संचारमा विदेशी लगानी आवश्यक छैन

नेपालमा संचार क्रान्ति छाएको छ । नेपालमा निजी क्षेत्रले संचार क्षेत्रमा ठूलो लगानी गरिरहेको छ । त्यसको प्रतिफल उपलब्धिमूलक र उत्साहजनक रहेको छ । नेपालमा साना लगानीका अर्थात् स्वरोजगारमूलक पत्रपपित्रकाको अवस्था दिन प्रतिदिन दयनीय बनेको छ । पत्रपत्रिकाको वर्गीकरणका नाममा प्रेस काउन्सिल नेपालले सानो लगानीका र पुराना पत्रपत्रिकाको गर्दनमा धारिलो खुकुरी राखेर उसले शासन गरिरहेको छ । साना थुप्रै पत्रिकाहरू बन्द हुने अवस्थामा छन् । समानुपातिक राष्ट्रिय सञ्चार नीति नभएको र संचार माध्यम संचालनको मेरुदण्ड विज्ञापन नीति पनि समानुपातिक नभएकोले आर्थिक अभावमा तथा गुणस्तरीय पत्रपत्रिका हुन नसक्दा स्वत: बन्द हुँदैछन् । साना र पुराना पत्रपत्रिकाको संरक्षण गर्नुको सट्टा पत्रपत्रिकाको संख्या वृद्धि भएकोले कसरी घटाउन सकिन्छ भन्ने धन्दामा प्रेस काउन्सिल लागेको छ । व्यवसायिक पत्रकारिताको नाममा केही लगानीकर्ताहरूले प्रेसलाई उद्योग ठानेर नानाथरिका विज्ञापन गरेर मुनाफाको प्रतिस्पर्धा गरिरहेका छन् । नेपालको प्रेस जथतमा विदेशी लगानी पनि भित्रिने खतरा छ । सरकार राष्ट्रिय स्वार्थलाई भन्दा विदेशी स्वार्थलाई पक्षपोषण गर्दै आएको छ । विदेशी लगानीको कुरा प्रेस जगतमा पनि उठिरहेको छ । केही सञ्चारमाध्यम अघोषित रुपमा विदेशी सहयोग र लगानीमा संचालित छन् । संचारमाध्यमको प्रमुख दायित्त्व राष्ट्रिय स्वार्थको जगेर्ना
गर्नु हो । राष्ट्रियतालाई सबल र सफल बनाउन हर संभवको प्रयास संचारमाध्यमले गर्नुपर्दछ । प्रेस आचार संहिता र राष्ट्रिय अनुशासन उल्लंघन गर्दै प्रेस जगतका केही संचारमाध्यमले विदेशी सहयोग लिएको पनि पाइएको छ । अन्य जगतमाझैं प्रेस जगतमा सिन माफियाकरण हुँदै गरेको संकेत पाइएको छ ।
संचारमाध्यम राष्ट्रको पहरेदार हो । द्वन्द्व व्यवस्थापनका लागि संचारमाध्यम बलियो अस्त्र पनि हो । संचारमाध्यमहरू देशभक्तिको मिलनविन्दुमा एक हुनु पर्दछ । नेपाल र नेपाली जनताहरूलाई हरसंभवको फाइदा दिलाउन प्रेस जगत प्रतिवद्ध हुनु पर्दछ । नेपालका राजनीतिक दल र त्यसको नेतृत्व अक्षम्य असफलतामा गएको बेला राज्यको चौथो अंग प्रेस जगतले एउटै प्रयास गर्नु पर्दछ, त्यो हो–राज्यको संरक्षण र विधिवत शासन संचालन । नेपाली सेनाले जसरी मर्यादित भूमिका निर्वाह गर्दछ त्यसरी नै राष्ट्र र राष्ट्रिय स्वार्थभन्दा ठूलो कुरा केही छैन भनेर देश र जनताको सर्वोत्तम हितमा समर्पित हुनुपर्दछ ।
प्रेस जगतमा विदेशी लगानी भयो भने उस्ले नेपाल र नेपालीको स्वार्थ र आवश्यकता भन्दा विदेशी स्वार्थलाई बढी हेर्दछ । विज्ञमपनको लोभमा नेपाल र नेपालीप्रति गैर जिम्मेवार स्वतन्त्रताको नाममा स्वच्छन्द र अराजक बन्न खोज्दछ । विदेशी स्वार्थ संचारमाध्यममा रहनदिनु हुँदैन । नेपालका पत्रपत्रिकाहरूलाई राष्ट्रिय हित प्रति प्रशिक्षित गराइएको छैन । थोरै पत्रकारहरूले मात्र पत्रकारले के–के गर्नु हुन्छ, के–के गर्नु हुँदैन भनेर जिम्मेवारी लिएका छन् । बाँकी पत्रकारहरूले पत्रकारिता पेशालाई अवसरका रुपमा लिएका छन् । भारतीय नागरिकले अन्नपूर्णपोष्ट चलाउँदा र त्यही अन्नपूर्ण पोष्टठ नेपालका नागरिक, पत्रकारहरूले चलाउँदा विशेषगरी राष्ट्रिय स्वार्थका सवालमा निकै अन्तर देखा परेको छ । नेपाल वान टेलिभिजन च्यानल दिल्लीबाट प्रशारण हुँदा ऐन मौकामा नेपाल र नेपालीमाथि भ्रम र प्रहार गर्ने काम गर्दै आएको छ ।
साउथ एशिया ट्रष्टद्वारा संचालित ‘हिमाल खबर पत्रिका’लाई काठमाण्डौस्थित नर्वेली दूतावासले ६ करोड २८ लाख सहयोग उपलब्ध गराएको सार्वजनिक भएको छ । ट्रष्टका कार्यकारी निर्देशक कनकमणी दीक्षित हिमाल खबर पत्रिकाका प्रकाशक हुन् । शान्ति प्रकृया भाँड्न उक्त रकम उपलब्ध भएको खुलासा भएको छ । संचारमा विदेशी लगानी राष्ट्रिय अपराध हो, विदेशी सहयोग लिने संचारकर्मी र संचारमाध्यम विदेशी एजेण्ट हुन्, राष्ट्रिय अपराधी हुन् । प्रकाशित मितीः२०७१ वैशाख ११ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment