भुईचालोले हल्लाएको मन

–स्वयम्भुनाथ कार्की

मलाई डर लाग्दैन भनें भने त्यो दम्भ हुन्छ । तै पनि सत्य कुरा के हो भने तीनवटा कुरासंग डर लाग्दैन , जम्काभेट हुँदा तात्कालिन डर हुने र त्यससंग बच्न गरिने उपक्रमलाई डर नमान्ने हो भने । ती तीन कुरा हुन मृत्यु, चट्याङ्ग र भुईचालो ।

          यो निर्भयतामा सहास वा बहादुरीको कुनै भुमिका छैन, बरु यो विवशता र निरिहताको उपज हो । किनभने यी तीन कुराबाट कोही केहि गरे पनि बच्न सक्दैन । मृत्यु जितेर मृत्युञ्जय भएको कोही छैन । हो, सनातनीहरुले अष्ट चिरंजीवि भनेर आठजनालाई अमर मानेका छन ( १. मारकण्ड्य २. वली ३. व्यास ४. हनुमान ५. विभिषण ६. कृपाचार्य ७. परशुराम ८. अश्वस्थामा ) । तर यी मध्ये सबै सुकर्मले चिरंजीवि भएका भने होईनन ।

          जन्मदै गर्न सकिने शतप्रतिशत सहि भविष्यवाणी यही हो कि त्यो मर्छ । त्यसैले अज्ञात भविष्यको गर्भमा भएको मृत्युसंग म मात्र होईन कोही डराउदैन । नडराउनुको कारण स्पष्ट छ, किनकी यो टार्न सकिदैन । त्यस्तै टार्न नसकिने कुरा हो चट्याङ्ग र भुईचालो , यसबाट बच्न संयोग नै चाहिन्छ । तै पनि अन्य प्रकृतिक विपत्तीले गर्ने ज्यानधनको भन्दा यी दुईले गर्ने हानी तुलनात्मक रुपमा न्यून छ ।11272008_1006323556045115_1236154528_n

          यहाँनेर केहि भाग्यवाद सोच नै आउने गर्दछ , चट्याङ्गले साथै रहेकामा कसैको प्राण हरण गरेको र कसैलाई खोश्रे वरावर पनि चोट नलागेको उदाहरणहरु प्रसस्त भेटिन्छन । त्यसै गरेर यो महिना दिन भन्दा धेरै वितिसक्दा पनि हल्लाउन नछोडेको भुईचालोका अनेकौ प्रसंग आए अझै अनेकौ प्रसंग आउने नै छन । जसमा भाग्यले बचाउन खोजेको उच्च खतरामा पनि सकुशल र मार्न खोजेको उच्च सुरक्षमा पनि मरेका उदाहरणहरु भेटिने छन ।


         यसैले मनमा डर पालेर बसेर नियत मृत्यु समय भन्दा पहिले पलपल मृत्यु संग साक्षात्कार गर्नु भन्दा जे पर्छ त्यही टर्छ भनेर सामान्य दिनचर्या तिर फर्कनु विवशता र निरिहताले पैदा गरेको सहास हो । जो स्विकार नगर्नाले पछिका पराकम्पन भनिएका भुईचालोमा हृदयघात भएर जीवन गुमाएको उदाहरण पनि सामुन्ने आउन थलेका छन ।

          यो भुईचालोमा कम्पाउण्ड पर्खालको अतिरिक्त बैठक घरको भित्तो भत्किने विराटनगरमा अहिलेसम्मको मेरो जानकारीमा म एक्लै हुँ । जुन घर यसभन्दा केहि बर्ष अगाडी आएको भुकम्पले पछि केहि भै हालेमा आश्रयस्थल होस भन्ने कामनाले बनाईएको थियो , हरेक भित्तो हल्लाएर जाँचिएको थियो तै पनि भत्क्यो । हल्लेर त केहि हुने थिएन तर त्यहाँ राखेको सोफा कम बेडको अडेसो फुस्केर सोफाबाट बेड हुने क्रममा भित्तोमा हिर्काउन पुगेर भत्क्यो ।

          नब्बेसालको भुईचालोले टसमस गर्न नसकेको मेरो हजुरबुवाको हजुरवुवा सिंहवीरले बनाएको म जन्मेको भोजपुरको पुस्तौनी घर पनि भत्केछ । यो घरसंग मेरो भौतिक मोह नभए पनि आत्मिक मोह छ, मेरो पुख्यौली धरोहर थियो , नेपालीको नाताले घरहरा ढलेको पिडा छ भने मेरो पुख्यौली इतिहासको साँछि ढलेको पिडा पनि थपिएको छ ।

          हो भुईचालोले मन हल्लिएको छ , साथै मेरा युवा मित्रहरु (संभवत मेरा छोराका समवय) आफ्नो हानी र पिडालाई वेवास्ता गरेर अरु काम नै छोडेर आर्त वान्धवहरुलाई सकेको मध्दत गर्न लाग्नुले मन त केहि थामियो नै तर उहाहरुको काममा केहि सघाउन असमर्थ हुँदा ग्लानी पनि महसुस भएको छ । तै पनि आफुले सकेको स्तरमा अरुको मनबाट डर हटाउने अनि काम गरेकाहरुको उत्साह बढाउने कर्तव्य निश्चित गरेर प्रयत्नसम्म त गरियो ।

          यसैक्रममा कसैको नराम्रो कामको पनि विरोध नगर्ने । जसले यस उद्धारकाक्रममा देखिएका अमानविय प्रवृतिलाई औल्याईएन । अहिले यसले म आफैलाई अपराध बोध भै रहेको छ , गलतीलाई सुध्रने मौका दिनु र अमानविय कुराको सशक्त विरोध नगर्नु एकै कुरा होइन रहेछ । यो पाप मबाट भयो, हुनत मेरो विरोधले केहि गर्ने थिएन होला तर रोक्ने प्रयत्न नगरेको आत्मग्लानी त हुने थिएन । हे नेपाल आमा मलाई क्षमा गरिदिनुस ।11304360_1006323622711775_1252531148_n



SHARE THIS

Author:

Facebook Comment