कृषि प्रधान देश कि कृषि पतन देश ?


खेती गर्दा लगानी नआउने, खेतीबाट खान नपुग्ने, खेती गर्दा दु:ख हुने सोचाई कृषि प्रधान देश भनिएको नेपालमा आएको छ । नेपालका कृषकहरू कृषिबाट धमाधम पलायन हुँदैछन् । एकातर्फ व्यवसायिक कृषिको अभियान चलेको छ अर्कोतर्फ बहुसंख्यक कृषक परम्परागत कृषि पेशाबाट अन्य विकल्पको पेशा रोज्दैछन् । गाउँबाट शहर पस्ने, शहरबाट विदेश जाने क्रम चलेको छ । कृषि प्रधान देशमा रेमिट्यान्सको
रकम भित्रिएकोमा नीति निर्माता, अर्थविद, सरकारका उच्च पदस्थ कर्मचारी खुशी हुन्छन् । कृषि उत्पादनमा ह्रास आएकोमा, कृषि संकटमा परेकोमा चिन्तित छैनन् । कृषिका लागि आवश्यक मलखाद, बिउ, कामदार सबै महंगो छ । कृषि मजदुरहरूको  अभाव हुँदै गइरहेको छ । पाँच रुपैयाँको मुर्गा–पच्चिस रुपैयाँको मसला जस्तो कृषि लगानीको अवस्था छ । जलवायु परिवर्तनका कारण मनसुन वर्षा समयमा नहुने, कृषि मजदुरको ज्याला महंगो हुनु, घर परिवारका मानिस कृषि कार्यमा सरिक नहुनु, कृषकको उत्पादनले उचित मूल्य नपाउनु, फाइदाजति विचौलियाले लिनुजस्ता कारण नेपालको कृषिमा चुनौति आएको छ । खाने मुखहरू बढ्दै जानु, खाद्ययान्नको उत्पादन घट्दै जानु, झण्डै राष्ट्रलाई आवश्यक पर्ने ७५ प्रतिशत खाद्यान्न विदेशबाट आयात गरिनुले कृषि प्रधान देश भन्नुको औचित्य अब रहेन । कृषि क्रान्ति ल्याउने सरकार र राजनीतिक दलहरूको भनाई हास्यास्पद साबित हुन थालेको छ । व्यवसायिक खेतीका नाममा विदेशी राष्ट्रले सरकारलाई दिएको ऋण र अनुदान पनि दुरुपयोग भएको छ । अहिलेसम्मको लेखाजोखा गर्ने हो भने “कृषिमा लगानी बालुवामा पानी” बनेको छ । कृषि पेशामा मात्र आश्रित कृषकहरूको अवस्था अत्यन्तै नाजुक छ । खेतालाहरूले ज्याला चर्को लिने तर इमान्दारितापूर्वक निर्धारित समयमा श्रम नगर्ने गलत प्रवृत्ति पनि बढ्दै गएको छ । कृषि क्षेत्रमा प्रबल संभावना छ । खेतबारी बाँझो छाडेर अन्य पेशाको खोजिमा हिंड्ने प्रवृत्ति बढेको छ । सरकारले खेतीयोग्य जमीन खाली नै राख्न नपाउने, घरघडेरीकालागि भनेर ओगटेको जग्गामा पनि खेती लगाउनैपर्ने नीति ल्याउनुपर्छ । जुन ठाउँमा जे उत्पादन हुन्छ त्यस ठाउँमा त्यहि कृषि व्यवसाय गरी कृषि भूमिको सदुपयोग गर्ने, बनमारा झारले कृषि भूमि ढाक्न नदिने, कम्पोष्ट मलको उत्पादन बढाउने, रासायनिक मल र विषादीको प्रयोग न्यूनिकरण गर्ने नीतिलाई व्यवहारमा लागु गर्नु पर्दछ, तबमात्र कृषि प्रधान देशका कृषकहरूलाभान्वित हुन सक्दछन् । भेडा बाख्रा पालन, गाईभैंसी पालन, बंगुरपालन, कुखुरा पालन नेपालमा फस्टाएको व्यवसाय हो । पशुधनको बीमा अनिवार्य गरी कुनै महामारी रोगले कृषकको क्षति भएमा क्षतिपूर्ति सरकारले दिने व्यवस्था हुनु पर्दछ । विचौलियाले कृषक र उपभोक्तालाई ठग्ने वातावरण पूर्ण रुपमा हटाइनु पर्दछ । कृषक पतनको देश हुन नदिन कृषिलाई प्राथमिकता दिन जरुरी छ ।
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment