"रजस्वलाका चार दिन बार्दा महिलाको प्रगति नै अवरूद्ध भएको हो त ?"

–डा. मतिप्रसाद ढकाल


तपाईंहरूले महिला रजस्वला हुँदा बार्नु हुन्छ कि हुँदैन ? मलाई थाहा छैन तर मैले ४ दिन बार्नुपर्छ भन्ने मान्यता राख्छु र व्यवहारमा पनि मैले अझसम्म बार्दै आएको छु । मेरी श्रीमतीले पनि हालसम्म ४ दिन बार्दै आएकी छन् ।

आजकल मैले धेरै महिलाहरूमा सकेसम्म बार्न नपरे हुन्थ्यो भन्ने सोचको विकास हुँदै आएको देखेको छु तर नबार्दा केस्ता फाइदा हुन्छन् र बार्दा केकस्तो हानि हुन्छ ? भन्ने बारेमा दुवै दृष्टिकोणले विवेकसम्मत विचार गर्न कुनै पनि महिला वा पुरुष अग्रसर नहुँदा बार्नु हुँदैन र बार्नुपर्छ भन्ने अतिवादी दृष्टिकोणहरू हाम्रो समाजमा विकसित हुँदै गएका छन् ।

प्रथमेहनि चाण्डाल द्वितीये ब्रह्मघातिनी तृतीये रजकी प्रोक्ता चतुर्थेहनि शुद्ध्यति भनेर चौंथो दिन शुद्ध हुने कुराको उल्लेख हाम्रो हिन्दु संस्कारमा भएको पाइन्छ । गर्भधारणका लागि पनि आठौं दिनदेखि सोह्रौं दिनसम्म उपयुक्त मानिएको छ । सम दिनमा छोरा र विषम दिनमा छोरीको गर्भ रहने कुरा हाम्रै पुराणहरूमा पढ्न पाइन्छ ।

रजस्वला हुनु नारीको प्राकृतिक नियम हो र रजस्वला भएका चार दिनमा कसैको गर्भधारण भयो भने त्यसबाट कस्तो प्रकृतिको सन्तान जन्मन्छ भन्ने बारेमा बार्दै नबार्ने महिला वा पुरुषहरूले नै विचार गरेका होलान् । चार दिनसम्म महिलाहरू मानसिक रूपमा पनि अशक्त भएका हुन्छन् र उनीहरूलाई आरामको आवश्यकता हुन्छ तर बार्दै नबार्ने सोच भएका कामासक्त महिला वा पुरुषले त्यसबीचमा समागम गरे भने महिलामा कस्तो पीडा होला भन्ने बारेमा विचार पुर्याउनु जरुरी छ ।

चार दिन खाना पकाउन अल्छी मान्ने पुरुषहरूले नबार्दा राम्रो ठान्लान् अनि चार दिन पनि एउटै बिस्तारा छोड्न नपाए हुन्थ्यो भन्ने महिलाका लागि पनि नबार्दा तत्काल प्रेम प्रगाढ भइरहेको जस्तो लाग्ला तर त्यसले पार्ने दीर्घकालीन दुष्प्रभावबारे समयमै सचेत हुनु आवश्यक छ ।

हामी पुराना मान्यतालाई पनि वैज्ञानिक तरिकाले बुझ्न प्रयत्न नगर्ने र आधुनिक हुने नाममा पाश्चात्य संस्कृतिलाई पनि पूर्णतः वरण गर्न नसकेकी पुङमाङ भइसकेका छौं भन्ने कुरा कसले बुझाइदिने हो थाहा छैन । छाउपडी प्रथाले निम्त्याएका दुष्प्रभावप्रति सचेत हुनु अपरिहार्य हुँदै हो तर त्यसलाई नै आधार बनाएर सर्वत्र रजस्वलाका नियमलाई पूर्णतः बहिष्कार गर्नु मेरा विचारमा उपयुक्त देखिँदैन । एनजिओ र आइएनजिओका भत्ता पचाउनका लागि मात्रै कार्यक्रम आयोजना गर्नु भिन्नै कुरा हो तर हाम्रो संस्कारका बारेमा गम्भीर नहुने हो र त्यसमा पनि लक्ष्मीका प्रतीक नारीहरू नै त्यसप्रति संवेदनशील नभइदिने हो भने हाम्रो पहिचान बुझाउन भोलि कुनै विदेशीहरू अवश्य पनि आउने दिन नजिकिँदै छ ।

यसै सन्दर्भमा मैले पाँच वर्षअघि राष्ट्रिय अभिलेखालयमा रहेर अनुसन्धान गरिरहेका बेला एकजना जापान गएर फर्केका मित्रले सुनाएको कुरा निकै मननीय छ । एकजना जापानी महिलाले नेपालीले लगाउने विभिन्न रङका टीकाका बारेमा अनुसन्धान गर्दै रहिछन् । उनले नेपालबाट गएका मित्रलाई 'तिमीहरूले कालो टीका किन लगाउँछौ ?' भनेर सोधिछन् तर मेरा ती मित्रले हवन गरेर बाहुनबाजेले लगाइदिन्छन् तर त्यसको कुनै अर्थ थाहा छैन भन्दा ती जापानी महिलाले नेपालीले लगाउने सबै प्रकारका टीकाको वैदिकमात्र होइन पौराणिक र वैज्ञानिक कारणसमेत दिँदा नेपाली मित्र लज्जित भएछन् ।

 आज एनजिओ र आइएनजिओका भत्ता पचाउने नाममा गरिने नेपाली संस्कृति र सभ्यतामाथिकै प्रहारमूलक कार्यक्रममाथि हामी नेपालीहरू बेलैमा सचेत हुन सकेनौं भने हाम्रो अस्तित्व पनि गुम्नेछ अनि हाम्रो गुमेको संस्कृति र सभ्यता पढाउन विदेशीहरू नै नेपाल आउनुपर्ने वा हाम्रा सन्ततिहरू नै विदेश जानुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

(ढकालको फेसबुक पोष्टबाट साभार)

SHARE THIS

Author:

Facebook Comment