रोपाँईको आधुनिकतन्त्र–विश वीरगंज

     देशमा सबै तन्त्र त आईसकेकै थियो एउटा रोपाँईतन्त्र बाँकी थियो त्योपनि असार १५ ले ल्याई दिएछ गाँठे । पहिला गाउँ र खेतका गरामा मात्र धूमधामले मनाईने यो रोपाँईतन्त्र शहरमापनि पसेछ बाबै । जगँलमा बस्ने स्याल शहर पसेपछि उत्पात गरे झैं अहिलेको असार १५ शहर बस्नेलाई उल्कैसँग लाग्या छ । किसानले आफ्नो पसिना चुहाएर खेतमा धान रोप्थे अहिले आधुनिक परिधानमा सजिएका युवायुवतीहरु असार १५ को दिन खेतमा धानको बिरुवा छुपछुपु गर्दै लगाईरहेका हुन्छन् । घरको करेसाबारीमा कहिल्यै खुर्पी नचलाएकाहरु खेतको गरामा गएर धान रोपेको मोडलिंग गर्छन् ।
    दुईछाक भरपेट खान नपाएका र आगँभरि लुगा लगाउन नपाका ती दुखिया किसानहरुलाई यी आधुनिक रोपाहारले लिनसम्म सातो लिएकाछन् । माटोलाई पसिनाले भिजाएर ध्यान गरेजस्तो खेतमा हो हो माले हो हो भन्दै धान रोपिरहेका किसानलाई शहरबाट उल्कापीण्ड झैं टुप्लिएका फैशनपरस्तहरुले धान रोप्दैछन् कि मान थाहा हुन्न । हाफ पाईन्ट र स्कर्टमा सजिएर तिघ्रासम्म खेतको माटोमा लुटपुटिदैं युवायुवतीहरु देशका ठूला हितचिन्तक भएका छन् । तर जतिकै हितचिन्तक भएपनि देशमा अन्नको भण्डार दिनप्रतिदिन रित्तिदैं गईरहेको छ ।
        अरुबेला दहीच्युरा खान नजुर्ने तर मानो रोपेर मुरी फलाउने आशाामा किसानहरु असार १५ गतेको बहानामा आफ्ना दुखसुख साटासाट गर्छन् । तर यिनको एकदिनको खुशीमापनि शहरीयाहरुले गिद्धे दृष्टि लगाई दिएकाछन् । अब शहरकाले सडकमै धान रोपेर दहीच्युरा र तरकारी अचारको भोज गर्न थालेकाछन् । अझ रमाईलो त के भने धान रोपेको स्वागँ गर्दै रेडिमेड मुस्कानसहितको फोटोले फेसबुक र ट्विटर भरिएको छ । स्वाभाविक रुपमा धान रोप्दा लागेको हिलोभन्दा एकअर्काको अनुहारमा हिलो पोतेर यी आधुनिक रोपाहारहरुले किसानको हुनसम्म बेईज्जती गरेकाछन् ।
    तीनलाई के थाहा समयमा राम्रोसंग वर्षा नहुँदा र आशा गरे जस्तो मुटुको टुक्रा जस्तो खेतमा रोपेको अन्न नफल्दा किसानको सिंगो वर्ष आँखाको झरीमा बित्दछ । ती किसानका कतिपय सपना तीनै खेतमा नउम्रिने गरी गाडिन्छन् । तीनले त्यसवर्ष आफ्नो घरब्यवहारलाई कसरी धान्छन् होला ? ती  एकदिन खेतमा धान रोपाँईको मोडलिंग गर्न गएका शहरीयाहरुलाई के थाहा ? जीवन मात्र हाँसखेल र ठट्ठा हैन । ती अन्नका पूजारी अन्नदाता किसानले बेलैमा आफ्नो पसिना खेतमा नचुहाउने हो भने हाम्रो खेतको भकारी रित्तै रहनेछ । ती किसानले नै खेतमा फलाएको अन्नले हाम्रो जीवनमा जोश र जाँगर भरेको छ । तर खाएर अघाएका शहरीयाहरुलाई किसानको यो परिश्रम पनि ख्यालठठ्ठा झैं भाको छ ।
    राजधानीमा असार १५ को दिन दहीच्युरा खाने बहानामा १ लाख किलो दही खपत हुन्छ । किसानले खेतमा अमिलो दही खाएर असार १५ मनाए होलान् तर उनीहरुकै नाममा शहरीयाले धूमधामले असार १५ मनाए । शहरका मान्छेले विभिन्न पर्व र जात्राहरु त मनाएकै थिए । त्यतीले नपुगेर खेत र किसानसंग जोडिएको मौलिकपर्व असार १५ लाईपनि खोस्न लागिपरेकाछन् । शहरीयाका विभिन्न पर्व र डिस्को र पर्वमा गएर गर्ने रमाईलोमा कुनै गाउँले वा किसानले आँखा लगाएका थिएनन् । तर खेतलाई पनि मोडलिंग गर्ने ऱ्याम्प झैं बनाएर त्यसमा धानडान्स गर्न आधुनिक युवायुवती लागिपरेका छन् । जबदेखि सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेको छ के पहाड के तराई सबै ठाउंमा यो दिवस मनाउने होडबाजी चलेको छ । विभिन्न जिल्ला कृषि कार्यालयहरुले यो दिन सञ्चारकर्मीलाई गाउं र खेत डुलाएर दहीच्युरा खुवाएर खुशी पार्छन् र बदलामा भोलिपल्टको पत्रिकामा समाचार र फोटो आफ्नो पक्षमा छापियोस् भन्ने आशा राख्दछन् ।
   अब सित्तैको दहीच्युरा खाएपछि दहीच्युरे जस्ता सञ्चारकर्मीले नुनको सोझो गर्ने नै भए । विशुद्ध किसानको पर्वलाई आधुनिकतन्त्रले यति गाँजेको छ कि शहरीयाहरुलाई रमाईलो गर्ने मेसो भएको छ । असार १५ गते धान रोप्दा किसानको हलो समात्दै हो हो माले गर्न गएकाहरुले खडेरी परेर धानको उत्पादन हुन नसक्दा किन कुनै किसानलाई सहानुभुति दिन पुग्दैनन् ? हरेकवर्ष अवैध रुपमा आउने भारतीय सस्तो धानसँग प्रतिष्पर्धा गर्नुपर्दा आफ्नो मेहनत र लगानी डुबेर तन र मनले खग्रँग हुदैं गएका किसानकालागि किन आवाज उठाउँंदैनन् ? सरकारले किसानलाई भारतमा जस्तै बीउ र मलमा अनुदान देओस् अनि उनीहरुको उत्पादनलाई खरिद गर्ने ग्यारेण्टी लेओस् भनेर किन कसैले असार १५ को दिन बोल्दैनन् ? असार १५ को दिन दहीच्युरे भएर दहीच्युरमा मात्र खाने हैन कि अन्न राम्रोसंग उत्पादन भएमा खेतमा गए किसानसंग गएर हर्ष बढाँई गर्ने कि ? (तस्वीर श्रोतः विभिन्न अनलाइन)
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment