असन्तोषको कारक मलाई बन्नु छैन

-प्रशान्त महासागर

आज देश, देश जस्तो छैन । सहर, कुनै रहर पोख्ने नहर जस्तै बनेको छ भने गाउँको अवस्था अनि परिस्थिति पनि विस्तारी उजाड हुँदा नि रम्न थालेको छ जसको कारण एक युगमा एक दिनको कुरा लगभग अब असम्भव नै हो भन्ने कुरालाई सावितमा सबै जुटेकै छन् । यहाँ अबका दिनहरुमा कसैलाई विकास र उन्नतिको खाँचो छैन कारण ऊ आफैंमा सक्षम र विकसित छन् । उसलाई आम्दानीले भन्दा नि खर्चले रुपान्तरित गर्दै लगी रहेको अवस्था छ । उसका दुई पाईलामा एउटाले पूर्वको बाटो रोज्छ भने अर्कोले पश्चिमको । त्यस्तै दुई आँखाको सवालमा एकले दक्षिण हेर्दै रमेको छ भने अर्को उत्तरको अनुशरण लागेको छ । अनि निष्कर्षमा आफैंले के देखे, के पाए भन्ने कुरामा भ्रमित हुँदै जीवन घिसार्नमै रमेको अवशेषहरु धेरै छन् ।


समय र परिवेशले म वीचको मान्छे, म जस्तै अरु पनि धेरै होला । यसमा विवाद रोज्नु छैन् मलाई भन्नुको अर्थमा एक पाथी धान, एक पैसामा मेरा बाजेहरुले खाएर गए, एउटा समय त्यो थियो भने अर्को जुन मैले एक सयमा एक पाथी चामल देख्न छोडे त मेरा सन्ततीले त्यही चामल त्यही खेतको एक माना पनि खान नसक्ने कुराहरु सत्यतासँग सहवासमा लागी अगाडि बेतोडले कुदेकै छ तर हामी मानिस जन्मिदै हुर्कदै कत्तिले समय सापेक्षिक आयु त्याग्दै गई रह्यौ भने कत्तिले असन्तोषमै आफ्ना सासहरुलाई शत्रु मानी विषहरुमा विलिन हुँदै गई रहे । कुरामा दुई कुरा छन् एक सन्तोष त अर्को असन्तोष जस्लाई हामीले एक तुल्याउनु पर्छ । शायद यसमा किन भन्ने शब्द प्रश्न उब्जिन सक्छ तर अहिले त्यो बाटोमा नजाऔं  किनभने काम धेरै छन् जीवनको ।

अब रह्यो जीवनको धेरै काम छ भन्नुको तार्किक अर्थ के हो त ? जन्म हुन्छ जीवनको, जीवनले कुनै पञ्चभूततत्वको झोल वा ठोसको समिश्रण पाउँछ भने चेतनामा पनि दानव र ईश्वरकै समिश्रण राखि दिएको हुन्छ । त्यो प्रयोग अनुसार प्रभावमा देखिने कुरा हुन् भने खाऔं भने कान्छा बाउको अनुसार, नखाऔं भने दिनभरिको शिकार तिनीहरुकै बहकाई जीवन व्यतित गर्नुपर्ने हुन्छ । र जीवन व्यतितको अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै काम हो । न त्यो कुनै ठूलो हुन्छ न त सानो नै तर गर्न चाहिं अवश्य गर्नैपर्छ चाहे घाममा होस् चाहे पानीमा जीवन खर्च गर्न जुट्नैपर्छ आफ्नो दायित्वलाई कर्तव्यमा रुपान्तरित गरेर बढ्नुपर्छ । यहाँ बढ्नुको अर्थ मृत्युसम्म पुग्ने एक यात्रा नै हो । त्यो यात्रा जुन जीवनले पाउनु पर्ने एक मृत्यु सफल र सहज होस् भन्ने हेतुले कामसँग जीवनलाई जोडिएको कुरालाई हामीले आफ्नो आवश्यकतासँग जोड्दै एउटा कमजोरी जोड्नीलाई अझै कष्ट र कमजोरी तुल्याउनु नै हो । र मैले यही कुरालाई बारबार खर्चसँग जीवन खर्चिनु हुन्न भन्दै आएको छु । जब जब हामी खर्चसँग आफ्नो तालमेल मिलाउँदै जाने कुरा हामी बढी केन्द्रित हुन्छौं तब तब सानो ठूलो अपराधहरु जन्म लिएकै हुन्छ । यो कुरालाई सर्वप्रथम हामी बुझ्नुपर्छ । र आम नेपालीको जीवनस्तरलाई सहरबाट नियाँल्ने हो भने कोही पनि दु:खी रुपमा छैनन् पनि । त्यस्तै कर्मचारी जीवनमा आम्दानी नपुगको कुरा छ त्यो कुरा एउटा व्यापक हल्ला हो । नेपालमा सबैलाई थाहा भएकै कुरा हो कि कर्मचारी भन्दा बेंसी आम नागरिक छन् जस्ले कसरी र के गरि खाएका छन् भन्ने कुरालाई सरकारले कुनै हेक्का राखेको छैन् पनि । सरकारले जिम्मा लिएको पनि छैन् तर कर्मचारीहरुको जिम्मा सरकारले लिएको कुरालाई स्वयम् कर्मचारीहरु अस्वीकारकै बोली बोल्छन् र तलब पुग्दैनन् भन्ने बारबार आवाजहरु गुञ्जायमान हुने गरेको सुन्न पाईन्छ । शायद नेपालमा नेपाली हुनुको एउटा ध्वनी विकिरण सजाय यो पनि हुनुपर्छ ।

अर्को कुरा एउटा कामदारले एउटा कर्मचारीको काम गर्दा यति नै चाहिन्छ भनी किटान गरेर लिन्छन् र दिनभरि काम गर्छन्, जान्छन् । अनि कर्मचारीले बोल्छ कि ज्याला महँगो भो । हामी नेपालीको बानी पनि गजबको छ । त्यो के त भन्दाखेरि कामदारले काम गर्दा काम हेर्न कर्मचारी बिदामा बसेर बराबरकै आम्दानी बुझ्छ तैपनि आम्दानी कामदारकै बढी देख्छन् र आफुले पाएको सुविधा र भत्ताहरु कामदारले नपाएको बिर्सिने गर्छन् । जहाँ ज्यादतिको उठ्यो भने सदा कर्मचारीकै उठ्छ जब कि काम देख्यो बिरामी हुने एउटा रोगबाट ग्रसित हुने एउटा बानी छ भने आज अहिले नै सक्ने कार्य भोली र पर्सि भन्ने मन्त्रसँग आबद्ध भएकै हुन्छन् नै । पेन्सन पाउने कुराको हेक्का हुन छाड्छान् र तलब पुग्दैनन् भन्ने नै ज्यादा आवाजहरु प्रतिध्वनित हुन्छन् । त्यस्तै अर्को शिक्षाको सवालमा सबैलाई सरकारी शिक्षा भिख लाग्छ तर जागीर सरकारी नै हुनु पर्ने, सुविधा सरकारी नै चाहिने यस्तै यस्तै शिक्षित संकीर्ण विचारले गर्दा नै जीवनमा एउटा अभावको खाल्डो रहिरहेको हो नै । लुगा नेपाली उत्पादन मन नपर्ने नेपाली हुँ भनी गर्व गर्ने, खानाको सवालमा पनि त्यस्तै । मेरो अग्रजहरुले महिना एकचोटि खाए होला तर हामीले न्यनतम महिनामा १५ देखि २० दिनसम्म खान्छौं नै भने हाम्रो नै ज्यादा पिकनिक, सेमिनार भोजभेतेर आदी ईत्यादीले कामलाई भन्दा बढी मामलाई महत्व दिएर बाँच्नमा अग्रसर छौं भन्नुको अर्थ विनाकाम, मर्नमा ज्यादा उत्तेजित छौं । यसले हाम्रो जीवनलाई बेमूल्यको सावित गर्छन् । त्यस्तै तलब बृद्धिको कुराले बजारलाई आकाशिने मौका दिनु नै हो । आखिरमा जे कुरा जस्तो नै भए पनि असन्तोष हुने प्रविधिबाट हामी सदाको लागि मुक्त होऔं ।

सबै कर्मचारीहरुलाई एउटा कुराको म के ज्ञात गराउँन चाहन्छु भने जागीर खाँदा खेरिको उत्साह किन अन्तिमसम्म रहँदैनन् ? र काम भनेको मृत्यु कुर्ने एउटा जीवनको बहाना हो, त्यसको पूजा, आराधना तथा सम्मान किन गर्न आउँदैनन् ? तलबबाट नै जीवन गुजारा गर्छु भन्ने सोच पहिलो तलब थाप्दा किन आउँदैनन् ? घाँटी हेरि हाड निल्नु पर्ने कुरा आम जीवनमा सबैले बिर्सिदै गएका छन् । त्यो भनेको जीवनप्रतिको एउटा अपराध हो । आफुहरुले जानी जानी गरेको पाप हो । र त्यही पापको एउटा सजाय मनमा असन्तोष उत्पन्न हुनु हो । जीवनभर आफैलाई कुरेटेर बाँच्नु पनि हो । तलब नपुगेकै सवालमा एउटा प्रश्न : एउटा प्राइभेट स्कूलमा पढाउने शिक्षकको तलब १५०००/( भने सोही स्तरको सरकारी स्कूलको कक्षामा अध्यापन गराउने शिक्षकको तलब ३००००/( हुन्छन् भने तलब पुगेन भनेर सरकारी शिक्षकले बोल्न पाउने जब कि पढाईको नतीजा खराब तर प्राईभेट स्कूलको शिक्षकले बोल्न नपाउने जब कि पढाईको नतीजा राम्रो साथै पेन्सन नपाउने कुराहरु त यथावत छ नै किन ? हक र अधिकारकै सवालमा सरकारी शिक्षक भन्दा नि कम प्राइभेट शिक्षक किन ? हुन त मैले कुनै समानता खोज्न खोजेको होईन । लगनशिल भई आफ्नो काममा ईमानदारीता देखाई दायित्व बुझि कर्तव्य निर्वाह गरि मृत्यु कुर्नु होस् भन्नु नै हो ता कि मृत्युले ढोका ढक्ढक्याउँदा नाई भन्नु पर्ने असन्तोषहरु मुटुमा शेष नरहोस् । मुटुमा असन्तोषहरु रहँदा एक त लाश जल्न गाह्रो हुन्छ भने अर्को जीवनभर दु:खकै कारक पनि त्यही बन्छ । र पैसामा चल्ने व्यक्ति आफु कहिल्यै नबनौं ।

अब रह्यो असन्तोष कोसँग पोख्ने ? आज कोही प्रधानमन्त्रीसँग समस्या राखिएला र पूरा पनि भईयो रे तर जब त्यही व्यक्ति सर्वसाधारण व्यक्ति बन्दा मैले दिएका, पूरा गरेका कति पनि कुराहरु छन् त्यो सबै नाजायज हो भन्दाखेरि आज पाएका सुख(सुविधाहरु के भोली फिर्ता हुन सक्छ र ? त्यस्तै के हामी नेपाली, नेपालमा मागी मात्रै सम्पन्न हुन खोज्ने प्राणीहरु हौ र ? नेपालप्रति हाम्रो वास्तविक दायित्व के हो ? सधैं बाटोमा अवरोध खडा गरि आफुलाई मौलिक अधिकार चाहियो भन्दै आफैले आफैंलाई आफैबाट अलग्याउने काम हामीबाट आखिर कहिलेसम्म हुन्छन् ? त्यसैले समग्रमा आफ्नो होईन सबै हित हुने कुरा सोचौं । यदि अझै पनि सबै क्षेत्रले यी कुराहरुलाई विचारयोग्य बनाएर पाइलाहरु सार्न सक्दैनन् यहाँ कसैको केही हित हुनेछैनन् । पुग्ने र सम्पन्न व्यक्ति यहाँ कोही छैन् । यो कुरालाई जो जस्ले जति चाँडै बुझे त्यो नै सहजै जल्ने पवित्र आत्मा हो । भौतारिनु नपर्ने सुखद जीवन हो । र यसको लागि सन्तुष्ट हुनैपर्छ ।


prashantsharmila2@gmail.com

प्रकाशन मितिः २०७३ जेठ १३ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment