मधेशी एकता जिन्दावाद

मधेश भनेको भुगोल हो । तराइ मधेश चुरे श्रृङ्खला मुनिको समथर भूभागलाई भनिन्छ । मधेशमा विभिन्न जातजाती, भाषाभाषी, धर्मको मानिस बसोबास गर्दछन् । नेपाल–भारत खुल्ला सिमाना भएकोले नेपाली मधेशी जनताहरू भारतमा कामका लागि जाने, बसोबास गर्ने, बिहावारी गर्ने, त्यस्तै भारतीहरूले पनि नेपालमा गर्दै आएका छन् ।
सन् १९५० को नेपाल–भारतबीचको असमान सन्धीले यस्तै विशेष व्यवस्था गरेको छ सोही अनुरुपको व्यवहार र गतिविधि कायम छ । नेपाल–भारत सम्बन्धमा क्रमभंग नगरी यथास्थितिमा राख्ने होभने यहि क्रमले निरन्तरता पाइरहन्छ । नेपालमा नेपालीहरू अल्पमतमा पर्ने भए भन्ने अनुमान गरिएको छ । पहाडमा बस्ने मात्र नेपाली मधेशमा बस्ने नेपाली होइन भन्ने कलुषित भावनाले मधेशप्रति घृणा र द्वैष उत्पन्न हुँदै आएको छ । भावनात्मक एकीकरण साथ सबै क्षेत्रमा समावेशी सिद्धान्त अनुरुपको व्यवहार भए सबैखाले शंका, षडयन्त्र, विभेद र अविश्वास खत्तम हुनेछ । नेपालले नयाँ संविधान अन्तर्गत सवल, सपल, समृद्ध राष्ट्र बन्ने अवसर पाउने छ ।
दुई विशाल छिमेकीबीच कुटनीतिक सन्तुलन हुनेछ । मधेशमा जारी आन्दोलन चुनौतीसँगै अवसर बनेको छ । देशको राजनीति र कूटनीति क्षेत्रमा लुकेर बसेको सबैखाले रोग, महारोग, विकृति, विसंगतिको उजागर गरेको छ । रोगको पहिचान गरी उपचार ठीक ढंगले गर्ने हो भने मधेश आन्दोलन वरदान साबित हुनेछ । आफ्नो कमि–कमजोरी, असफलता, अदूरदर्शीता, दोष लुकाउन सत्ता स्वार्थकेन्द्रित राजनीति मात्र गर्न रुचाउने एमाले काँग्रेस र एमाओवादीका नेताहरूको गलत नीति र व्यवहारको भण्डाफोर गर्ने अवसर अहिले देखा परेको छ ।
राष्ट्रघाती, विखण्डनकारी, राष्ट्रवादी को हो, को होइन भनि चिन्ने मौका अहिले मिलेको छ । मधेश आन्दोलन चर्काउन के.पी. ओली नेतृत्त्वको सरकारले मलजल गरिरहेको छ । भारत र मधेश आन्दोलनलाई एकैसाथ जोडेर राष्ट्रवादको नारा दियो भने आफ्नो शासनसत्ता, सत्ता बाँडफाँड र सत्ता भागबण्डा टिक्न र लूटको स्वर्ग कायम गर्न सकिने छ भन्ने तीन दलका गूटवादी नेताहरूको चाहना र अनुमानलाई अधिकारकालागि १०२ दिनदेखि अभूतपूर्व एकताका साथ शक्ति प्रदर्शन गरिरहेका मधेशी जनातले चकनाचुर पार्दै छन् । मधेशी एकता जिन्दावाद, मधेश एकता कायम गर्नेहरूमा धन्यवाद ।
एकतामा शक्ति छ, देशभक्ति पनि छ । राज्यको पुनर्संरचनाकालागि समानुपातिक समावेशी अधिकारकालागि मधेशमा जारी आन्दोलन न्यायोचित र देशभक्तिपूर्ण छ । मधेशी माथि पूर्वाग्रही संकीर्ण र अनुदार रहने जो कोही पनि राष्ट्रद्रोही हुन् । मधेशी जनताले नेपाली भएर नेपालको निर्माण गर्दछौं, पहाड र मधेशको पहुँच, पहिचान र प्रतिनिधित्त्व समाधान हुनुपर्दछ भन्दा के बिग्रिन गएको छ ? राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधिनतामा खलल नपुर्‍याउने गरी मधेशी जनताले आन्दोलन गर्दा ५० जना मधेशीको जारी तेश्रो मधेशी आन्दोलनमा ज्यान गइसकेको छ ।
६ महिना लागोस्, हजारौं जनता मरुन तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ मा आफ्ना जायज माग समावेश गरेर छाड्ने मधेशी जनताहरूको अठोटप्रति हाम्रो पनि दृढ समर्थन छ । बिजय हासिल गर्ने दिन एकदमै नजिक आइसकेको छ, अब मधेशी जन
ता कति पनि विचलित हुनु हुँदैन । वार्ताको टेबुलमा बसेर एकदमै लचिलो भएर मधेश र मधेशीको सर्वोत्तम हितकालागि सम्झौता गर्नु पर्दछ । मधेशीको लागि नेपाल राष्ट्रियता नै प्यारो छ ।

प्रकाशित मिति:२०७२ मंसिर १० गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment