नेपालमा धेरै राजनीतिक दलहरूले विभिन्न राजनीतिक विचार र वादको अभ्यास गरे, ती सबै ‘ट्रायल एण्ड इररमेथड’ मा आधारित रहे । नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद, नेकपा एमालेको बहुदलीय जनवाद, एनेकपा माओवादीको साम्यवाद, मधेशी दलको मधेशवाद, राप्रपाको राष्ट्रवाद, अन्य दलहरूको विभिन्न वादले राजनीतिक विवाद र जनतालाई खण्डित बनाउने बाहेक राष्ट्र निर्माणमा कुनै टेवा दिन सकेनन् । राजनीतिक शासन सत्ता परिवर्तन हुँदै गयो, व्यवस्था परिवर्तन भयो तर दलका शीर्ष नेता सप्रिने, जनता र देश बिग्रिने क्रम चल्न पुग्यो । राजनीतिक अस्वस्थ प्रतिस्पर्धाले गूट, फूट र लूटको संस्कृति सिर्जना गर्यो । नेपालवाद र विकासवाद ओझेलमा पर्दा बहुसंख्यक जनताको आर्थिक अवस्था जर्जर बन्न पुग्यो, राष्ट्र असफल र कमजोर बन्यो । राजनीति सत्ताको खिचातानीकालागि राजनीतिक दलहरू अहोरात्र लाग्दा सुनौला भविष्य रहेको नेपालका नेपालीहरूमा राजनीतिकप्रति वितृष्णा आउँदा र राजनीतिक पार्टीहरू रोज्दा रोज्दै राष्ट्र निर्माणको महत्वपूर्ण अवसर फुत्किन लागेको छ, विदेशीवाद लादिन खोजेको छ । संविधानवाद संकटमा परेको छ । संविधान राष्ट्रको मूल कानुन र मूल दस्तावेज हो । सबै राजनीतिक दलहरूलाई राजनीतिक मूल प्रवाहमा अगाडी बढाउने दस्तावेज हो । सात वर्ष बित्दा पनि दुई–दुई पटक संविधानसभाको निर्वाचन हुँदा पनि संविधानसभाबाट राजनीतिक द्वन्द्व व्यवस्थापन नहुने, संविधान बनिहाले पनि देश र जनताको सर्वोत्तम हित विरुद्ध हुने छाँटकाँट देखिएको छ । राजनीतिको मूल उद्देश्य राष्ट्र निर्माण र शान्ति हुनु पर्दछ । राजनीतिले राष्ट्रियता, जनजीविकाको ग्यारेन्टी गर्नु पर्दछ । तर नेपालको राजनीतिकले मूल विन्दू पहिल्याउन नसक्दा पार्टीहरूको वाद नै राष्ट्रकालागि प्रत्युत्पादक सावित भएको छ ।
सामान्यतया राष्ट्रको जीवनमा एकपल्ट मात्र आउने संविधानसभाको निर्वाचन दोश्रोपटक भई ३० वटा राजनीतिक दलका ६०१ जनाले संविधानसभामा प्रतिनिधित्व गर्दा पनि राष्ट्र अनिर्णयको बन्दी बनेको छ । नेपाल र नेपालीको भाग्य र भविष्यको सुनिश्चितताको आधार भत्किन खोजेको छ । राजनीतिक दलहरू मेलमिलाप र सहमतिबाट संविधान निर्माण गर्न असफल हुँदै गइरहेका छन् । राजनीतिक दलको नेतृत्वको नीहित स्वार्थको लडाईले गर्दा विधिको शासन, असल शासन, राजनीतिक वाद सबै संकटमा परेका छन् । नेताहरूले इतिहासबाट पाठ सिकेर अग्रगामी राजनीतिक निकास दिन नसक्दा अव्यवस्था र यथास्थितिको क्रमभंग हुन सकेन । कम्युनिष्ट पार्टीको एकता, संघर्ष र रुपान्तरण अव हावादारी नारा सावित हुन पुगेको छ । कुनै एक पार्टीलाई दोष दिनुभन्दा नेपालवाद र विकासवादलाई सबै राजनीतिक दलहरूले मिलनविन्दु बनाउँदा मात्र राजनीतिक निकास र राजनीतिक मूल प्रवाह कायम हुनेछ । चेतनाभया ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्