अरबपति र अरबमा भएका पति

–स्वयम्भुनाथ कार्की
दलिय पद्धतिको पुर्नवहालीदेखि वर्तमानको अन्तरिम गणतन्त्रसम्ममा नेपालका प्राय जसो सबै घरमा अरबपति छन् । सिमित घर सम्पत्ति अरबौ पुर्याकएर अरबपति छन् भने सबैजसो घर पति अरब पुर्याछएर अरब भएका पतिवाला घर छन् । यहाँ अरबमा भएका भनेर केवल अरबलाई भनिएको हैन, वैदेशिक रोजगारीका हरेक गन्तव्यलाई सामुहिकरुपमा अरबको उपमा दिईएको हो । पति भन्नाले साधारणतया विवाहित पुरुष जनाउँछ तर यस आलेखमा विवाह भएका, अविवाहित महिला तथा पुरुषलाई पति भनेर सम्बोधित गरिएको छ । कारण, परम्परागत सोचका अनुसार पतिले बाहिरको काम गरेर जीविकोपार्जनको निमित्त धनको प्रबन्ध गर्ने र पत्नीले उपलब्ध साधनश्रोतमा घरको प्रवन्धन गर्ने हो । जसरी अरबौ सम्पत्तिको स्वामिनी कोही महिला भएपनि तीनलाई अरबपति नै भन्ने चलन छ त्यसै गरेर वैदेशिक रोजगारीबाट घरको जिम्मेवारी वहन गर्नेलाई अरब भएका पति भनिएको हो । यो कुनै लंैगिक विभेदको निमित्त प्रयोग गरिएको शब्द होईन ।
समाजमा धनी गरिव हुन्छन्, विभिन्न वर्ग हुन्छन्, बलिया निर्धा हुन्छन् । कुनै कारखानामा ढालिएका पुतला जस्तो एकनासका प्राणी पनि सम्भव छैन भने पृथ्वीमा आफ्नो बुुद्धिले एक छत्र प्रभुत्व कमाएको मान्छेको समाजमा विभिन्नता हुनु प्राकृतिक कुराहो । आफ्नो शोषण विरुद्ध आन्दोलित भएका सर्वहारा मजदुरको आन्दोलनलाई वैचारिक धरातल दिएर राजनैतिक दर्शनको रुप दिन कार्लमाक्र्स र फ्रेडरिक ऐगेल्सले पहिलो कम्यूनिष्ट पार्टीको घोषणा पत्र लेखेको पौने दुईसय बर्ष पुग्ने बेला हुदैछ । वर्गविहिन समाजको उच्चरुप साम्यवाद परिकल्पना गरिएको यो दर्शनको विश्वका विभिन्न मुलुकहरुमा विभिन्न प्रकारले अभ्यास भएका छन् । तर वर्गविहिन समाजको छनकसम्म पनि देखा परेको छैन । त्यसैले यो शास्वत सत्य स्विकार गरिनै पर्छ की मानव समाज कहिल्यै पनि वर्ग विहिन हुन सक्दैन । त्यसैले वर्ग विचको फरकको खाडल कम गर्नु नै समानता तर्फ, सबैको भलोको तर्फको कदम हो । जति यो खाडल चौडा हुँदै जान्छ समाजमा थोरै अरवपति र धेरै अरव भएका पति पैदा हुँदै जान्छन् । अग्रगमन भनिएका परिवर्तनहरुको देखिएको नतिजा यहि हो की मुलुकमा अरव हुने खरव पति हुँदै जादैछन्, लाख हुने खाक पति हुदै जादैछन् । यसरी अरब भएका पतिहरुको संख्या दिन दुइ गुणा र रात चौगुनाको दरले बढदैछ ।
तथ्यांकहरु पनि बडो रमाइलो खेल देखाउछन । दलिय पद्धति पुनर्वहाली हुनु भन्दा पहिलेको दाँजोमा मुलुकमा प्रशस्त उद्योगहरु खुलेका छन् । कुल गार्हस्थ्य उत्पादन बढेको छ । प्रति व्यक्ति औसत आय पनि टन्नै बढेको छ । मुलुकका विकट भन्दा विकट स्थानमा पनि “मनी ट्रान्फर” खुलेका छन । अधिकांश युवाहरु अहिले साइकलमा हैन मोटरसाइकलमा हुँइकिन्छ । यस्ता सकारात्मक आर्थिक सुचक हुँदाहुदै पनि गाँउका गाँउ बलियाबाङ्गा विहिन किन बनेको छ ? श्रम गर्न सक्ने जनशक्ति किन अरब भएका पति बन्न विवश छ ? आफुले सहजरुपमा पाउनु पर्ने स्थानिय साधनश्रोत माथिको अग्राधिकार, आफ्नो कुल परम्पराको चिनारी माग्न किन उग्र कुरा गर्नु परेको छ ? हिजोसम्म सुखदुख बरावर साटेका छिमेकीहरु किन आज एक अर्कालाई गाली गलौज गर्दे पानी बाराबार गर्दै छन् ? यी प्रश्नका उत्तर दुरुह लाग्न सक्छन् तर सहज छन्, केवल एक कारण हो, वर्ग विहिन समाजको परिकल्पनामा वर्गसमन्वयको मिठास भुलियो । धेरैलाई पूूजिपतिलाई गाली गर्न लगाएर, उनीहरुको विरुद्ध वर्गसंघर्षको नाममा ज्यान अर्पण गर्न लगाएर स्वयं ती पूँूजिपति सरहको हैसियतमा पुग्ने धुत्याईलाई रणनैतिक कौशल मान्न जनता तैयार हुनु ।
मुलुकका अनेक नामधारी अगुवाहरुमा एक अनौठो डर पसेको छ । मुलुकको ढुँगे युगको अस्तित्वको विवेचन गर्छन्, मध्य युगको विवेचन गर्छन् । त्यो मुलुकमा थियो भन्ने स्विकार गर्न कुनै आइतवार पर्दैन । तर विचको समयलाई केवल कालरात्री भनेर त्यसको विवेचन गर्न तैयार हुँदैनन् । यदि त्यो विवेचन गर्न तैयार भए यी अर्थतन्त्रका सकारात्मक सुचकहरुका भ्रम चिरिन्छन्, आफुले जनता झुक्याएको उजागर हुन्छ । त्यसैले बरु अनेक बहानामा पहिले सुखदुख बराबर गर्नेहरुका विचमा पानी बाराबार गराउन सक्यो भने मात्र आफ्नो वर्चश्व रहन्छ । सत्य हो वियर उद्योग बढेका छन, अजिनोमोटो प्रमुख मसला भएका चाउचाउ उद्योग बढेका छन् । बाहिरबाट क्लिंकर ल्याएर वनाइने सिमेन्ट उद्योग त यसै कालमा आएका हुन । पहिलेका उद्योग भने घाट पुगे । कृषि औजार कारखाना, चोभारको सिमेन्ट कारखाना, बाँसवारी छालाजुत्ता, हेटौडा कपडा, गोरखकाली टायर जस्ता आधारभूत उद्योगहरुको थलो किलो पत्तो नहुने भई सकेको छ ।
एक डेढ रुपैया किलो पाइने धान बीस रुपैया किलो नाघ्नु, पचहत्तर पैसा युनिट विजुली नौ रुपैया पुग्नु जस्ता पैसाको अबमूल्यन जति हुन्छ त्यति नै कुल गार्हस्थ्य उत्पादनको अंक बढछ । एक निम्नस्तरको कमाइले पहिले पनि परिवार पाल्न धा–ैधौ हुन्थ्यो अहिले सजिलो भएको छैन बरु झन अफ्ठ्यारो भएको छ । तर यो आर्थिक सुचांकको आधार हुँदैन । गन्दमा दुइ अंक नाध्न मुस्किल पर्ने मध्ये एकको मात्र आय नजोड्ने हो भने पनि प्रति व्यक्ति औसत आयमा कमी आउँछ भने सरदर मुलुकवासीको प्रतिव्यक्ति औसत आय बढेको छ कि घटेको छ ? त्यसको विवेचन आवश्यक छ र ? “मनी ट्रान्फर”को व्यापार फस्टाउनु भनेको मुलुकको उर्जाशील जनशक्तिको उर्जा मुलुकले नपाउनु हो । यो सबै कुरा जनतासंग यस कारण लुकेको छ की अगुवाहरु तुरन्त पहिलेको कालखण्ड नै थिएन भन्ने भ्रम छर्न सफल भएका छन् । वर्गसमन्वय गरेर सबै मिलेर उन्नति प्रगति तर्फ लाग्नु पर्ने जनतालाई वर्गसंघर्षको नारा दिएर एक अर्काको उछित्तो कढाएका छन् । स्वयं आफु भने जुन वर्गको नेतृत्व गरेको छ त्यसैले पाउने अधिकारले विदेश भ्रमण, मान प्रतिष्ठा जस्ता फाइदा लिएर बसेका छन् । त्यसैले अरबपति र अरबमा भएका पति बिचको फरक कम गर्ने हो भने साधन वर्ग संघर्ष हैन वर्ग समन्वय हो ।
–विराटनगर १
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment