अहिले देशमा अठारौं सार्क शिखर सम्मेलनको महाउत्सव चलेको छ । तर यो कस्तो महोत्सव हो जसमा मुठ्ठी भर पाहुना, तिनका आसेपासे र सरकारी संयन्त्रलाई माथ लागेको छ ? राजधानीका जनता चारदिनसम्म अघोषित कर्फयुमा बस्न बाध्य पारिएका छन् । चालू सार्क सम्मेलन सार्क सम्मेलन भन्दा मोदी सम्मेलनतिर बढी केन्द्रित छ । सार्क आठवटा देशको सम्मेलन भएपनि मोदीका कारण अन्य सातवटा देशका राष्ट्र प्रमुख र सरकार प्रमुख छाँयामा परेको भान भएको छ ।
२९ वर्षअघि स्थाप्ना भएको सार्कको लक्ष्य यस क्षेत्रबाट आतकँवाद र गरिबी हटाउनु हो । तर २९ वर्षकै दौरानमा सबैभन्दा बढी आतकँवाद मौलाएको छ । गरिबी त झन घट्नै कुरै भएन बरु गरिब घटेर जाला । २९ वर्षकै अवधिमा नेपालमा तीनवटा शासन ब्यवस्था परिवर्तन भयो । स्व. राजा विरेन्द्र को पालामा शुरु भएको सार्क सम्मेलनपछि नेपालमा बहुदल आयो, माओवादी द्धन्द्ध पनि शुरु भयो, राजाको वंश विनाश भयो अनि देशमा गणतन्त्र पनि आयो । तर सार्क ज्यूँ का त्यूँ छ यसले उपलब्धि लायक कुनै काम पनि गर्न सकेको छैन । गरिबी र आतकँको जालोमा बेरिएका यस क्षेत्रका जनता हरेक पल्टको सार्क सम्मेलनलाई नौटँकी ठानेर हेरेर बस्छन् ।
६ महिनाअघि भारतमा बिजेपी पार्टीको तर्फबाट प्रधानमन्त्रीमा सत्तासिन भएका नरेन्द्र मोदीको ठाटबाठ कुनै राजाको भन्दा कम छैन । उनी आफुलाई यस क्षेत्रको हैकमकर्ता ठानेर ब्यवहार गर्दैछन् । सार्क सम्मेलनसँगै मोदीको जनकपुर, मुक्तिनाथ र लुम्बिनी घुम्ने योजनाको जोडतोडका साथ प्रचार गरिए पनि यो टायँ टायँ फिस्स भएको छ । आन्तरिक कारण देखाएर मोदीको यो धार्मिक भ्रमण स्थगित भएपनि तराईमा देखिएको नौटँकीले देशका जनता र नेताहरु कति पानीमा छन् त्यसको पोल खोलेको छ ।
आफ्नी आमा जस्ती भएपनि राम्री र गुनिली हुन्छिन् । तर तराईका जनताले आफ्नी आमा अर्थात देशका नेता र मन्त्रीहरुको विरोध गर्दै सौतेनी आमा अर्थात भारतीय प्रधानमन्त्री मोदीको जयजयकार गर्नुले जनताको दिमागलाई कति पँगु पारिएको छ त्यो स्पष्ट हुन्छ । कहिलेकाँही विशेष अवस्था र परिस्थितिमा सौतेनी आमा पनि जाति हुन्छिन् र माया गर्छिन् तर आफ्नी जिउँदै भएको अवस्थामा सौतेनी आमाको काखमा लुटपुटिन जानु कतिको न्यायोचित र तर्कसगँत छ ? अब कुन मुखले तराईका जनताले आफुलाई राष्ट्रभक्त भन्ने र यो देशको सन्तान ठान्ने ? अनि कुन मुखले नागरिकता बनाउने ? हुन त उनीहरु मात्र दोषी छैनन् विभिन्न पार्टीका नेता, तीनले चलाएको मन्त्रीमण्डल र ब्यवस्था पनि उति नै दोषी छ । गरिबी र आतकँको मारमा परेका जनता जसले नुन खान दिन्छ उसैको गुन गाउँछन् स्वाभाविक रुपमा तराईमा नुन कसले खान दिन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो । यसमा अझ रमाइलो कुरा त के हो भने तराईमा सरकारको विरोध गरेर प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलाउने मा पार्टीका कार्यकर्ता नै अघि देखिए । भोली यी कार्यकर्ता कुन हैसियतले चुनावमा उठ्छन अनि कुन मुखले जनतासँग भोट माग्छन् ।
भारतलाई मात्र गाली गरेर, ठूलदाइको हेपाहा प्रवृति देखायो भनेर केही हुन्न । खोट नेताको चरित्रमा छ ढूलमुले नीतिमा छ । जनता पनि अब त्यति निष्पक्ष छैनन्, पार्टी विशेषको झण्डा उचालेर विरोध गर्ने जनता कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामेर कागकै पछि दगुर्ने जस्तै हुन् । मोदी कुनै महा मानव होइनन् राम्रा् प्रचार प्रसार, भारतीय ठूला उधोगपति र मीडियाको साथ पाएर जिते अनि यो क्षेत्र मा चम्के । मोदीको चमकपनि समय अनुसार फिक्का हुदैं जानेछ । मोदीले आफ्नो राष्ट्रिय हितभन्दा अगाडि नेपालको हित पक्कै
सोच्ने छैनन् । त्यसैले मोदीलाई जादुको छडी नठानेकै राम्रो ।
गत साउनमा नेपाल भ्रमणमा आएका मोदीले गौतम बुद्ध नेपालमा जन्मेको सगर्व घोषणासहित बुद्धको न्वारन गर्दा नेपालका सभासदहरु सहित सम्पूर्ण जनताले खुशीले ताली पिटेका थिए । यसपालि मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनी गएका भए बुद्धको पास्नी पनि गर्थे होलान् ? न्वारन भएको पाँच महिनापछि पास्नी गर्ने नेपाली चलन नै छ । अनि हामी सबै फेरि मक्ख पथ्र्यौ र मोदीकोलागि ताली बजाउँदै भोज खान्थेम होला ? अर्को रमाइलो कुरा यिनै मोदीले जापान भ्रमणमा गौतम बुद्ध भारतमा जन्मेको पनि सगर्व भनेका थिए । त्यसैले पत्रकारहरुले मोदीको स्तुतिगान गर्नु भन्दा बारम्बार चिप्लिने र बढी बढी बोल्ने उनको मुख र जिब्रोको बारेमा प्रश्न गर्ने कि ? ताकि यस क्षेत्रको मठाधीश बन्न खोजेका मोदीको पनि बुद्धिको बिर्को खुल्थ्यो ।
प्रकाशित मितिः२०७१मंसिर११ गते बिहीवार...