राजनीतिक खिचलोबाट राष्ट्रले निकास, विकास र शान्ति पाउन सक्दैन


जनताले उत्साहकासाथ आ–आफ्नो आफूले रुचाएको दलको पक्षमा मताधिकार प्रयोग गरेका छन् । संविधानसभासदस्य निर्वाचन २०७० सम्पन्न भएको छ । चुनावी परिणामलाई सबैले स्वीकार गर्नुपर्दछ । संविधान र स्थिर सरकार बन्नु पर्दछ । दुई तिहाई मतदान आएन भने, नआएको कारण संविधान बन्दैन, संविधान बनेन भनेर अब राजनीतिक दलहरूले उम्कन पाउने स्थिति छैन ।
संविधानसभाको निर्वाचन अब अर्को पटक हुन सक्दैन । संविधान बिना मुलुक संचालन हुन सक्दैन । अस्थिर सरकार आयो भने संविधान निर्माणमा बाधा पुग्छ । ठूलो दलको नेतृत्वमा सरकार बन्नु पर्दछ । संविधान साझा एजेण्डा हो भन्ने कुराको ख्याल गर्नु पर्दछ । होइन भने संविधान टिकाउ हुन
सक्दैन । देश, काल र परिस्थिति बुझेर नेपाली हावापानी र माटो सुहाउँदो संविधान निर्माण हुनुपर्दछ । विदेशीको निर्देशन र विदेशीको अनुशरण गर्न कुनै जरुरत छैन । दोश्रो पटक संविधानसभाको निर्वाचन गरेर नेपाल विश्वमै उदाहरणीय बनेको छ । पहिलो संविधानसभाले सहमति जनाएका विषय र एजेण्डालाई निरन्तरता दिंदा विवादका विषयलाई समाधान गर्दै संविधान निर्माण गर्न संविधानसभाले सकेन भने राजनीतिक दलहरु मत्र होइन राष्ट्र नै असफल र अस्थिर रहने छ । नेपाली जनताले ज्यानको बाजी लगाएर चुनावमा भाग लिएर गरेको निर्णयलाई कदर गर्न सकिएन भने अनिष्ट र अनर्थ हुनेछ । संविधान परिवर्तनशील कुरा हो । संविधान निर्विकल्प हुनै सक्दैन । संविधान जनताले आफूमाथि शासन गर्न आफैंले सहमति गरेको दस्तावेज हो । देश र जनतालाई दीर्घकालीन आघात पुग्ने विषयवस्तु संविधानमा उल्लेख  हुनु हुँदैन । पहिचानसहितको संघीयताको दुरुपयोग पनि दिनुहुँदैन । समावेशी, समान’पातिक लोकतन्त्रलाई प्राथमिकता संविधानमा दिनुपर्छ । स्वाधिन, समृद्ध र समतामूलक नयाँ नेपाल निर्माणको एकमात्र साधन संविधान नै हो । संविधानले नै देशलाई हाँक्छ । असल नीति र असल शासनको जग संविधान नै हो । जसको नीति उसको नेतृत्व भन्ने नारा राम्रो हो तर कुशल नेतृत्व बिना यथास्थितिवादीहरुलाई दरिलो चोट दिएर अग्रगामी गतिलो बन्न सक्दैन । नेपालमा यतिखेर राजनीतिक र संवैधानिक संकट छ । राजनीतिक दलहरुले बेग्लाबेग्लै राजनीतिक एजेण्डा बोकेका छन् । जुनसुकै दलको उपयुक्त राजनीतिक एजेण्डालाई साझा एजेण्डा बनाउने र बहुमतद्वारा अस्वीकृत, असहमति, विवादित र अनुपयुक्त राजनीतिक कूटनीतिक, आर्थिक, सामाजिक एजेण्डालाई ल्याउने प्रवृत्ति विकास हुनुपर्दछ । राजनीतिक खिचलोबाट राष्ट्रले निकास, विकास र शान्ति पाउन सक्दैन । एकले अर्कोमाथि अविश्वास गरेर अरुलाई निषेध गरेर, राष्ट्र र जनतालाई फाइदा हुँदैन । राजनीतिक दलका नेताहरुमा रहेका सबै कुवुद्धिको अन्त्य भई संविधान बन्न सकोस यही नै शुभकामना । ( प्रकाशित मिति २०७० मंसिर २० गते बिहीवार
)

SHARE THIS

Author:

Facebook Comment