– महेश्वोर श्रेष्ठ
यात्रा नं. १
आफ्नो गन्तव्यमा पुग्न माइक्रो बसको यात्रामा थिएं। "ज्येष्ठ नागरिक आरक्षण – २ सिट" भनेर लेखिएको सिटमा प्लस-टु पढ्ने विद्यार्थी जस्ता देखिने २ जना किशोरीहरु बसिरहेका थिए। मैले "अलिकति सर न नानु, मिलेर बसौं" भन्दा एउटीले "अगाडीको सिटमा बस्नुस् न। त्यहाँ पनि पुरुष २ जना मात्रै छन्" भनेर किन्चित मुख लेप्राई। "हुन त हो, तर उहाँहरु मोटा मोटा हुनुहुन्छ, त्यसैले सजिलो ठाउँ खोजेको" मैले यसो भन्दा झ्याल निर बसेकी किशोरीले "शिट, जो पनि केटी भएकै ठाउँमा ढेस्सिन आउँछन् ...." भनेर फत्फताउँदै थिई, कन्डक्टरले "किन गनगन गरिराखेको ? ३ जनाको सिट हो, खुरुक्क मिलेर बस्नुस् त" भनेर कराइदिए पछि मैले बस्ने ठाउँ पाएं।
यात्रा नं. २
कोपुण्डोलबाट भाटभटेनी पुग्नु थियो। त्यसैले एकै यात्राले पुगिने पाटनढोकाको बसमा चढें। चालकको बायाँ पट्टी २ वटा सिंगल सिट ज्येष्ठ नागरिकका लागि आरक्षित गरिएको रहेछ जसमा २ जना महिला बसिरहेका थिए। मैले "म ज्येष्ठ नागरिक हुँ, कृपया उठिदिनुस् त" भनें तर कसैले सुनेको जस्तो पनि गरेनन्। दोस्रो सिटमा अन्दाजी ३० वर्ष जतिकी महिला काखमा बच्चा लिएर बसेकीले अगाडीको सिटमा बसेकी करिब २३-२४ वर्षकी युवतीलाई अलि ठूलो स्वरमा "सुन्नुस् त, ज्येष्ठ नागरिकको सिट खाली गरिदिनुस् त" भनेर कराउँदा पनि उनले मुन्टो फर्काएर हेर्नसम्म पनि हेरिनन्। दिक्क लागेर कन्डक्टरलाई सिट मिलाइदिन अनुरोध गरें। उसले "हामी प्यासेन्जरसंग झगडा गर्न सक्तैनौं। लेखेर सिट छुटाइदिएका छौं, आफै खाली गरेर बस्नुस्" भनेर पन्छियो। मैले "होइन, कन्डक्टरको काम भाडा उठाउनु मात्रै हो र ? यस्तो बेलामा बोलिदिनु, मिलाइदिनु पर्दैन ?" भन्दै थिएं ड्राइभरले "ओइ अंकल, एक छिन सिटमा बस्नकै लागि किन यति धेरै कचकच गरिराखेको ? सिटमा यसको उसको भनेर जेसुकै लेखिए पनि प्राथमिकता महिलालाई नै हो क्या" भनेर हप्काउने स्वरमा भाषण छाँट्यो। "लौ हेर्नुस्, यस्तो पनि नियम हुन्छ र ? यस्तो पनि व्यवहार गर्ने हो र ?" भनेर चारै तिर हेरेको, वरपर नजिकका सहयात्रीहरुको अनुहारमा विरक्ती त देखिन्थ्यो तर मेरो पक्षमा अर्थात नियमको पक्षमा बोलिदिने साहस वा कर्तव्यवोध कसैमा देखिएन। "टाढा पुग्नु छ, म त उभेर यात्रा गर्न सक्दिन" भन्दै आफ्नो स्वाभिमानमा परेको चोट सहन नसकेर अर्को बिसौनी थापाथलीमै बसबाट झरें।
यात्रा नं. ३
जापानी हाइएस माइक्रो बस यात्रुहरुले खचाखच भरिएको थियो। "ज्येष्ठ नागरिक आरक्षण – २ सिट" भनेर लेखिएको सिटमा झ्याल नजिक करिब २०-२२ वर्षकी युवती बसेकी थिइन्। बीचमा त्यति नै उमेरको देखिने युवक र छेउमा ४०-४५ वर्षको देखिने अधवैंसे बसेका थिए। मैले युवकलाई सम्बोधन गर्दै भने "यता हेर्नुस् त भाई। म ज्येष्ठ नागरिक हुँ। तपाईं युवा हुनुहुन्छ, कृपया मेरो लागि सिट खाली गरिदिनुस् न।" युवकले कुनै प्रतिक्रिया नजनाएकोले मैले बोलेको उसले सुनेन कि भनेर मैले आफ्नो कुरा दोहर्यारएं। उसले "म झर्ने बेला हुनै लाग्यो अंकल, एक छिन वेट गर्नुस्" भन्यो। मैले "कहाँ झर्नु हुन्छ ?" भनेर सोध्दा "रत्नपार्क" भनेर उसले हाँस्दै जवाफ दियो। मैले "त्यो त अन्तिम बिसौनी भइहाल्यो नि। होइन, कस्तो कुरा गर्नु भएको ? खै सिट खाली गरिदिनुस्। मैले तपाईं माथि कुनै दयाकृपा खोजेको होइन, जबर्जस्ती गरेको होइन, राज्यले बनाएको नियम पालना गर्नुस् मात्र भनेको हुँ" भनेकोलाई उसले "हें हें, नियम पालना रे ? होइन यो देशमा कसले कुन चाहिं नियम पालना गरेको छ र मैले मात्र गर्नु पर्ने हँ?" भनेर पो उल्टो च्याँट्ठियो। मैले त्यस प्रति आपत्ती जनाउँदै "अरुले के गर्छन् के गर्दैनन् त्यो कुरा छोड्नुस्। ज्येष्ठ नागरिक बस्ने सिटमा ज्येष्ठ नागरिक बस्न पाउनु उसको अधिकार हो। तपाईं ज्येष्ठ नागरिक बस्ने सिटमा बस्नु भएको छ, ज्येष्ठ नागरिक आए पछि उठिदिनु तपाईंको कर्तव्य हो ......" भन्दै थिएं, झ्याल नजिक बस्ने केटीले एक्कासी च्याट्ठिंएर "होइन कति कराउन सकेको ? बसमा चढेदेखि कचकच गर्या छ, छ। सिटमा बस्न शुरुदेखि नै चढ्नु पर्छ। बीचमा चढेर सिटमा बसिरहेको मान्छेलाई उठाउन पाइन्छ ?" भनेर कराउँदा एक छिन त म स्तब्ध भएं। रीस पनि उठ्यो। अलि ठूलो स्वरमै कराएर भनें "शुरु र बीचको कुरा होइन, ज्येष्ठ नागरिक लेखेको सिटमा बरु तपाईं किन बसेको ? अनि उल्टो ठूलो स्वरले कराउने ? कस्तो अनुशासन र संस्कार सिकेछौ नानी तिमीले ?" मात्र के भनेको थिएं "तपाईंहरुले नै सिकाएको हो हामीलाई यस्तो संस्कार, भयो ? अब चुप्प लाग्नुस्, बढी किचकिच गर्ने होइन।" भनेर उल्टो मलाई नै धम्क्याइन्।
मैले भ्याएसम्म चारै तिर हेरेर सहयात्रीहरुलाई भनें "देख्नु भयो देशका कर्णधार भनिने युवाहरुको यो व्यवहार ? होइन हाम्रो समाज कता अघि बढिरहेको छ हँ ? अरे कोहि त बोल्नुस्....." तर कोहि निदाएको जस्तो गरेर आँखा चिम्लेर ध्यानमग्न थिए। कोही मलाई हेर्नु पर्ला भनेर बस बाहिरको दृष्यावलोकनमा मस्त थिए। कोही मोबाइल गेम खेल्नमा व्यस्त थिए। कोही केही नगरे पनि मूर्तिले जस्तै ट्वाल्ल हेरिरहेका थिए। अनि मैले सम्झें, हाम्रो समाज बलियाको पाउमा लम्पसार परेर स्तुती गाउने शक्तिपूजकहरुको हो। हाम्रो समाज नागरिक चेतना विहीन असभ्यहरुको पनि हो। हाम्रो समाज नियम कानून उल्लंघन गर्दा गौरव गर्ने अराजकहरुको पनि हो। हाम्रो समाज अन्यायमा परेकाको पक्षमा बोलिदिनु पर्ला भनेर मुन्टो फर्काउने पानीआन्द्रे स्वार्थीहरुको पनि हो। अनि महिलाहरु उनीहरु सबैभन्दा १ कदम अगाडी हुन सक्छिन् किनकि उनीहरुले चाहेमा आफ्नो ब्लाउज आफैले च्यातेर निर्दोष पुरुषलाई हातपात र दुर्व्यवहारको आरोप लगाउन सक्ने शक्ति छ, महिला भएकै कारण दोषी भए पनि समाजको सहानुभूति पाउने संस्कार छ। त्यसैले त्यस उद्दण्ड केटीलाई सम्बोधन गर्दै भने – "ओहो नानी, तिमीलाई मैले बल्ल चिनें। तिमी त साक्षात चण्डी रहेछौ। एक हातले डण्डी समातेको छु, त्यसैले यो खाली रहेको बायाँ हातले एकहाते नमस्कार गर्छु। धूप दीप नैवेद्य लिएर हिंडेको भए यहीं आरती उतार्थें, पूजा पनि गर्थें। त्यसो गर्न नसकेकोमा क्षमा चाहन्छु ....." यतिकैमा रत्नपार्क आइपुगियो। अघि चुईक्क नबोल्ने सहयात्रीहरु मेरो व्यंग्य सुनेर गललल हाँस्दै मनोरञ्जन लिंदै बसबाट झरे। त्यस छौंडी पनि मत्ताएको राँगोले जस्तै मलाई बाङ्गो आँखाले घुर्दै ओर्लिन्। छौंडाले उसको हात समातेर "भैगो छोडी देऊ। लेट्स मुभ हनी। इट्स अलरेडी लेट" भन्दै तानेर लग्यो।
प्रिय पाठकहरु पढ्नु भयो त छौंडाले बोलेका शव्दहरु ? "भैगो छोडी देऊ" – मानौं उनीहरुको नजरमा दोषी म नै थिएं। त्यसै बेला मनमा एउटा दिव्य ज्ञान फुर्योल – महिला अबला र सबला मात्र होइन, सपोला र इबोला पनि हो! होसियार !!
महेश्वर श्रेष्ठ, ललितपुर
नेसं ११३५ चौलागा आमै विसं २०७२।०१।०५ बैशाखकृष्ण मातातिर्थ औंसी ईसं २०१५ अप्रिल १८ शनिबार
(श्रेष्ठको फेसबुक वालबाट साभार)