शिक्षामा व्यपारिकरण र माफियाकरण

शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपालको गाउँ, शहर, बस्ती, हिमाल–पहाड–तराइ जताततै सरकारी र नीजि विद्यालय संचालनमा आएका छन् । “न नाफा, न घाटा”को उद्देश्य र लक्ष्यका साथ विद्यालय लगायत सबै शिक्षण संस्था संचालन हुनु पर्दछ । शिक्षा सेवा हो व्यापार होइन । शिक्षा सबैकालागि उपलब्ध गराउनु, शिक्षित र साक्षर सबैलाई रोजगारीको अवसर प्रदान गर्ने प्रमुख दायित्व सरकारको हो । उपयुक्त शिक्षा नीति तर्जुमा गर्ने, कार्यान्वयन गराउने कर्तव्य पनि सरकार कै हो । सबैकालागि गुणस्तरीय सर्व शुलभ र सस्तो शिक्षा आजको आवश्यकता हो । धनीलाई धनी बनाउने होइन, गरीबलाई धनी बनाउने, गरीबका छोराछोरी स्तरहीन सरकारी स्कूलमा पढ्ने, धनिका छोराछोरी महंगो स्कूलमा पढ्ने त्यो पनि हुनु हुँदैन । अहिले शिक्षामा दोहोरो मापदण्ड, शिक्षाका कारण दुईखाले वर्ग उत्पादन भएका छन् । सम्पूर्ण विद्यार्थीहरूमा एउटै स्तर, एउटै मापदण्ड र एउटै अवसर चाहिन्छ । तबमात्र प्रतिस्पर्धा हुन्छ । सबैले समान अवसर पाए कुनै पनि खालको विभेद भएन भने देशमा शान्ति र विकास हुन्छ । सबै नेपालीको भाग्य र भविय सुनिश्चित हुन्छ । शिक्षा क्षेत्रमा त्यस्तो वातावरण छैन । यथास्थितिको वातावरण र ठोस राष्ट्रिय शिक्षा नीतिको अभावले गर्दा नेपालको शैक्षिक वातावरण सरकारको लक्ष्य र उद्देश्य, विद्यार्थी र अभिभावकले उपेक्षा गरेजस्तो पटक्कै छैन । शिक्षामा व्यपारिकरण, माफियाकरणले शिक्षाको उपलब्धीमा चुनौती कायम भएको छ ।

नेपाली समाजमा हुँदा खाने वर्ग धेरै खाने र हुने खाने वर्ग थोरै संख्यामा छन् । शिक्षामा विद्यमान सबैखाले विभेद, विकृति र विसंगति हटाउन शिक्षक, विद्यार्थी र अभिभावकको कार्यगत एकता हुनु पर्दछ । विद्यालयले दुईखाले विद्यार्थी उत्पादन गर्नुहुँदैन । समान अवसरकारलागि एउटै स्तरको शिक्षा सबै विद्यालयमा हुनु पर्दछ । सामुदायिक विद्यालय, सरकारी विद्यालयमा शिक्षा शुल्क लाग्दैन, पाठ्यपुस्तक किन्न पर्दैन, स्थानीय विपन्न वर्गका, पिछडिएका वर्गका बच्चाहं बढी पढ्छन् । उनीहरू लक्षित वर्ग पनि हुन् । हुने खानेका छोराछोरीलाई भन्दा सरकारले त्यस्ता विद्यार्थीकालागि बढि चिन्ता र चासो लिनु स्वभाविक हो । हुने खाने वर्गले हिजो आज स्वदेशको महंगो र स्तरीय विद्यालय र विदेशमा पढ्न पठाउन थालेका छन् । विपन्न वर्ग, लक्षित जनसमुदायका छोराछोरी गुणस्तरहिन सरकारी विद्यालयमा पढ्नकालागि जान्छन् । यसले शिक्षको महत्व झन घटाइदिएको छ । निजी विद्यालय र सरकारी विद्यालयमा समान शुल्क, समानस्तर अनिवार्य हुनु पर्दछ । गरीखाने वर्ग र ठगी खाने वर्ग नेपाली समाजमा छन् । सबैलाई गरीखाने परिश्रमी वर्ग बनाउने शिक्षा नीति र शैक्षिक अवसर हुनु पर्दछ । गलत गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कार नीति लागु गर्नुपर्दछ । अस्तु ।

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment