नेपालमा राजनीतिक समस्या छ, राजनीतिक समस्याको समाधान नभई सबै क्षेत्रमा विद्यमान कुनै पनि समस्या समाधान हुँदैन भन्ने कुरा सबैले अुनभूति गरेका नै छन् । नेपालको राजनीतिक समस्याको यात्रा कहिले नटुंगिने अवस्थमा पुगेको छ । सिंगो देश समस्याको भूमरीमा फसेको छ । देश असफल, कमजोर र भ्रष्ट बनेको छ । देशभक्त र जनताप्रति जवाफदेही नेता देखा पर्न सकेका छैनन् । नेताहरूको तुच्छ व्यक्तिगत स्वार्थ र पार्टीगत संकिर्ण स्वार्थले गर्दा देश बर्बाद भएको छ । देश लामो समयदेखि राजनीतिक अभ्यासको प्रयोगशाला बनेको छ । आजसम्म भएका सबै राजनीतिक अभ्यास देश, काल, परिस्थितिअनुकूल बन्न सकेको छैन । गलत अभ्यासले गलत परिणाम जन्माएको छ । जुन कुरा पछिल्लो समयमा नेपालको संविधान २०७२ जारीबाट पुष्टि हुन गएको छ ।
देश भावनात्मक रुपमा पहाड र मधेशमा खण्डित भएको छ । पहाडी र मधेशी राष्ट्रियताबीच चर्को द्वन्द्व कायम भएको छ । यो द्वन्द्व गृहयुद्धको संघारमा उभिएको छ । पाँच महिने मधेश आन्दोलन र कथित भारतीय आर्थिक नाकाबन्दीबाट सिंगो देशको सम्पूर्ण क्षेत्र तहसनहस भइसक्दा पनि देशका रक्षक भनिएका राजनीतिक दलहरू मेलमिलाप र एकताको साटो स्वाधीनता र जनताको स्वाभिमान समाप्त पार्ने घृणित खेलमा रमिएका छन् । यो भन्दा दुर्भाग्य र बिडम्बना के हुन सक्ला ?
के.पी. ओली नेतृत्वको सरकार एउटा कलंकित र राष्ट्रिय बोझका रुपमा देखा परेको छ । भूतले खाजा खाने बेलामा गठन भएको ओली सरकारले जग नै हँसाएको छ तर उसलाई जनताको डर र आफ्नो नालायकीपन प्रति कतिपनि लज्जा छैन । नैतिक, सैद्धान्तिक रुपमा पतित, संविधानको उल्लंघन गरी बनेको वर्तमान ओली सरकार जतिसक्दो छिटो ढल्छ त्यति नै छिटो राजनीतिक समस्यको निकास पाउन सकिने ऐना झैं छर्लङ्ग छ । राष्ट्रलाई बचाउनु छ, देशमा शान्ति, एकता र विकास कायम गर्नु छ भने समस्याको पहाडमाथि रमाइरहेको ओली सरकारलाई द्दण्ड स्वरुप ढाल्नै पर्दछ । ओली सरकार नेपाल र नेपालीका लागि आभिषाप हो ।
भारतीय नाकाबन्दीले असीमित संभावना भएको नेपाललाई शून्य अवस्थामा पुर्याएको छ । उग्रराष्ट्रवादको नारा दिएर सत्ता स्वार्थका लोभी र पापी दलका नेताहरूले आत्मसमर्पणको बाटो तय गरेका छन् । मधेशी जनतामाथि विभेद र दमन कायम राखी वर्तमान ओली सरकार र उसका सहयोगीहरूले नेपाललाई थला परेको बुढो साँढे उठ्न नसक्नेझैं गरी थला परेको अवस्थामा पुर्याएका छन् । लोभी, पापी, स्वार्थी, भ्रष्टाचारी, अराजकता र अवसरवादी दलका नेताहरूबाट देश बर्बाद हुनु बाहेक अर्को बिकल्प छैन ।
मुलुक यतिखेर कालो बादलमा रुम्मल्लिएको छ । कालो बादलमा चाँदीको घेरा देखिन्छ तर नेपालमाथि रुमल्लिएको कालो बादलमा चाँदीको घेरा छैन । कालो बादल खग्रास सूर्यग्रहणमा परिणत भएको छ । नेपाल दिउँसै अँध्यारो भएको छ । यमराजरुपी संवेदनाहीन केपी ओलीलाई सही सुझावले छोएको छैन । देशका सच्चा पहरेदार कतिपय सच्चा साहित्यकार, लेखक, संचारकर्मी, वुद्धिजीवीहरूले लिखित र मौखिक अर्ति उपदेश, ज्ञान, वुद्धि ओली सरकार समक्ष राखेका छन् तर विनाशकाले विपरित वुद्धिको दीनदशा लागेको प्रधानमन्त्री ओलीले त्यसको कुनै पर्वाह गरेका छैनन् ।
मर्न पनि नसक्ने, गर्न पनि नसक्ने अप्ठेरोमा फलेको फर्सीजस्तो प्रधानमन्त्री ओलीको पापकर्मले नेपाली जनताहरूले ऐतिहासिक रुपमा सास्ती पाइरहेका छन् । प्राकृतिक महाविपत्ति भूकम्पको पीडा भोगिरहेका नेपाली जनतालाई राजनीतिक पीडा झन अति कष्टकर बनेको छ । मधेशी जनताको आन्दोलन र भारतीय नाकाबन्दीमाथि पूर्ण दोष थुपरेर ओली सरकारले उम्कन पाउँदैन । उनलाई नैतिक दोषीका रुपमा कठोर दण्ड सजाय दिनै पर्छ ।
देशमा बहुदलीय व्यवस्था लागु भएको २६ वर्ष र गणतन्त्र स्थापना भएको १० वर्ष बितिसक्दा पनि देशलाई सही मार्ग दिशामा डोर्याउन नसक्ने वर्तमान शासन व्यवस्था म्याद गुज्रेको औषधि सरह भएको छ । जसरी म्याद गुज्रेको औषधीको सेवनले प्राणीको जीवनमा विभिन्न खाले साइड इफेक्ट्स अर्थात् नकारात्मक कुप्रभाव गर्नुका साथै मानव जीवन समाप्त पनि गरिदिन सक्ने सम्भावना बढी हुन्छ त्यसरी नै वर्तमान संघीय गणतन्त्र नामक संघीय व्यवस्था असफल र म्याद सकिएको औषधी सरह भएको छ । यसलाई धेरै दिनसम्म प्रयोगमा ल्याइयो भने मानवजीवन रुपी नेपालको अस्तित्व जोगाउन निकै समस्या पर्न सक्छ । यसतर्फ वर्तमान राजनीतिक दलहरूले बेलैमा आत्मलोचना गरी देशलाई सही मार्गमा ल्याएर शान्ति, राष्ट्रिय एकता र विकासकालागि अघि बढ्न चाहनेहरुकालागि मार्ग छोडिदिनु पर्छ । यसैमा सिंगो नेपाल र नेपालीको हित छ ।
प्रकाशन मितिः२०७२ माघ १४ गते बिहीवार