पर्सामा पहिलो होमस्टे


नेपाल पर्यटकीय गन्तव्य र पर्यटकीय व्यवसायको दृष्टले विश्वका राम्रो देश मध्येमा पर्दछ । नेपालको प्राकृतिक विविधताबाट लोभिएर विश्वका पर्यटकहरूको वर्षेनी ओइरो लाग्ने गर्दै आएको छ । नेपालमा आएका विश्वका पर्यटकहरू नेपालको सहरमा मात्र होइन, गाउँ वस्ती, दुर्गम, सुगम सबै ठाउँमा पुग्न रुचाउँछन् । हाम्रा घर आंगनमा आएका स्वदेशी तथा विदेशी पाहुनाको स्वागत सत्कार गर्नु नेपालीहरूको परम्परागत संस्कृति हो ।
विश्वका पर्यटकहरू गाउँघरमा आत्मियता, असल अतिथि सत्कार पाएर निकै रमाउँछन् । नेपालको गाउँघर, वस्ती, हिमाल, पहाड र तराइमा पर्यटकहरूकालागि वातावरण मैत्री छ । नयाँ कुरा हेर्ने र सिक्ने मौका पर्यटकहरूले पाउँछन् । पर्यटन (भ्रमण) पनि एउटा शिक्षा हो । नेपालमा आन्तरिक पर्यटन, त्यति फस्टाउन सकेको छैन । नेपाली जनजीवनको आर्थिक स्तर, आन्तरिक पर्यटनका लागि सक्षक भईकसकेको छैन । नेपालका गाउँघरमा होमस्टेको लहर आएको छ । पारिवारिक आनन्द होमस्टेमा लिन पाइने र स्थानीय खानाका परिकारमा रमाउन पाइने हुनाले पर्यटकहरू होटेलभन्दा होमस्टे खोज्दै हिंड्ने नयाँ संस्कृति विकास भएको छ । होमस्टेको संचालनले पर्यटनको विकासलाई निकै सघाउ पुग्ने छ । नेपालको प्रत्येक गाउँघर र वस्तीमा पृथक पृथक कुरा पाउन सकिन्छ । नेपालमा यातायात र संचार गाउँ गाउँमा पुगेको छ । पैदल यात्रा गर्ने पर्यटकको संख्या पनि छ । पर्यटकहरूलाई जति राम्रो अतिथि सत्कार गर्न सकियो त्यति पर्यटन व्यवसाय फस्टाउँदछ ।
प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण रहेको पर्साको सुवर्णपुर गाविसमा पर्साकै इतिहासमा पहिलो पटक होमस्टे सञ्चालन हुन गएको छ । होमस्टे संचालन सुवर्णपुर गाविसमा भएको सुन्दा पर्यटनप्रेमी खुशी नहुने कुरै भएन । पर्यटनको विकासले ग्रामिण क्षेत्रको मुहार उज्यालो बनाउन सहयोग मिल्दछ । सुवर्णपुरलाई गन्तव्य बनाउनकालागि स्थानीय बासिन्दाले गरेको प्रयत्न प्रशंसनीय छ । सुलाखरी मध्यवर्ती उपभोक्ता समितिको अगुवाईमा होमस्टे संचालन गरी पर्यटकहरूलाई खान, बस्न र घुम्नको सुविधा पुर्‍याउने जमर्को हुनु एउटा सकारात्मक सोंच हो । यसको निरन्तरता पाउनुपर्दछ । पर्यटकहरूलाई आकर्षित पार्न विज्ञापनको आवश्यकता पर्दछ, प्याकेज प्रोग्राम चाहिन्छ । पर्यटकले होमस्टेमा भटमास, लोकल कुखुरा, लोकल रक्सी, सेलरोटी, हरियो तरकारी, वनजंगलका स्वादिस्ट च्याउ लगायतका तरकारी, रैथाने चामलको भात, फलफूल, दूध, दहिको स्वादमा रमाउने अवसर पाउने छ । सुवर्णपुर पुग्दा जंगलको जनावर पनि अवलोकन गर्न पाइन्छ । तामाङ र थारु प्रिकार खान र तामाङ थारु संस्कृतिको अवलोकन गर्न पाइने हुनाले अहिलेसम्म पुगेका पर्यटकहरु खुशी मन लिएर फर्किएका छन् । ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकियो भने अर्थतन्त्र बलियो हुन्छ ।
प्रकाशित मिति:२०७१ असार २६ गते

SHARE THIS

Author:

Facebook Comment