नेपालीहरू जानीबुझिकन कुशासनको बाटोमा


नेपाली राष्ट्रियता, नेपाली नागरिकता भएका नेपालको हिमाल, पहाड र तराइमा बस्ने प्रत्येक नेपालीले मन र ह्दयमा मेरो देश मेरो तराई मधेश भन्ने भावना राख्नु पर्दछ । तराई मधेश नेपालको अभिन्न भूभाग हो । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । हिमाल, पहाड, तराई कोही छैन पराई, सैयौं थुंगा फूलका हामी एउटै माला नेपाली यसै भनिएको होइन । हिमाल, पहाड र तराईमा एउटै जात, एउटै धर्म, एउटै पहिरनका मानिस छैनन् । जात, धर्म र संस्कृतिमा विविधता छ । अनेकतामा एकता नेपालीहरूको विशेषता, गर्व र गौरव हो । नेपालमा ठूला ठूला आन्दोलन भए तर शोष, दमन, उत्पीडन, विभेद अन्त्य हुन सकेन । न्याय र समानता कायम हुन सकेन । राष्ट्रियता सवल र सफल हुन सकेन । नेपालको पछिल्लो संविधान २०७२ ले पनि नेपालीहरूको इच्छा, आकांक्षा, चाहना, माग र राष्ट्रको आवश्यकता बमोजिमको भावनात्मक एकीकरण र द्वन्द्व व्यवस्थापन गर्न सकेन । गुटगत स्वार्थ, व्यक्तिगत स्वार्थ, अवसरवादी चरित्र, असक्षम अयोग्य नेतृत्वबाट नेपाल मुक्त हुन सकेन । मेरो देश मेरो तराइ मधेश भन्ने भावनामा समेत आँच आयो । भइरहेको एकता समेतमा खलल पर्‍यो । एक भूभागमा बस्ने नेपाली र अर्को भूभागमा बस्ने नेपालीहरूका बीच विश्वासको संकट बढ्यो । एक आपसमा तुष पलायो । संविधान र देशलाई असफल बनाउने काम सत्ता स्वार्थमा केन्द्रित राजनीतिक दलहरूबाट भइरहेको छ । नेपाली–नेपालीबच अन्तर्संघर्ष चर्किएको छ । विकास निर्माण ठप्प भएको छ । सत्ताशीन राजनीतिक दलहरूमा राष्ट्र समाज निर्माण गर्ने कुनै सफल योजना र नीति छैन । उनीहरू भत्काउन सक्ने, बनाउन नसक्ने पात्र बनेका छन् । उनीहरूले सुखभोग, पारिवारिक सुखभोग गरेर आम नेपाली जनतालाई रुवाइरहेका छन् । महाभूकम्पले झैं देशलाई छियाछिया पारिएको छ । राजनीतिक बेमेलले देश अशान्त र अराजकताको दिशातर्फ बिना स्टेयरी·को गाडी झैं ओरालोतिर खसिरहेको छ । ठूलो राजनीतिक दुर्घटना गृहयुद्ध हुने र जनधनको ऐतिहासिक क्षति हुने सम्भावना बढेको छ ।

नेपालका राजनीतकिा शीर्ष नेताहरूलाई नेपाली हावा, पानी र माटो, देश, काल र परिस्थितिले साथ दिएको छैन जसले गर्दा पूण्य भन्दा पाप र अपराध बढीरहेको छ । यत्र–तत्र–सर्वत्रभ्रष्टाचार र दूराचार छ । नेपाली आदर्श, नैतिकता, अनुशासनमा ठूलो ह्रास आएको छ । असक्षम नेतृत्व भ्रष्ट, अयोग्य नेतृत्वले कदापी राष्ट्र निर्माण र शान्ति बहाली गर्न सक्दैन । नेपालको संविधान २०७२ को उपहार स्वरुप पाँच महिनासम्म तराइमा आम हड्ताल, भारतीय नाकाबन्दी, अभाव, हत्या, हिंसा भयो । शासक, प्रशासकलाई मस्ती भएपनि आम जनताले सास्ती खाए ।

सरकार छ, सहारा छ भन्ने अनुभूति कहिं कतै भएन । जसोतसो देश र जनता चलिरहेका छन् । विकास र समृद्धिको संभावना प्रवल भएको देश निर्वल, अनिष्टकारी नेतृत्वको कारण दूर्भाग्य र बिडम्बनामा फसेको छ । सही दिशा, सही कर्ममा राजनीतिक दलहरु नहिंडेका र अन्यायका विरुद्ध भनिएका जनसंघर्ष आफैं न्यायपूर्ण नदेखिएकोले आजसम्मको परिवर्तनको उपलब्धी शून्य छ । सामाजिक, आर्थिक रुपान्तरणका अभियानले गति लिएको छैन । देशमा राजनीतिक रमिता छ जसले नेपालीहरूलाई निरास र उदासिन बनाएको छ । देशबाट उद्यमशीलता, सिर्जनशीलता हराएको छ । युवाहरूमा देश नै खाली गर्ने गरी वैदेशिक रोजगारीमा जाने होडबाजी चलिरहेको छ । समस्या नै समस्याको पर्खालले घेरिएको नेपालमा समाधान गर्ने उचित उपाय केही छैन । नेपालीहरू एक आपसमा मिलेर विद्यमान समस्याको समाधानको सट्टा विदेशी निर्देशन, विदेशी हस्तक्षेप, विदेशी चिन्तनलाई स्वीकार गरिरहेका छन् । जानीबुझिकन हामी नेपाली कुशासनको कुवाटोमा हिंडिरहेका छौं ।

तराई मधेशको आन्दोलनले राम्रा, नराम्रा धेरै पाठ सिकाइरहेको छ । देशको हरेक क्षेत्रमा उथल–पुथल ल्याएको छ । तराई–मधेश आन्दोलन एउटा गहिरो खाल्डो बनेको छ । यो खाल्डोबाट देशलाई उम्काउन सक्ने राजनीतिक पहल नेपालीहरूकै आपसी मेलमिलाप र पहलमा भयो भने मात्र देशमा सुख–शान्ति र विकास सम्भव छ ।

(प्रकाशन मितिः २०७२ फागुन २८ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment