ओली सरकारको सय दिन, जनताको प्रतिकृया कस्तो ?

क्राइमचेक प्रतिनिधि/
वीरगंज डेस्क/
२०६२/०६३को जन आन्दोलनपश्चात राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गरी गणतन्त्र स्थापना गरेको झण्डै दशवर्ष पछि संघीय गणतन्त्र धर्म निरपेक्षलाई संवैधानिक मान्यता दिएपछि बनेको खड्ग प्रसाद अर्थात् केपी ओलीको नेतृत्वमा सरकार गठन भएको पनि सय वर्ष पूरा भएको छ ।

गत असोज तीन गते संविधान जारी भई २४ गते संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्राप्त गरेको २४९ मत विरुद्ध ३३८ मत प्राप्त गरी प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

संविधान जारी भइरहँदा र केपी ओली प्रधानमन्त्री बनिरहँदा देशको मूख्य भाग तराइ आन्दोलनको आगोमा जलिरहेको थियो भने आन्दोलनरत मधेशी मोर्चाले आफ्नो जायज माग पूरा गराउन सिमा नाका अवरुद्ध पार्दै थिए ।

यसैबीच प्रधानमन्त्री पदमा निर्वाचित हुनुभन्दा अगाडी खड्ग प्रसाद ओली अर्थात केपीमाथि विभिन्न आशा एवं भरोसा लिई बसेका नेपाली जनताले उनलाई इतिहासकै सबभन्दा ठूला राष्ट्रवादी प्रधानमन्त्रीको रुपमा जय जयकार गरेर सामाजिक संजालका भित्ता रंगाएका थिए । तत्पश्चात केपी ओलीको प्रधानमन्त्रीको शासनकालमा जनताले चरम अभाव, महंगी, कालोबजारी, अव्यवस्था, कु–व्यवस्था, व्योहोरीरहे, प्रधानमन्त्रीले देशको शासन व्यवस्था, जनजीवन सामान्य पार्ने काम र जनतामा देखिएका आपसी मतभेद आज सम्बोधन गर्लान, भोली गर्लान भन्ने आशै आसमा  कुरी रहे पर्खिरहे तर प्रधानमन्त्रीबाट आश्वासनबाहेक केही पनि पाएनन् ।

प्रधानमन्त्रीले काम भन्दा योजना बढि सुनाए, एकवर्ष भित्र हावाबाट बत्ति निकाली देशलाई लोडसेडिङ मुक्त गर्ने, पाइपलाइनबाट जनताको घर–घरमा/भान्छा–भान्छामा ग्यास पुर्‍याउने आश्वासन बाँडे, भूकम्प पीडितहरू कठ्यांग्रिंदो जाडोमा मरिरहँदा राहत समेत राहत कार्यलाई प्राथमिकतामा राख्न भन्दा संविधानको धारा मिचेर उप प्रधानमन्त्री मण्डल र जम्बो मन्त्रीमण्डल बनाएर देलाई थप व्ययभारको भूमरीमा फसाइरहे ।
आन्दोलनरत मधेशवादी जनतालाई सम्बोधन गर्नुभन्दा बढी चिढाउने,  आगोमा घ्यू थप्ने, छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध बनाएर समस्या तथा गतिरोध अन्त्य गर्नु भन्दा चिढाएर, धम्काएर खोक्रो राष्ट्रवादी चरित्र प्रस्तुत गरिरहे । उनको यही दैनिकी एक दिन, दुई दिन, गर्दै सय दिन पूरा भएको छ ।

प्रधानमन्त्री पदमा विजय हुँदा तिनै ओलीको जय–जयकार गर्दै नथाक्ने नेपालीहरूको नजरमा सय दिने कार्यकाल कस्तो रह्यो ? जनताले गरेका आशा एवं विश्वासले कतिको सार्थकता पायो ? यसै सेरोफेरोमा क्राइमचेकले सामाजिक संजाल फेसबुकमार्फत “प्रधानमन्त्री ओलीको सय दिनको कार्यकाल तपाईंलाई कस्तो लाग्यो ? १.उत्कृष्ट, २. निकम्मा, ३. काम चलाउ, ४. नभएकै ठिक र ५. अन्य (आफ्नो धारणा राख्नुहोला) भन्ने प्रश्न राखेर सर्वसाधारण नेपालीको राय लिन खोजेको थियो प्रस्तुत छ तिनै मध्ये केही...
जस्ताको तस्तै..
सिर्जना खड्का: देशमा सरकार छ भन्ने कुरा नै बिर्सेको थिएँ, याद दिलाउनु भएकोमा धन्यबाद ¤ ओलिको यो सय दिनमा को सरकार ? को प्रतिपक्ष ? कुन–कुन उप प्रधानमन्त्री र को कुन मन्त्रालय को मन्त्री हुन् भनेर थाहा नपाउँदै बित्यो ।

विनोद न्यौपाने: भैरेको मुल्याङ्कन हो गलत भए, गलत भन्नो्स तर केस्रा केस्रा केलाएर, ओली को १०० दिनको मुल्याङ्कन गर्दारान् पत्रिका र बुद्दिजिबी ? गरेकै केही छैन, उनी खाली कागज हुन् । त्यो समाउने जे जे मन लाग्छ आँफै अर्थ लगाएर पढ्ने ? तेस्का बाजे ! सक्की गो नि !
ग्यास र तेल सामान्य कुरो घर परीवार चलाऊन चाहीने । यसमा के गर्नु ? भुकम्पले लडाईं सकेको छ (बनाउने भन्ने सामान्य कुरो ? बस्न जस्लाई चाहिन्छ बनाउँछन् ? उन्ले के गर्नु ?

मिदम आचार्य: बल्ल हनिमुन मनायो सरकारले पेटमा गर्भ बस्न परो, १० मैना कुर्न परो त्यै नि गर्भ मै तुहिन नि सक्छ, राम्रो सित जन्मिनु पर्‍यो हुर्कन बढ्न, पढ्न सप्पै भएसी अनि बल्ल ओली सरकार असफल भयो कि सफल भयो भन्ने होला केरे । त्यसै १०० दिनमा असफल भयो भन्न पाइन्छ र ?

सन्तोष ब. क्षेत्री: म धेरै खुशी छु, किनकी सारा नेपालीको घर घरमा ग्यासको पाइप आउँदैछ, पानी भन्दा हावाबाट बत्ती निसक्ने भयो, अनि, अन्त्यमा एक घर एक मन्त्रीको पनि काम शुरु भैराख्या छ रे ।।। अब आफैं भन्नुस् सरकार कति लायक छ ?

लिलाराज पाण्डे: आफ्नाका लागी–उत्कृष्ट, जनताको लागी–निकम्मा, भारतका लागी–काम चलाउ ।

गणेश शर्मा: कामभन्दा कुरै ठूलो, हिंड्न लाग्यो खुट्टै लुलो ।।

बबन सिंह (पूर्व सभासद): कम्युनिष्ट शब्दलाई अपमान गरेका हुन । देश/जनता भन्दा आफुलाई मात्र महत्व दिनु भएका हुन् ।

जीतु खड्का गाउँले: चलेको चलन “जुन जोगी आए नि कानै चिरेको, झोलै भिरेको” सबै आउने भाषण गर्ने काम नगर्ने ओली पनि उही ड्यांगको मुला हुन् । समग्रमा भन्नु पर्दा नेपाली प्रधानमन्त्रीको छबी कायम राख्न सफल ।
श्यामजंग खत्री: समस्या नै समस्याको भुमरीमा फसेको बेलामा प्रधानमन्त्री भएर नि आफ्नो अडानमा बस्न सफल महान प्रधान मन्त्री हुन के पी वली ४६ सालदेखि गर्न त के उपलब्धी भएको छ र यो देशमा ताकी केपीको पालामा होस् ?

रायवन पोखरेल रोशन: देशको स्वाभिमानको नाममा जनतालाई दुख दिने कार्यको वृद्धि ।
तिमिल्सिना समीर: इतिहासकै नालायक, निकम्मा, हावादारी, कालोबजारीलाई प्रोत्साहन दिने प्रधानमन्त्री
उमेश दुबे: ओ. सर प्रधानमन्त्री भएपनि अहिलेसम्म केही उखा.. सक्नु भएन ।

भानु नेपाल: मुलुक हँसाउने भन्थे, कहाँ मुलुक मात्रै ? दुनियाँ हँसाए नि !

दिवस गिरी धनकुटे: काम चलाउ नै भैदिएको भएपनि तै अथबा हुन्थ्यो त्यो पनि नभएरत
अनन्त हमाल:नेपालीहरुको आँखा खोल्न ठूलो योगदान गरेको छ ओली र आलुहरुले !

राधिका रोग्मी कँडेल: काम नलाग्ने सरकार

भाग्य नारायण साह: माफ गर्नुहोला, प्रतिकृयाकोलागि मैले कुनै शब्द नै फेला पारिनँ ।

त्यस्तै हरेराम ठाकुर, बिजया रायमाझी, टेकराज थापा, योगेन्द्र गौतम, दिवाकर पन्त, दिलिप जंग थापा, मधुसुदन श्रेष्ठ, कुमार बुढाथोकी, बासुदेव कार्की, डोलनाथ चापागाईं र रमेश साहले प्रधानमन्त्री ओलीलाई निकम्मा प्रधानमन्त्री भएको भनि आफ्नो मत राखे भने “कामचलाउ” प्रधानमन्त्री भनि आफ्नो मत राख्नेहरूमा तेज ढकाल, टिपी खरेल, तेज प्रसाद अधिकारी, डा. अरुण कुमार सिंह, निर्मला लुइँटेल, निर्मला गिरी ज्वाला र तारा बराल राष्ट्रप्रेमी रहेका छन् ।

त्यसैगरी जगरनाथ साह र अप्सरा ढकालले भने यो प्रधानमन्त्री नभइदिएकै ठीक हुन्थ्यो भन्ने पक्षमा मत राख्नु भयो । त्यस्तै सुदिप सिंहलाई प्रधानमन्त्रीको रवैयाले दिक्क लागेको प्रतिकृया दिंदै “छ्या वाक्क” भनेर प्रतिकृया दिएका छन्, भने निकेश श्रेष्ठले हावादारी र बद्री दुर्गा मैनालीले कालोबजारी प्रधानमन्त्रीको संज्ञा दिए ।

त्यस्तै जनक घिमिरेले जनताले आफ्नो जिउको मासु र छाला सकेर हाड मात्र बाँकी रहँदा पनि सरकारलाई हिंड्न नसक्ने गरी पौष्टिक आहार खुवाएर पालिरहेको कार्टुनचित्र प्रस्तुत गरे । त्यस्तै प्रधानमन्त्री ओलीको आलोचनासहितको व्यंगात्मक कार्टुनसहित प्रस्तुत गर्नेहरूमा  प्रधानमन्त्रीको अनन्त हमाल, भरत दुलाल, लिलाराज पाण्डे, बिपिन भण्डारी रहेका छन् ।

यहाँ उल्लिखित तथा अन्य जनताले दिएका प्रतिकृया हेर्न यहाँ थिच्नुहोस्




SHARE THIS

Author:

Facebook Comment