सबै क्षेत्रलाई नेपाल र सबैलाई नेपाली माने माग बुझिन्छ

–स्वयम्भुनाथ कार्की

संविधान लागु गरेदेखि तीन दलका नेता र हुकुम तामिल गर्न स्वागत जुलुस गर्ने कार्यकर्ताहरुको एउटै कुरा सुनिन्छ ‘संविधानमा कहाँ मधेश र मधेशीलाई अन्याय भएको छ ? बताउनुस ’ ।  यो अभिव्यक्ति नै एक नेपालीले अर्को नेपालीलाई हेपेको मानसिकता हो । यसकोलागि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, नेकपा एमालेका माधव नेपाल र माओवादीका अध्यक्ष प्रचण्डसाग भएको २२ बुंदे र ८ बुंदे सम्झौताको दस्तावेज पल्टाएर हेरे हुन्छ ।
 नेपाली नेपालीमा छालाको रंङ्ग, बोल्ने भाषा, लगाउने लुगाले फरक गर्न खोजिन्छ भने त्यो नेपालको संविधान २०७२ को अपमान हो । संविधानमा धारा ३मा ‘राष्ट्र : बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ भनिसकेपछि मधेश र मधेशीलाई यो दिएँ भन्नु के उचित हो त ?

टोपी लगाउने वित्तिकै नेपाली हुने र धोती लगाउने वित्तिकै नेपाली नहुने सोच नै असन्तोषको मुहान हो । लोकतन्त्रको जप गर्ने र एक नेपाली भएर अर्को नेपाली संग कुरा गर्न पराइको मद्दत माग्ने कुरा के उचित हो ? महिनौ देखि अशान्तिको ज्वालामा परेको आफ्नै मुलुकको भागमा वर्दी र हतियार सहितका सैनिक उतारेर सेना परिचालन भएको छैन भनेर झुटो बोलेर समस्या बुझ्न सकिन्न । जनताले आफ्नो असन्तोष एक, दुई, तीन भनेर गिन्ती गराएर पुग्ने भएको भए आन्दोलन हुनुपर्ने आवश्यकता नै थिएन ।

संविधानको स्वागतमा निस्केकाहरुले असन्तोषको कालोझण्डा लिएर बसेका उपर जाई लाग्ने अवस्था किन आयो भन्ने कुरा तिमीहरुलाई कहाँ अन्याय भएको छ भन्नेहरुले दिनु पर्ने जवाफ हो । असन्तोष र आक्रोसले भरिएको नागरिक माथि राज्यशक्तिको मात्र हैन कार्यकर्ताको पनि थिचाई गरेर कस्तो समाधान खोजिएको हो ? यसको उत्तर राज्यसंचालन गर्ने नेतृत्वले दिन पर्ने जिम्मेवारी हो, त्यो जिम्मेवारीबाट भागेर के सावित गर्न खोजिएको हो त्यो स्पष्ट गरिनु पर्दछ ।

सबैका सबै आकांक्षा पुरा हुन सक्दैनन, यो शाश्वत सत्यसंग अपरिचित कोही छैन । तर नागरिकको सुचनाको अधिकार सुरक्षित गर्‍यौ भन्नेहरुले यी कुराहरु यसकारणले पुरा हुन सक्दैनन् भनेर नागरिकहरु सामुन्ने आएर भन्ने हिमत नगर्नुले नै परिस्थिति विकराल हुँदै गएको नदेख्नेहरुले नेतृत्व गर्छु भनेर भन्नु उचित हैन । दुई दिनमा मुलुकका सबै भागमा पुगेर संविधानको मस्यौदामा सुझाव संकलन गर्न सक्ने संयन्त्र हुँदाहुँदै असन्तोष प्रकट भएको यत्रो समय हुन्जेल पनि माग नै प्रष्ट भएन भनेर भन्नु आफ्नै नालायकीपनको प्रचार हो ।

ऋाफ्ना नागरिकसंग आफ्नै भूमिमा समस्या बुझ्ने र त्यसको समाधानका उपाय गर्न तत्पर नहुने प्रवृति देखाएर सारा संसारलाई यो समस्याको शान्तिपूर्ण हल गर भनेर भन्ने अवसर दिनुलाई राष्ट्रवाद भन्न सकिन्न । जसरी राष्ट्र हुनलाई बहुजात, बहुभाषा,बहुधर्म, बहुसांस्कृति, भौगोलिक विविधताले रोकेन त्यसै गरेर राष्ट्रवादी हुन पनि यी कुराले रोक्दैन । राष्ट्रवादी र राष्ट्रघाती दुवै कुनैपनि जात, क्षेत्र आदिमा हुन सक्छन । विषेश जात, विषेश क्षेत्रका राष्ट्रवादी हुन अरु हैनन भन्ने मानसिकता कालरात्री नाम दिईएको पञ्चायतको वेलामा त थिएन, थियो भनेपनि प्रकट भएको थिएन ।

मुलुकको विभिन्न भाग अशान्त रहन दिएर त्यहाँ संगिनको वलले शान्ति स्थापना गर्न खोजेर विदेशी हस्तक्षेप निम्त्याउने काम राष्ट्रवाद हुन सक्दैन । आफ्ना स्वदेशी बन्धुहरुसंग सुखदु:ख साटासाट गर्न आउने हिम्मत एक इमान्दार राष्ट्रप्ेरमीको परिचय हो । पचास लाखको लोभले ज्यान फाल्न उद्यत भएको जस्ता अभिव्यक्ति गैर जिम्मेवारी र अमानविय हुन । जसलाई पैसाको निमित्त मान्छेले ज्यान फाल्न सक्छ भन्ने लाग्छ उसले भन्न सक्नु पर्‍यो कति लाख वा कति करोडमा ऊ आफै ज्यान फाल्न सक्छ ?

‘रात रहे अग्राख पलाए’ भनिन्छ । शुरुमा असन्तोष बुझ्न नखोज्दा प्रतिपल थप असन्तोषका कारणहरु पैदा हुँदै जान्छन । स्थिति झन विकट हुँदै जान्छ, समाधानका उपाय कम हुँदै जान्छ । बहुमतको दावी गर्नेहरुले त्यो बहुमत बन्दकोठामा मात्र हैन मैदानमा पनि देखाउनु पर्दछ । लाठी र बन्दुकले बहुमत देखाउने हैन असन्तुष्टहरुको चित्त बुझाए तिनीहरुलाई पनि साथ लिएर देखाउनु पर्दछ ।

जनताको चेतनास्तरलाई अवहेलना गरिनु हुन्न । सबै कुरा प्रष्टसंग सामुन्ने राखिने हो भने उचित विवशता जनताले पनि बुझ्छ उसले पनि साथ दिन्छ । जसरी मागलाई उचित र अनुचितमा बाँढ्न सकिन्छ त्यसै गरेर नेतृत्वका सिमा र विवशतालाई पनि उचित र अनुचितमा भाग लगाउन सकिन्छ । नेतृत्व यदि साँच्चैको नेतृत्व हो भने अशान्त स्थानलाई शान्त गराउन आउनु पर्दछ । एक मात्र शर्त हो, नेपालका सबै क्षेत्रलाई नेपाल नै र सबैलाई नेपाली भानेर आउनु पर्छ , समाधान सहज छ ।

विराटनगर–१
प्रकाशन मितिः२०७२ असाेज ७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment