धि ल्याउन सक्दो सहयोग, सुविधा र सहुलियत उपलब्ध गराइरहेको छ । पछिल्लो पटक नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडा र चीनको पिपुल्स बैंक अफ चाइनाबीच बेइजिंगमा हालै युआनमै कारोबार गर्न सकिने संझौता भएको छ । यसअघि यस्तो कारोबार अमेरिकी डलरमै हुनुपर्ने बाध्यकारी व्यवस्था थियो । यस संझौताले चिनियाँ वस्तु झन सस्तो हुनेछ । दुई मुलुकबीच व्यापार र लगानी सम्बन्धी सुविधा बढाउने प्रयास स्वरुप यस्तो सँझौता भएको हो । यो संझौता सह्रानीय छ । दुई मुलुकबीच हुने कारोबारलाई अझ सहज र सरलीकरण गर्न ठूलो मद्दत पुग्दछ । यो संझौताले महंगोमा डलर खरिद गरी फेरी युआन साट्दा हुने नोक्सानी समेत घटाउने छ । अब नेपालमा लगानी गर्न चाहने चिनियाँ लगानीकर्ताले डलर नसाटी सिधै युआनमै चिनियाँ मुद्रा लगानी गर्न सक्दछन् । नेपालको मौद्रिक जगतमा यो ऐतिहासिक सम्झौता बनेको छ । यस सम्झौताले लगानीकर्तालाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ । यस सम्झौताबाट कारोबारीहरू अति उत्सहित र हर्षित बनेका छन् । अमेरिकी डलरमा मात्र खाता खोल्नुपर्ने बाध्यता यसअघि थियो तर अब नेपाली बैंकहरूले सबै चिनियाँ बैंकमा युआनमै खाता खोल्न पनि पाउने छन् ।
दुई देशबीचको व्यापार बढाउन बैंकिङ नीतिले ठूलो भूमिका खेल्न सक्दछ । नेपाल–चीनको व्यापार आकार करिब ७० अर्ब रुपैयाँ छ । चिनीयाँ व्यापारका लागि नेपाल ट्रान्जिट प्वाइन्छ बन्न सक्दछ । चीनमा हुने व्यापारको ठूलो हिस्सा हुण्डीमार्फत अवैध रुप्मा हुने गरेको छ । यस सुविधाले हुण्डीमार्फत हुने व्यापार निरुत्साहित हुन सक्दछ, अवैध व्यापार निरुत्साहित गर्नु पर्दछ । सबै व्यापार एलसीमार्फत वैध र पारदर्शी ढंगले हुनु पर्दछ । नेपाल र चीन दुई मुलुकका नाकाहरूमा हुने गरेका व्यापारमा नेपाली रुपैयाँमै पनि भुक्तानी स्वीकार गरिने भएको छ । नेपालमा आउने अधिकांश चिनियाँ पर्यटकहरू युआन नै लिएर आयने र नेपालमा यसलाई स्वीकार्ने गरिएको छ । अब युआनमै कारोबार हुने सम्झौताले मुद्रा सटहीकालागि पनि बाटो सहज बनाएको छ । नेपालमा अब चिनियाँ बैंकको खाता धमाधम खोल्न सकिने अवसर मिलेको छ । नेपाल–चीनबीच खुल्ला सिमाना छैन । राहदानीको व्यवस्था छ । नेपालको अर्को छिमेकी भारतसँग खुल्ला सिमाना छ । एकदेशको नागरिक अर्को देशमा रोकटोक बिना नै आवत–जावत गर्न सक्दछन् । राहदानी र परिचयपत्रको आवश्यकता छैन । भारतबाट कति नेपाल आए, नेपालबाट कति भारत गए कहिं कतै रेकर्ड राख्नुपर्ने, इण्ट्री गर्नुपर्ने व्यवस्था छैन । नेपाल–भारतबीचको व्यापार चीनसँगको व्यापारभन्दा १५ गुणा बढी छ । नेपालमा भारु चल्छ, भारुको अवैध कारोवार (हुण्डी) ठूलो छ तर भारतीय बजारमा नेपाली रुपैयाँ चल्दैन । सीमावर्ती बजारमा नेपाली रुपैयाँ चल्छ तर बैंकसँगको विनिमय दर रु.१००।–को १६०।– छ तर व्यापारीले १०० मूल्यको वस्तु खरिद गर्दा ने.रु. १६५ सम्ममा खरिद गर्नुपर्ने बाध्यता छ । यतिखेर भारतीय नोट नेपालीले बढीमा १६५ सम्ममा खरिद गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंक र अन्य बैंकले माग अनुसारको भारु उपलब्ध गराउन सकेका छैनन् । भारुको ब्लेक अर्थात कालोबजारी भइरहेको छ । नेपाली व्यापारीहरूले भारतबाट वस्तु आयात गर्दा डलरमा भारु खरिद थरी एलसी खोल्नु पर्दछ । व्यापारमा सरलीकरण छैन । नेपालमा भारतीय सामान आयात गर्ने व्यापारीहरुले सीमावर्ती क्षेत्रमा रहेका भारतीय भन्सारलाई घुस खुवाउनु पर्ने अवस्था छ । नेपाल राष्ट्र बैंकले बढीमा ढुई हजार एक हप्तामा एक पटक नेपाली नागरिकताको फोटोकपि लगायतको प्रमापत्र लिएर लाइनमा बसालेर सर्वसाधारण नेपालीलाई उपलब्ध गराउने गरेको छ । डलरमा भारु. खरिद गरेर उपलब्ध गराउँदा राष्ट्र बैंकले ठूलो नोक्सानी सहनु परेको छ । भारुको दाँजोमा नेपाली रुपैयाँको अवमूल्यन भइरहेको छ । बैंक विनिमय दरलाई चुनौती दिएर झण्डै पाँच वर्षदेखि भारु नोट बाहिर सटही गर्दा रु. ५ सम्म बट्टा लिंदा र भारुको बजारमा ठूलो अभाव हुँदा पनि नेपाल र भारत दुबै सरकारले नदेखे, नसुने, नबुझे झैं भएर बसेको देख्दा उदेक लाग्दछ । के चीनले झैं भारतले पनि भारुमै कारोबार गर्ने सुविधा दिन सक्दैन ? डलर साटेर एलसी खोल्नुपर्ने बाध्यता किन गर्दछ । यही हो त घनिष्ट सम्बन्धको अनुपम उदाहरण ? यसतर्फ भारत सरकारको ध्यानाकर्षण होस्, द्विपक्षीय हित होस भन्ने सबैको चाहना रहिआएको छ । अस्तु ।
प्रकाशित मितीः२०७१ पुस २४ गते बिहीवार