– बिम्मी शर्मा

वीरगंज/छिटफुट सानोतिनो काम गर्दै किराना पसल खोलेका ३५ वर्षीय प्रेमचन्द्र यादवले त्यो व्यापारपनि असफल भएपछि दुध व्यवसायमा हात हाले । डेढवर्षअघि आफुसंग भएको ३ लाख रुपैंयाले यादवले दुईवटा गाईबाट दुध उत्पादन शुरु गरे । उनलाई गाईपालन ब्यवसाय फाफ्यो । अहिले उनले गाई पालन गरेर र दुध बिक्री गरेर मासिक डेढदेखि दुईलाख आम्दानी गर्छन् । यादव भन्छन् ‘सबै खर्च कटाएर मैले महिनामा ४० देखि ५० हजार रुपैंया नाफा गरिरहेको छु । ’

पर्साको हरपतगंज गाविस निवासी यादवले वीरगंजको अशोकवाटिकामा–१३ मा खोलेको श्री कृष्ण गौतम ट्रेडर्स नामक डेरी उद्योगमा अहिले ३५ वटा उन्नत जातका गाई छन् । भारतको उत्तर प्रदेशबाट नेपाली एक, एक लाख रुपैंया मूल्य पर्ने गाई उनले खरिद गरेर आफ्नो डेरीमा ल्याएका छन् । दैनिक डेढ क्विण्टल दुध उत्पादन गर्ने गरेको बताउँछन् । एसएलसी उतीर्ण यादव आफ्नो पेशाबाट सुखी र खुशी देखिन्छन् । आफ्ना नातेदार र साथीभाइहरु अरब मुलुकमा गएर दुख पाईरहेकोमा यादव आफुलाई देशमै बसेर पौरख गर्ने भाग्यमानी ठान्दछन् । उनी साथीहरुले फोनमा कुरा गर्दा त्यहीं बस, यहाँ आएर झनै दुख पाईन्छ भनेको सम्झदै अगाडि बताउंछन्, ‘दुईटा छोराछोरीलाई बोर्डिड्डमा पढाएको छु, घर खर्च राम्रो सँग धानिएको छ, तीनजालाई आफ्नो डेरीमा रोजगार पनि दिएको छु । अरु यो भन्दा बढी के चाहियो र ?’


गतवर्षको माघदेखि सरकारले शुरु गरेको पशुधन बीमापनि यादवले गराएकाछन् । अहिलेसम्म चारवटा गाईको बीमा गराईसकेका यादवले त्यसमध्ये एउटा गाई अरुले खरिद गर्न ढिपी गरेपछि बिक्री गर्न बाध्य भएको सुनाउंछन् । उनले पब्लिक डेभलपमेण्ट बैंकबाट १५ लाख रुपैंया कर्जा लिएर आफ्नो डेरी उद्योगलाई बिस्तार गरेकाछन् । उनी उन्नत जातका यी गाईहरु ब्याएपछि अरुलाई बिक्री गरेर पनि थप आम्दानी गर्छन् । गाईको गोबरमात्र उनी मासिक ७ हजारभन्दा बढीको बिक्री गर्छन् । खेतमा मल को रुपमा प्रयोग हुने गोबरको बिक्रीबाट गाईको आहारा किन्न भरथेग हुने यादवको भनाई छ । गाईको आहारामा मात्रै महिनाको ६५ हजार रुपैंया खर्च हुनेगरेको गादवले बताए ।
अरुको ५ कठ्ठा जति खालि जग्गा लिजमा लिएर गाईपालन शुरु गरेका यादवले आफनो खेतमापनि यही गाईको मल प्रयोग गर्छन् । हरपतगञ्जबाट दैनिक मोटरसाईकलमा आउजाउ गर्ने यादवको अहिले गाईपालनमा लगानि २५ लाखभन्दा बढी छ । उनले पालेका गाईहरु प्रत्येकले दैनिक २० लिटर दुध दिन्छन् । प्रकाशित मिति:२०७१ असार १२ गते बिहीवार
SHARE THIS