बाउआमालाई छोरी जन्माएपछि कहिले त्यो ठूली हुन्छे र त्यसलाई अर्काको घरमा बिदा गरेर पठाउ भन्ने हतार हुन्छ । छोरीलाई बिहाको नाममा अरुलाई सुम्पिन पाउनु जस्तो ठूलो अभिभारा अरु नठान्ने बाउआमाले नै छोरीलाई बोझ ठानेर हुर्काउने गर्दछन् । तर आजको समय छोरा र छोरीलाई बराबर ठानेर हुर्काउने हो । जहाँ पनि महिलाको हक अधिकारको कुरा उठिरहँदा के यो परम्परामा परिवर्तन आउन जरुरी छैन ? केटा खोजेर छोरीलाई धूमधामसित बिहा गरेर अर्काको घरमा बिदा गर्ने चलनलाई बद्लेर अब अभिभावकले अर्काको छोरालाई बिहा गरेर छोरीले घरमा भित्र्याउने चलनको थालनी गर्नु आवश्यक छ । सधैंको अरुको दैलो छोरीले मात्र किन पोत्ने ?
छोरीको हात बिहामा बेसार दलेर शुभ बनाइन्छ । तर तिनै छोरीको जीवन श्रीमानको घरपट्टिका मान्छेको निच व्यवहारले जीवन नै पँहेलो हुन्छ । सुकेको बिरुवा जस्तो ठि· र उजाड ती युवतीहरुको बारेमा श्रीमानले कहिल्यै घोत्लिंदैनन् । त्यसैले पुरुषहरुलाई अरुको घरमा गएर जीवन बिताउनु पर्दा कस्तो अनुभव हुन्छ त्यो जान्नु पर्ने भइसकेको छ । त्यसैले समय र परम्परालाई चुनौति दिदैं अब छोरीको बिदाई हैन कि बाउआमाले छोरालाई बिदा गरेर अरुको घरमा पठाउनु पर्ने बेला भइसकेको छ । बुहारीको स्वागत गर्ने भन्दा ज्वाइँको स्वागत गर्नकालागि अभिभावकहरुले आफुलाई मानसिक रुपमा तयार गरेर सोही अनुसार गरे दाइजो समस्या पनि हल हुन्थ्यो होला ?
पुरुषवादी सोच र यो समाजले महिलालाई शरीरको हद भन्दा माथि उक्लिनै दिएन । महिलालाई भोगको वस्तु बनाएर लुट्न पल्केको पुरुषवादी सोचले नै महिला हिंसा बढाएको छ । महिला पनि मान्छे हुन्, तिनीहरुसँग पनि सोच्ने सम्झिने शक्ति छ भन्ने सोचमा परिवर्तन नभएसम्म महिलाले आफुमाथि हुने हिंसाबाट पार पाउन सक्दैनन् । पुरुषवादी सोच र समाजको अकर्मण्यताले गर्दा आज महिलाको आफ्नै शरीर उसको दुश्मन भएको छ । प्रकृतिले सृष्टिको अमूल्य कार्य दिएर महिलालाई जुन महानताको वोध गराएको छ आज त्यही शरीर उसकोलागि दुश्मन हुनु सभ्य समाजको लागि कलंक हो ।
जीवनको मूल्य नै वोध गर्न नपाएका कलिला बालिकाहरुको बलात्कार, अन्धबिश्वासमा रुमलिएर एउटी सोझी र गरिब महिलालाई बोक्सी मानेर चरम यातना तथा दाइजो नपाएको निहुंमा महिलालाई सर्वा· जलाइनुले समाजको असली चरित्र देखाएको छ । महिलामाथिको पीडा पुरुषले कहिले बुझ्दछ होला ? आजकी युवती भोली कसैकी आमा हुन् भन्ने सोच पुरुष जातिमा पलाउन सके मात्र उसले महिलालाई सम्मान दिन्थ्यो कि ?
महिलाकालागि सवारी साधनमा, जागिरमा वा अरुमा पनि आरक्षण छ । तर यही आरक्षणले महिलालाई परजीवि बनाएको छ । म पनि मान्छे हुं र म पनि त्यति नै लड्न भिड्न सक्छु भन्ने सोच महिलामा पनि आउनु आवश्यक छ । घरमा पस्केर दिएको खाए जस्तो आरक्षणले महिलाको स्वस्र्फुत प्रतिभा र हिम्मतलाई कुण्ठित पारेको छ । जबसम्म म छोरी वा महिला हुं भन्ने सोचाइबाट महिलामाथि उक्लिंदैनन् तबसम्म महिलामाथिको अत्याचार रहिरहन्छ ।
महिला र पुरुषबीच समानताकोलागि पनि छोरीलाई अन्माएर थप दुख दिनकालागि अरुको घरमा पठाउनु भन्दा अरुको छोरालाई आफ्नी छोरीको जीवनसाथीको रुपमा स्वागत गर्न ढिलो भइसकेको छ । किन छोरीले मात्र अरुको घरमा गएर आफन्तबाट बिछोरिएर त्यो पीडा ब्योहोर्ने ? छोराले पनि आफ्नो जन्मघर छाडेर आउँदा कस्तो सास्ति हुन्छ भन्ने अनुभव किन नगर्ने ? त्यसैले अब अभिभावकहरुले बुहारीको हैन कि ज्वाइँको स्वागत गर्नकालागि आफुलाई मनदेखि तयार पार्नु पर्दछ । यो २१ औं शताब्दि हो, यहाँ छोरा र छोरी दुबै बराबर छन्, अझ छोराले भन्दा छोरीले आमाबाउलाई बढी माया गर्ने र रेखदेख गर्ने कुरा घामझैं छर्ल· छ ।
छोरीलाई घरबाट बिहा गरेर बिदा गरेर पठाउँदा दाइजोका कारणले उनीहरुले अल्पायु मै आफ्नो जीवनबाट बिदा हुन बाध्य हुनु परेको छ । त्यसैले दाइजोको समस्यालाई जरैबाट निर्मूल पार्नकालागि छोरीलाई बिदा गरेर श्रीमानको “कसाईघर” पठाउनु भन्दा आफ्नै प्यारो घरमा ज्वाइँलाई स्वागत गर्ने र सधैंकालागि बस्ने वातावरणको निर्माण गर्न सक्नुपर्दछ । अब कसैको छोरा बेहुली लिन बाजागाजा बजाएर अरुको ढोकामा स्वागत गर्न गएको दृश्यभन्दा फरक कसैकी छोरीले पनि त्यसैगरी बेहुली बनेर बाजागाजा बजाएर आफ्नो श्रीमान वा बेहुलालाई लिन गएको दृश्य कम रोचक र उदाहरणीय हुदैंन होला ?
प्रकाशित मितीः२०७१ पुस ३ गते बिहीवार