विपत: अतिमानवहरु चिन्ने समय


– स्वयम्भुनाथ कार्की
सामान्य अवस्थामा भन्दा विपतको अवस्थामा हरेक घटना, अनुभूति आदिको असर फरक हुन्छ । महाविपत्तिले बहुदा मानविय भावको प्रवर्धन गर्ने गर्दछ । समाजमा भएको र थप हुनसक्ने मानविय, भौतिक, मानसिक क्षतिको असर कम गर्ने वा हुनबाट रोक्न सामान्य मानिस स्वत परिचालित हुने गर्दछ । यस्तो अवस्थामा आङ्खनो पद , शक्ति वा सामाजिक हैसियतको उपयोग शान देखाउन भन्दा विपत्तिसंग भिड्न प्रयोग हुने गर्दछ । ‘नियम कानून मानवको निमित्त हो मानव नियम कानूनको निमित्त हैन ’ भन्ने भावले विपत्तिको अवस्थामा प्रधानता पाउने गर्दछ । तर समाज केवल सामान्य मानवले मात्र बनेको हुँदैन, यसमा अत्यन्त दुर्लभ हुने महामानव पनि हुन सक्छन अनि सामान्य भन्दा फरक ‘अतिमानव ’ पनि । अतिमानवहरुको संख्या उल्लेख्य हुन्छ भन्ने कुरा पचाउन सहज नभए पनि यो वास्तविकता हो ।

सामान्य मानव बिचमा कोहि महामानव रह्यो भने त्यसले मानव समाजमा सकरात्मक तरंगहरु पैदा गर्दछ । यसको विपरित अतिमानवले समाजमा हमेशा नकारात्मक तरंगहरु पैदा गरिरहेको हुन्छ । यस्ता तरंगहरु सामान्य अवस्थामा सर्वथा उचित लाग्ने गर्दछन । समाजमा शिर्ष अस्तित्व बनाउन पनि सफल हुन्छन । अरुबेला यस्ता अतिमानव चिन्न अत्यन्त दुष्कर हुन्छ । तर विपत्तिको समयमा अतिमानवहरु प्रष्ट चिनिने हुन्छ । सर्बसाधारणले धेरै पुरानो कुरा याद राख्ने गर्दैन, यहि कमजोरीलाई आधार बनाएर जस्तोसूकै पनि आफुलाई लाभदायक हुने काम गर्न उनिहरुलाई हिचकिचाहट हुँदैन । संकटापन्न अवस्था जुनवेला मानव समाजको भलाइको निमित्त सबै कुरा भुल्नु पर्ने हुन्छ त्यसवेला पनि तात्कालिन समयमा अस्थायी अयोग्य भएका नियमहरुको कडाईसाथ पालन गर्ने अतिमानवहरु हुन्छन ।

उदाहरणको निमित्त वर्तमान संकटको समयमा उद्धार गरेर ल्याईएका घाईतेको तुरन्त उपचार पहिलो आवश्यकता हो । कुनै नियमको खानापुर्तिमा समय खर्च नगरेर उपचारलाई प्राथमिकता दिंदा बच्नसक्ने ज्यान नियम पालनको औपचारिकतमा जान पनि सक्छ भनेर सोच्न नसक्ने वा नचाहाने केवत अतिमानव नै हुन सक्छ । अतिमानवहरुको निमित्त समाजलाई परेको संकट वा विपत्ति नाम, दाम कमाउने अवसर हुने गर्दछ । मान्छेबाट गल्ती हुन सक्छ, बेलामा बुद्धि नपुग्न सक्छ वा कुनै कुरा क्षमता बाहिरको पनि हुन सक्छ । यो कुरा स्विकार गर्दा हानी कम र लाभ ज्यादा हुन्छ । किनभने आफुलाई सर्वगुण सम्पन्न नै सावित गर्ने होडमा गल्ती, कमजोरी अर्काको थाप्लोमा हाल्ने वा बहाना खोज्नेले शतप्रतिशत अनुभवबाट सिक्दैन, फेरी अर्को मौकामा त्यहि चरित्र देखाउछ । तर जो आङ्खनो गल्ती कमजोरी स्विकार गर्छ त्यसले भरसक भविष्यमा त्यही गल्ती दोहोर्‍याउदैन ।

यो महाभुकम्पको विनाशलिलामा समाजले यस्ता थुप्रै अतिमानवहरु चिन्न पाएको छ । यस्ता अतिमानवहरुले विपत्तिमा मल्हम लगाउने भन्दा अझ नुनचुक छर्ने काम गरेका छन । अप्रिय कुरामा मानव समाजको स्मरण शक्ति अन्यन्त कमजोर छ वा सम्झेर पनि क्षमादान गर्नसक्ने उदारमना छ । समाजको यहि चरित्र नै यस्ता अतिमानवहरुको कवच हो, संख्या बढने कारक पनि हो । अतिमानव सामान्य मानवमा घुलमिल हुनु नै विपत्तिको असर कयौ गुण बढ्ने कारण हो । त्यसैले अब अतिमानवहरुलाई सामान्य मानवको समाजले स्पष्ट बुझाउनु पर्दछ कि तपाईहरु र हामी एकै होईनौ त्यसैले तपाईहरु हाम्रो समाजको हिस्सा हैन । यसको निमित्त कुनै गालिको सजायको आवश्यकता छैन, त्यसै पनि उनिहरुले आङ्खनो स्वभाव र चरित्रले उत्तम भनेको काम गरेको हो । केवल अतिमानवको उपस्थिति मानव समाजले धान्न नसकेको मात्र हो । आगो चुल्हो इत्यादिमा मात्र लाभदायक हुन्छ अनियंत्रितरुपमा वस्तिमा फैलियो भने ठिक हुँदैन त्यसै गरेर अतिमानव सर्बसाधारणको समाज भन्दा बहिर मात्र ठिक हुन्छन ।

यो विपत्तिको अवसरमा समाजले आफुभित्र भएका अतिमानवहरु चिनेर भविष्यमा उनिहरुबाट आफुलाई अलग राख्नु पर्दछ । भविष्यमा समाजका हरेक सदस्यले अरुले के गर्दछन भन्ने परवाह नगरी आफुले चिनेका ‘अतिमानव’हरुको संसर्गबाट अलग बसेपुग्छ । अतिमानवहरुको कुनै पनि निमन्त्रण अस्विकार गर्ने, उनिहरुको उपस्थितिको कार्यक्रममा संलग्न नहुने वा उनिहरुको संलग्न कुनै पनि संचार सामाग्री नसुन्ने नहेर्ने मात्र गर्ने हो भने प्रयाप्त हुन्छ । चिनेर पनि अतिमानवलाई आङ्खनो समाजमा संलग्न गराउनु भनेको गोजीमा बिषालु सर्प बोकेर हिंड्नु सरह हो जसले मौका पाउने वित्तिकै डस्छ नै । यसमा त्यो सर्पको कुनै दोष छैन । त्यस्तै यो विपत्तिको समयमा समाजलाई थप पिडित गर्ने अतिमानवको कुनै दोष छैन, चिनेर पनि आफुसाथ राख्ने समाजको नै दोष हो ।

यो महाविपत्तिलाई अवसर ठानेर सहायताको निमित्त आएको त्रिपाल बेच्ने वा घर गुमाएको टाउकोमा छतकोरुपमा भन्दा भुइमा विछ्याएर रमाइलो गर्न कामलाग्छ भनेर लैजाने दुवै अतिमानव हुन । एकातिर भोकै भएकालाई नहेरी टनौ खाद्यसामाग्री गोदामा कुहाएर खाल्टोमा पुर्न सक्ने बलिया मन भएकाहरु पनि अतिमानव नै हुन । विपत्तिमा परेकालाई आङ्खनो माध्यमबाट मात्रै सहायता गर्न पाइन्छ भनेर नियमको अड्डि लिनेलाई अतिमानव नभनेर के भन्ने ? तुरन्त विपत्तिको पिडा कम गर्न उद्यत हुनुपर्ने जिम्मेवारीमा रहेकाहरु आपसमा भागवण्डाको महत्वपूर्ण काममा व्यस्त हुनसक्ने भैर्य राख्छन भने ती  अतिमानव नै हुन सक्छन । ‘ट्रमा सेन्टर’मा तुरन्त उपचारको साटो खानापुरी भएन भनेर कसैलाई मर्न दिनसक्ने मानव हैन अतिमानव नै हुन सक्छ । राहतको नाममा सुविधा लिएर व्यापारीक सामान आयात गरेर आङ्खनो फाइदा गर्ने हिम्मत अतिमानवमा मात्र हुन्छ । त्यसैले अहिले सबैले आफुले देखे चिनेका अतिमानवहरु अरुलाई पनि चिनाउनु पर्दछ । वहाँहरुले देखाउनु भएको अतिमानको लक्षण पनि सबैलाई जानकारी गराउनु पर्दछ । वहाँहरुलाई गाली गर्नु सुधार्न खोज्नु बेकार छ किनभने अतिमानवको पहिलो विषेशता नै कसैको परवाह नगर्नु हो ।

विराटनगर १
 प्रकाशित मितीः २०७२।१।३१


SHARE THIS

Author:

Facebook Comment