
विगत करिव दुई दशकदेखि नेपालीले पाएका यस्ता शुभचिन्तक तथा दाताहरुको सहयोग पाएका छन् । अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु, विदेशी सहयोग नियोगहरु, अन्तराष्ट्रिय एजेन्सीहरु यस्तो सहयोग गर्दा नेपाल सरकारसंग केको आवश्यकता छ भनेर सोध्दैन, जनतालाई केको अभाव छ भनेर सोध्दैन । आफ्नो प्रधान कार्यालयमा नेपालको नक्सा हेरेर आफुले कहाँ कहाँ के के दिने भनेर निर्णय गर्दछ । त्यस पछि नेपालका राजनैतिक दल, संघसंस्था, संचार माध्यम आदिलाई हाम्रो फलाना ठाँउमा फलाना कुरा दिने विचार छ भनेर भन्छ । दिनरात एक गरेर निश्चित ठाँउमा निश्चित कुराको माग पैदा गर्न स्वयंसेवकहरु खट्छन्, नागरिक समाज भनिन रुचाउने डिग्रीधारीहरु खट्छन्, पत्रकारहरु खट्छन् । मुल्यांकन कसले दिईएको कुराको माग कति कम समयमा कति तिव्र रुपमा पैदा गर्न सक्यो त्यसको आधारमा हुन्छ । कति परियोजनाहरु कुन कुन स्थानमा संचालन गरिएको छ भन्ने कुराको जानकारी समेत नेपालको वैधानिक भनिएको सरकारलाई दिन उनीहरू आवश्यक ठान्दैनन् भने पूर्व स्विकृति , लागत तथा त्यसको लेखा परिक्षणको त कल्पना पनि अपराध हो । जसले यो अपराध गर्दछ त्यो सत्ताच्यूत हुन्छ नै, किनभने दलका तल्ला स्तरका कार्यकर्तालाई त्यही दलको जिल्ला नेताले चिन्दैन तर यस्ता संस्था, नियोगले सर्वसाधारणलाई प्रभावमा लिएको हुन्छ ।
यहाँ नेर झलक्क हेर्दा अत्यन्त उचित लाग्ने एक आपत्ति आउन सक्छ । मुलुकमा केही आई रहेको छ, नेपालीले केही पाई नै रहेका छन् भने यो केको टाउको दुखाई हो ? यस्तो विकास विरोधी र प्रतिगामी कुरा पनि गर्ने हो ? यही आपत्ति नै नेपालीको निमित्त सबैभन्दा ठुलो आपत्ति जनाउनु पर्ने बिषय हो । यत्रो साधनश्रोत खर्च गरेर, यत्रो शिप कौशल लगाएर अनि प्रत्यक्ष सरकारलाई मनाएर तपस्या सरहको यो काम किन यस्ता अन्तराष्ट्रिय गैर सरकारी संस्था, विदेशी सहयोग नियोगहरु गर्देछन त ? के परोपकार गर्ने वा धर्म कमाउने उदेश्य हो त ? उनिहरुको कुनै लुकेको स्वाथ्र्य नेपाल जस्तो मुलुकमा के हुन सक्छ त ? बग्रेल्ती उब्वने यी प्रश्नको उत्तर कठिन छैन जव यो तथ्य सामुन्ने आउछ कि उनीहरुको यो कृपा दृष्टि नेपालमा मात्र छैन । विश्वमा धेरै मुलुकमा उनीहरुको यो कृपा दृष्टि छ, र ती मुलुकहरुमा केही समान तत्वहरु पनि छन् । यो समानतामा पहिलो तत्व हो त्यो मुलुकको जनघनत्व धेरै हुनु ।
थोरै क्षेत्रफलमा धेरै आवादी हुनु नै उनीहरुको यो विषेश कृपादृष्टि प्राप्त गर्ने प्रमुख योग्यता देखिन्छ । अझ त्यस माथि प्रयोग नभएको वातावरणमा सकारात्मक भूमिका खेल्ने प्राकृतिक सम्पदा छ भने त त्यो मुलुक अति नै प्राथमिकतामा पर्ने गर्दछ । वास्तवमा भन्ने हो भने यो उनीहरुको कृपा विल्कुलै हैन बरु एक कुटिल चाल हो । विश्वको तीन चौथाई आवादी एक चौथाई भूभागमा छन्, अनि एक चौथाई आवादी तीन चौथाई भूभागमा । यो तीन चौथाई भू–भागका बासिन्दाले आफ्नो प्राकृतिक संपदा यस्तो किसिमले दोहन गरिसके की अहिलेको विश्व वातावरण असंतुलन त्यही दोहनको कारणले भएको छ । एक चौथाई भूभाग कथित विकासको अभावले आफ्नो प्राकृतिक साधनको दोहन गर्न असफल रह्यो । अहिले त्यही भुभागको कारणले मात्र वातावरण थामिएको छ । विश्व सम्पूर्ण विश्वका मानवको साझा हो भन्ने सोचलाई रोक्न पनि आवश्यक छ, आफ्ना उत्पादनलाई सस्तो ज्यामी आपुर्तीकर्ता र विस्तृत बजार पनि कायम नै राख्नु परेको छ । अनि आफुले दोहन गरेजस्तो त्यो एक चौथाई भूभागले पनि प्रकृतिको दोहन नगरोस भनेर रोक्नु परेको छ ।
नमागेका थुप्रै कुरा पाएर आक्रन्त भएको नेपाली जनताले के नै पो मागेको छ र ? थिचोमिचो र अन्यायबाट मुक्त समाज अर्थात शोषण रहित समाज । आफ्नो कुल परंपराको सम्मान र शान्तिले बाँच्न पाउने चहाना अर्थात शान्तिपूर्ण सहअस्तित्व । धनी र गरिव बिचको फरकको अन्तर सांगुरो अर्थात वर्गसमन्वय । सम्मानपूर्वक स्वदेश मै जीविकोपार्जनको अवसर अर्थात स्वावलमवन । आफ्नो ठाँउ मै आफु समेत संलग्न भएर मुलुकको निमित्त गर्न पाउने मौका अर्थात शासनको केन्द्रिकरणको अन्त्य । आफ्नो कामको निमित्त कुनै प्रभावशालिको चाकरी गर्नु पर्ने रिझाउनु पर्ने अवस्थाको अन्त्य अर्थात नागरिक अधिकारको बहाली । यी कुराहरु जति जति नमागी सहयोग दिने बढ्दै जादैछन् त्यति त्यति नै टाढा हुदैछन् । हातको ज्यावल खोसेर भिखको कटौरा दिने यस्तो सहयोग हामीलाई चाहिन्न भन्न पनि जनता सक्दैन, किन भने उसका अगुवाहरु निरन्तर पढाइृ रहेका छन “सित्तैमा पाएको अलकत्रा पनि खान छोड्नु हुन्न है ” । यो कटौरा लैजाउ र हाम्रो ज्यावल हामीलाई फिर्ता गर भन्न पनि सक्दैन, किन भने दाताको मर्जी त्यो छैन । उसलाई त नेपालीलाई नै खटाएर गरेको उत्पादन नेपालीलाई नै बेचेर नाफा कमाउनु छ । नेपाली जनताले आखिर त्यत्रो अनुचित केनै पो मागेको छ र ?
– विराटनगर १ www.facebook.com/swayambhukarki प्रकाशित मिति:२०७१ असार १२ गते बिहीवार