निजी वनमा लगानी गर्न हौसिए ब्यापारी– बिम्मी शर्मा


वीरगंज/पर्सा–बारा औधोगिक करिडोरका केही उद्योगी व्यवसायीले लगानीको नयाँ क्षेत्रका रुपमा वनमा लगानि गर्नेतर्फ आकर्षित भएका छन् । कम समयमा बढी आम्दानी हुनुका साथै पर्यावरण बचाउनपनि सक्दो योगदान दिने मनसायका साथ यहाँका उद्योगी व्यवसायीहरु यसतर्फ तानिएका छन् । उद्योगले भविष्यका लागि ओगटेर राखेका जग्गामै विभिन्न जातिका  रुख रोपेर लगानी र आम्दानीको नयां स्रोत वीरगंजका व्यापारीहरुले पत्ता लगाएका हुन् । पर्सा बारामा रहेका उद्योगहरुको खाली जग्गालाई सदुपयोग गर्नकालागि पनि वनतर्फ चासो बढेको यहाँका उद्योगी व्यवसायीहरुको भनाई छ ।
    निजी वन सरोकारवाला महासंघसंग आबद्ध उद्यमी हरि गौतम चुरेको विनासबाट नेपालको दक्षिण क्षेत्र जोखिममा परेकोले यसलाई जोगाउन वनतर्फ निजि क्षेत्रलाई लगानिकालागि आकर्षित गनुपर्ने बताउँछन् । नेपालका ८३ प्रतिशत जनता अहिलेपनि कषिमा आश्रित रहेकोले वन क्षेत्रलाई फैलाउन र यसबाट फाईदा लिनमा ढिलाई गर्न नहुने गौतको भनाई छ । गौतमले परवानीपुर स्थित आफ्नो फार्ममा २ हजार यूकलिप्टस् र लहरे पिपलको बिरुवा लगाएका छन् ।
    ५ वर्षमा हुर्केर रुखबनेपछि यिनले व्यापारीहरुलाई ४ दोब्बर फाईदा दिने गौतम बताउंछन् । शुरु वातमा यी बिरुवाहरुलाई रोप्न र हुर्काउन प्रति बिरुवा ४ सय रुपैंया खर्च हुन्छ । ५ वर्षपछि यी हुर्केका प्रत्येक विरुवाबाट २ हजार रुपैंया फाईदा लिन सकिने गौतमले बताए । भारतको उत्तराञ्चलको रुद्रपुर मा रहेको आईटिसीको फार्मबाट यी बिरुवाहरु ल्याइएका हुन् । पर्सामा सबैभन्दा बढी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य विजय सरावगीले सबैभन्दा बढी ३० हजार बिरुवा लगाएका छन् ।
        सरावगीले पर्साको पचरुखी गाविसमा रहेको आफ्नो २० बिघा जमिनमा यूकलिप्टस्का बरुवा लगाएकाछन् । यी बिरुवाहरुमा उनले १ करोडको लगानी गरेका छन्  । सरावगीको बिचारमा नेपालमा धानखेति गरेर फाईदा  छैन, विभिन्न जातिका बिरुवालाई रोपेर हुर्काइदिएपछि ती रुखहरु आम्दानीको राम्रो स्रोत बन्ने उनको ठम्याई छ ।  दाउराको आवश्यक्ता र प्रदूषण नियन्त्रणकोलागि पनि वनमा लगानि गरियो भने त्यसले भविष्यमा राम्रो प्रतिफल दिने सरावगी बताउंछन् । सरावगीको बिचारमा भर्खरै पशुधन बीमा शुरु गरेकारले वनतर्फको बीमा गर्न सरकारले सहयोग गरेमा रुख रोप्न र वन तर्फको लगानीमा अझ बढी उद्योगी व्यवसायीहरु आकर्षित हुनसक्छन् । सरावगीले ढल्केवरमापनि सवा बिघा जमिनमा ३ हजार यूक्लिप्टसको बिरुवा लगाएकाछन् ।
   त्यस्तै केडिया अर्गनाईजेशनका निर्देशक तथा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीप केडियाले पनि परवानीपुर स्थित सुन्दर स्टिल फर्निचर उद्योगको खाली जग्गामा २ सय बिरुवा लगाएका छन् । अत्यन्त कम खर्चमा वनतर्फ गरिएको यो लगानिबाट हौसिएर केडिया आँखा अस्पतालको खालि जग्गामापनि रुख रोप्ने बताउंछन् । केडिया बिस्तारै पर्सामै रहेको आफ्नो ७ बिघा जमिनमा रुख रोपेर त्यसबाट आम्दानी गर्ने आफ्नो योजना बताउंछन् । केडिया वनमा गरिएको लगानीले वातावरणलाई प्रदुषित हुनबाट जोगाउनुका साथै आर्थिक फाईदापनि दिने भएकोले यो खेर नजाने तर्क गर्छन् ।
    रुद्रपुरबाट तीन लाख बिरुवा ल्याउने योजना रहेकोमा अहिलेसम्म यहाँका केही उद्योगी ब्यवसायीले  ७० हजार विभिन्न रुखका विरुवा आम्दानीकालागि लगाईसकेका छन् । यूकिलिप्टिस, टीक, लहरे पिपल, अर्जुन र उत्तिसको बोटको बिरुवा लगाएर पाँचवर्षपछि ५ दोब्बर आम्दानी हुने भएकोले अहिले वनमा लगानि ब्यापारीहरुकोलागि आकर्षण बनेको छ । पर्सा, बारा र महोत्तरीको ढल्केबरमा रुख रोपेर निजी वनका रुपमा प्रवद्र्धन गर्न लागिएको गौतमले बताए ।  भारतको रुद्रपुरमा ठूला व्यापारिक समूहले निजी वनका माध्यमबाट मनग्ये आर्जन गरेको देखेपछि पर्सा बाराका स्थानीय उद्योगी ब्यवसायीपनि यसतर्फ थप आकर्षित भएका हुन् ।  
   वनमा लगानि गर्न हौसिएका उद्योगी व्यवसायी एक बिघा क्षेत्रफलमा १ हजार ५ सय देखि २ हजार वटा बिरुवा रोप्न सकिने बताउंछन् । युकिलिप्टसको रुख प्लाइउड बनाउनकालागि चाहिने कच्चा पदार्थ र यसको पातबाट निस्किने रस आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ ।  पर्सा, वारामा रहेका उद्योगको खालि जग्गामा छोटो समयमै हुकिर्ने र बिक्री गर्न सकिने  बिरुवा रोपेर आम्दानीका साथै पर्यावरण पनि संरक्षण गर्न सकिनेमा यहाँका उद्योगी व्यवसायी विश्वस्त देखिन्छन् ।
उद्योग परिसरभित्र रहेका  ६० प्रतिशत जग्गा प्रयोगबिहीन रहेकोले सो जग्गालाई उपयोगमा ल्याउन रुख रोप्न थालिएको आशिष राईस मिलका सञ्चालक गणेशप्रसाद लाठ बताउंछन् । लाठले पनि आफ्नो चामल उद्योगको खालि जग्गामा २ सय बिरुवा लगाएका छन् । त्यस्तै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार वैधले पनि वारामा रहेको आफ्नो शालिमार सिमेन्ट उद्योगको खालि जग्गामा रुख रोपेकाछन् । अध्यक्ष वैद्यपनि पर्यावरणतर्फ सचेत निजि क्षेत्रले वनमा लगानि गर्न हात हालेको बताउंछन् । वैद्य भन्छन् ‘यसबाट दोहोरो फाईदा छ अहिलेको कम लगानिमा ५ वर्षपछि राम्रो आम्दानी तथा प्रदुषणपनि नियन्त्रण हुने भएकाले निजिक्षेत्रले वनमा लगानि गर्न चाहेको हो ।’
    वन पैदावारमाथि भइरहेको अत्यधिक दोहनलाई  नियन्त्रण गर्नकालागि व्यवसायीक निजी वनको प्रवद्र्धन गर्नकालागि निजी क्षेत्रले सरकारसँग आग्रह गरेको गौतम बताउँछन् । अहिलेको मन्त्रीमण्डलमा वनको बारेमा बुझेका र चासो लिने वनमन्त्री नियुक्त गरिएकोले आफुहरु निजि वनको प्रवद्र्धनमा सरकार सकारात्मक हुनेमा आशावादी भएको गौतम बताउंछन् । वनमन्त्री महेश आचार्यसंग भेटेर यसबारेमा गौतमले अवगत गराईसकेका छन् । परम्परागत निजी वनको साटो छोटो समयमै आम्दानी दिने व्यवसायिक निजी वनको अवधारणालाई सघाउन निजि क्षेत्रले सरकारलाई आग्रह गरेको छ ।
     फार्म हाउस, उद्योग परिसर र बञ्जर जमिनमा व्यवसायिक रुपमा रुख रोपेर लहरेपिपल, यूकलिप्टस्, तेजपात, कदम, लोठसल्लो, अर्जुन, टीकका रुखले ५ वर्षमा आम्दानी दिन्छ । केही वर्षअघि आधुनिक कृषि केन्द्र स्थापना गरेर ब्यवसायिक रुपमा रुख खेति गरेका वीरगंजका उद्यमी ओमप्रकाश सिकारिया भने अनुसारको प्रतिफल प्राप्त नभएपछि निराश भएका थिए । अब फेरि सिकारिया पनि यसतर्फ आकर्षित भएका छन् । उनले पनि खालि जग्गामा बकाईनोको रुख रोपेकाछन् । सीमरास्थित सूर्य टोबाको कम्पनीले पनि निजि वनको अवधारणा अनुरुप आफ्नो खालि जग्गामा  रुख रोप्न थालेको गौतम जानकारी दिन्छन् ।
     तर वीरगंजका एक पाका र अनुभवी उद्योगीले भने निजि क्षेत्रले वनतर्फ गरेको लगानिलाई बर्खे भेल झैं ठानेकाछन् । ती उद्योगीका बिचारमा निजि क्षेत्रले कस्तो खालको जमिन र जलवायुमा कुन प्रकारको बिरुवा लगाउंदा फाईदा हुन्छ भन्ने नबुझेर नै लहडको भरमा रुख रोपेकाछन् जुन पछिगएर उनीहरुकैलागि प्रत्युत्पादक हुनेछ । यूकलिप्टसले जमिनको सतहमा भएको पानी जम्मै सोस्नुका साथै यसको र लहरे पिपलको रुखको जरा जमिनको तलसम्म नगएकोले यो बलियो हुदैंन । जसलेगर्दा ठूलो आँधीबेहरीमा यी रुखहरु चाँडै ढल्छन् । प्रकाशित मिति:२०७१ असार १२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment