पंचायत, राजा विरेन्द्र र गणतन्त्र

सन्दर्भः वीरेन्द्र हत्याको १५ वर्ष

-प्रवीण अधिकारी
आज श्री ५ वीरेन्द्र बितेको पनि १५ वर्ष पुग्यो । नेपाली राष्ट्रिय भावना प्रखर हुनेले शव्द श्रद्धान्जली दिए होलान । रमाउनेले त्यो राजा भएको भए हामी शासन सत्तामा यस्तो मजाले हाली मुहाली गर्न पाउने थिएनौं भनेर काखी मच्याए होलान । एउटाको जरो नउखेली अर्कोलाई औषधि हुन्न भनि ठान्नेहरु, जे भयो ठिक भयो भनि दंगदास भईरहेका होलान् । आजका नेपाल विचित्रको छ । टोपी च्यातेर रुमाल हुन्न भन्ने पनि उनीहरुलाई थाहा छ तरपनि उनिहरु टोपी च्याति रहेका छन् । नेपालको राज्यव्यवस्थाको स्वरुपमा चर्चा गर्न यस्ता यस्ता कुराले मथिंगल हल्लाई रहन्छ । भावनाहरु ओहोर दोहोर गरी रहन्छ ।
एक स्वतन्त्र राष्ट्रको हैशियतले २०४५ सालमा नेपालले चीनसँग किन्न चाहेको केही एन्टी एयरक्राफ्ट गन आफै संग किन्नु पर्छ भन्ने दरिद्र सोच बोकेको भारतलाई मलजल हालेर उकास्ने तत्कालिन कांग्रेस र कम्युनिष्टहरुले भारतको सुदूर दृष्टि “भुटानको हैशियत” भित्र नेपाललाई पुर्याउन आजका मिति सम्म गरेको अथक प्रयाश भविष्यमा नेपालको राजनीतिक इतिहाँसमा लेखिदैं जाला तर त्यसको प्रत्यक्ष अनुभव यसपाला नेपालका स–साना स्कूले नानीहरुले पनि गर्न पाए । नेपाली नेताहरुबाट वि.सं. २००७ सालदेखि यही तानाबाना बुनिंदा र बुनाइदा भारतले नेपाललाई सधैं आफ्नो प्रभूत्व अन्तर्गतको राष्ट्रमा गणना गरी ल्यायो । अहिले गणतन्त्र नामको राजनीतिक व्यवस्थाले नेपाललाई कुदाउन थाले पछि त् झन् नेपाली नेताहरुको हैशियत भारतीय प्रधान मन्त्रीको जुत्तो दौराको फेरले पुछ्ने देखिन पुग्यो ।
वि.स. २०४४ सालमा नेपालको आन्तरिक खपतकोलागि हयियार किन्न लिएको स्वतन्त्र निर्णयलाई घुँडा टेकाउन तत्कालिन नेपाली कांग्रेस, एमालेको उक्साहटमा भारतले नेपाल सरकारलाई र नेपालका राजालाई पाठ पढाउने रणनीति अख्तियार गराइयो । तर श्री ५ वीरेन्द्र र प्रधान मन्त्री मरिचमान सिंह श्रेष्ठले गरेको निर्णय बदलिन चाहेनन् र नेपालकोलागि चाहिने हतियार चीनबाटै किन्ने निर्णय गरे र किनेपनि । त्यसपछि नेपालका प्रतिबन्धित दलहरुको उक्साहटमा विभिन्न अत्तो थापेर पारवाहन सन्धि नवीकरण नभएको नाममा नेपालमाथि आर्थिक नाकाबन्दी लगाइयो । राजनीतिक दलहरु दंग परे । खुशी भएर भूईमा न भाँडामा हुन पुगे । भारतको ओहोर दोहोर तीव्र बनाए । अझ भनौं भारतमा खाने र नेपालमा मैल्याउने गर्न थाले । तिनका भारतीय मन्त्रदाता गुरुहरुको ओहोर दोहोर बाक्लो पारियो । भारतले बि.सं. ०४२ सालमा भुटानलाई गरेको कुरो नेपालमा पूनरावृत्ति गराई छोड्यो । भुटानी नेताहरुले चिनियाँ नेताहरुलाई भेटेको निहुँमा चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि मात्र अनुदान फेरि लागू गरेको घटनाको दोहोर्याइयो । नेपालको आन्तरिक राजनीतिमा “बहुदल घोषणा” गराएर राजालाई पाठ पढाएपछि भारतले घृणित नाकावन्दी कृष्ण प्रसाद भट्टराईलाई निमित्त बनाएर एकतर्फी रुपमा हटायो । नेपालमा आफ्नो ईशारा अनुसारको नेता उमार्नु र उनीहरुको जुत्तोमा पालिस लाइदिने सरकार भारतको भित्री ध्येय हो । ०४६ सालको जन आन्दोलनपछि बहुदलवादीहरुको सरकार बने लगत्तै भारतले पारवहन सन्धी गरेर आफ्नो त्यो रुप प्रष्ट्याई सकेको कुरा अहिले प्रौढ भएका प्रत्येक नेपालीहरुलाई थाहा हुनुपर्छ ।

भारतले नेपालमा लगाएको पहिलो र दोश्रो नाकाबन्दीका क्रममा नेपालमा नझुक्ने शासन व्यवस्था थियो । उसको तुच्छ नीति नेपालमा गतिलो गरी चल्न श्री ५ महेन्द्र र वीरेन्द्र बाचुन्जेल दिएनन् । पंचायतले नियुक्त गरेको प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई आजको दिनमा प्रत्येक स्वाभिमानी नेपालीहरुले सम्झिन्छन् किनभने पंचायतकालमा संवैधानिक रुपमा राजा सर्वोच्च भएपनि, राजाको प्रत्यक्ष शासन रहेता पनि, पंचायत व्यवस्थालाई अनुसाशित, स्वाभिमानी, मर्यादित साशन व्यवस्था भन्न प्रत्येक स्वतन्त्र नेपालीहरुलाई कर लाग्नेछ ।

अहिलेको गणतान्त्रिक राजनीतिक ब्यबस्थामा मौलाएको गुण्डा राज्य, अमर्यादित राजनीतिक संस्कार, नेता केन्द्रित चरीत्र, फूट्पाथबाट महलछाप बन्ने नीति, अनुत्तरदायी साशन ब्यवस्थाको, विदेशमा धन थुपार्नेको मरिहत्ते भै रहेको छ । अबको नेपालमा प्रधानमन्त्री भएर घर फर्केको मान्छे गाई पालेर त्यसको गोबर सोहोरेर बस्ने छैन । १७००० मान्छे मारेर ल्याएको गणतन्त्रले हुर्काएको ठूला नेताहरु दिल्लीको जुत्तोमा पालिस गर्न पुगिरहनेछन तर गाई पालेर बस्ने छैनन् । 

(अधिकारीको फेसबुक पोष्टबाट साभार)



SHARE THIS

Author:

Facebook Comment