– स्वयम्भुनाथ कार्की
फेवा ताललाई जलकुम्भीले ढाकेका खबरहरु बारम्बार आउने गर्दछ । कयौं समुहले फेवाको जलकुम्भी हटाउने अभियान चलाउने गर्दछन । यस्ता प्रयत्नहरुको राष्ट्रिय स्तरका समाचारहरु बन्ने गर्दछन । जलकुम्भीले फेवाको सुन्दरता
विगारेको कुराको जोडतोडले प्रचार हुने गर्दछ । जलकुम्भी पानी जमेको हरेक जसो ठाँउमा पैदा हुने गर्दछ । यसको विकास तिव्र गतिले हुन्छ, हेर्दा हेर्दै पानीको सम्पूर्ण माथिल्लो सतह नै ढाकी दिन्छ । आफुभन्दा कयौ.गुणा धेरै र महत्वको पानीको अस्तित्वमा आफ्नो मात्र अस्तित्व छ की भनेर भ्रम पर्ने गरेर फैलने सबै स्थानको जलकुम्भीको चर्चा हुदैन न गरेर नै साध्य छ । पर्याटकिय महत्वको फेवाको सुन्दरता ढाकी दिएका कारण केवल फेवाको जलकुम्भीको मात्र चर्चा हुन्छ । कारण स्पष्ट छ, जलकुम्भीको अस्तित्वसंगको गुनासो हैन केवल सबैले देख्न पाउनु पर्ने फेवाको सुन्दरता ढाकेको प्रतिको असन्तुष्टि हो । सही व्यबस्थापन भएको अबस्थामा फेवाको अस्तित्व माथिको यो खतरा रहने छैन ।जलकुम्भी एक यस्तो वनस्पती हो जो जमेको मलिलो पानीमा फस्टाउछ । यसै गरेर शक्ति र सम्पन्नताको जमेको ठाउँमा एक थरीको प्रवृति पैदा हुन्छ, यो प्रवृतिलाई अनेक नाम
दिन सकिएला तर स्वभावको अध्ययन गर्ने हो भने यसलाई राजकुभ्मी भन्दा पनि खासै फरक पर्दैन । जसरी आफुले आश्रय लिएका जलाशयलाई सम्पुर्ण ढाकेर त्यो जलाशय भनेको नै आफै हो भन्ने भ्रम दिन्छ त्यस्तै यी राजकुम्भी पनि आफै राजा हुँ जस्तो भ्रम जनतामा दिन्छन । विगतमा जुन राजा वा राजसंस्था सम्पुर्ण जनताको साझा हुनु पर्ने थियो यी राजकुम्भीहरुको प्रकोपले जनताले ‘निर्वलको राजा वल’ भन्ने भनाई केवल कितावमा मात्र देख्न पाए । जव नेपालको राजतन्त्रमा ग्रहण लाग्यो यी राजकुम्भीहरु विस्तारै फेरी मौकामा फैलने अभिलाशा साथ शितनिन्द्रामा गए । जनताले जलाशयको निर्मल जल जस्तै राजसंस्थाको निर्मलताको झलक पाए । यसको अस्तित्वलाई जोगाउन लाग्नेको पनि संख्या वृद्धि हुदै गयो ।
राजाले एकपटक इमेज च्यानलसंगको अन्तरवार्तामा एक प्रश्नको उत्तरमा अंग्रेजीमा भनेका थिए ‘मलाई विश्वासघात भएको महशुस भएको छ’ । यो विश्वासघात कोबाट भयो त्यसको विश्लेषण यस कारणले पनि आवश्यक छैन कि विश्वासघात नजिकका र भरोसा गरिएकैबाट हुन्छ । कुना पसेका यस्ता विश्वासघातीहरु जव जनताको विनाशर्त, विना आग्रहको ममताले राजसंस्थामा फेरी विश्वासको पानी संग्रह हुन लाग्यो तँ छाड म छाड गर्दै आउन लागेका छन । आफ्ना स्वाथ्र्य र कर्ममण्यताले झण्डै झण्डै समाप्त पारेको राजसंस्था अरुका कारणले फेरी बलियो भएको उनीहरुलाई सह्य भएको छैन । जुन जनताको निर्मल प्रेमले राजसंस्थाले फेरी लोकप्रियता हासिल गर्दै छ त्यसैलाई धम्क्याउन, त्यसको तेजोहरण गर्न अनेक किसिमका भ्रमहरु फैलाउने काम गर्दैछन । जनताले आफ्नो कुरा भन्न जसलाई पनि पात्र बनाउन सक्छन भन्ने कुरा संविधानसभाको दोश्रो निर्वाचनले प्रष्ट देखाएको छ ।
राजा महेन्द्रले आफ्ना जनताको विश्वास गरे, जनताबाट भरोसा लिए । अहिले संभवत राजालाई विदेशी शक्तिको हाउगुजी देखाईएको होला, तर यो निर्वाचनको माध्यमले जनताले आफ्नो सामथ्र्यले कुनै पनि शक्तिसंग लड्न सक्ने संदेश दिएका छन । जनताले दिएको यो संदेशले विपक्षीलाई भन्दा यी राजकुम्भीलाई थर्कमान बनाएको छ । जुन राजाले हमेशा जनताको रगत नबगोस भनेर भने त्यसैको नाउमा यस्ता राजकुम्भीहरुले खोलेका छद्म नामका संगठन तथा त्यसका सैन्य कमान्डर भनेर आफ्नो उपनाम राख्नेहरु सामाजिक संजालमा ज्यान नै लिने किसिमका घम्की दिन पनि पछि परेका छैनन् । जुन जनताले आस्था गरेर, स्नेह गरेर इतिहास मै सबैभन्दा कमजोर अबस्थामा भएको राजसंस्थालाई हेरचार गरेर अहिलेको अबस्थामा ल्याए तीनैलाई आफ्ना नामबाट घम्काईएको कुरा पक्कै राजालाई थाहा छैन । उनको वरीपरी फेरी राजकुम्भीले ढाकी सकेको छ । नेपाल भर भएका आफ्ना स्नेहीलाई देख्ने माध्यम उनले पत्तै नपाई बन्द गरिएको छ ।
यो निश्चित छ कि यो आलेख बापत धम्कीको पर्रा लाग्ने छ, छद्म नामका राजकुम्भीका सेनामेनाले ओल्टोकोल्टो पारेर आक्रमण गर्ने खतरा छ भन्ने कुरा अस्विकार गर्न सकिन्न । तर यो ज्ञात तथ्य हो की यस किसिमको कुनै घटनामा राजाको सम्मती पटक्कै रहने छैन । यस्तो आक्रमणको समाचारले बरु आफ्नो नामबाट आफ्ना आस्थावानहरु माथी कस्तो व्यवहार भै रहेको छ त्यो थाहा पाउने छन कि भन्ने आशा गर्न भने सकिन्छ । आफु प्रति आस्थावान हुनेहरुलाई आफ्नै नाममा आक्रमणको क्रम रोक्न नसके फेरी फेरी कसैले किन आफु माथी आस्था राख्नु पर्छ भन्ने कुराको चित्तबुझ्दो जवाफ अब राजाले नै खोज्नु पर्ने हुन्छ । राजकुम्भी पन्छाउने जिम्मेबारी राजाको नै हो जनताले त आफ्नो भागको काम इमान्दारी पुर्वक गर्दैछन र गर्दै जानेछन । त्यसैले जनता भन्छन यी राजकुम्भीको उचित व्यबस्थापन गरियोस । एउटा पनि आस्थावान उपर यस्ता कसैले गरेको आक्रमणले जनताको राजसंस्था माथीको आस्थामा नकारात्मक असर पर्न जान्छ भन्ने कुरा बेलैमा मनन हुन आवश्यक छ । ( प्रकाशित मिति २०७० मंसिर २० गते बिहीवार )
Nepalese Rupee Exchange Rate