
नेपालकै इतिहासमा सुनकोशी थुनिनु पहिलो दृश्य हो । सुनकोशी विपत्तिमा परेर १० जनाको ज्यान गइसकेको छ । १५१ जना बेपत्ता छन् । पहिरो जाँदा ७६ घर बगेका छन् । हराएका, बेपत्ता भएका र मृत्यु भएकाको संख्या यकीन गर्नमा निकै ढिलाई भएको छ । विस्थापित परिवारलाई खान/बस्नकै समस्या छ, उद्धार र राहत वितरण कार्य अति कमजोर छ । राजधानी शहर काठमाण्डौबाट झण्डै १२० कि.मि. टाढा रहेको जरेमा गएर सुनकोशी थुनिएको क्षेत्रमा गृहमन्त्री तत्काल नपुगी ३० घण्टापछि पुग्दा मानवीय संवेदनशीलता र विपत्तिप्रति गम्भीरता नभएको देखियो ।
सुनकोशी थुनिएपछि नदि किनारका नेपालका सातवटा जिल्लाका बासिन्दा र सप्तकोशी छेउका भारतीय तटवर्ती क्षेत्रमा अति त्रास बढेको छ । सुनकोशीको बाढीले जनधनको अति कम क्षती हुन जाओस् भन्ने कामना छ । थुनिएको सुनकोशी जबरजस्ती खोलियो भने अकल्पनीय क्षति हुन्छ । कुनै पनि विज्ञान र संयन्त्रले रोक्न सकिंदैन । सरकारले तत्काल प्रभावित हुन सक्ने बासिन्दालाई सुरक्षित बासस्थानमा लैजानु पर्दछ । विपदमा परेकाहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराइनु पर्दछ । सुनकोशीको विपत्ती आजसम्मकै दुखान्त बन्न सक्दछ । सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोगकालागि जुट्नु पर्दछ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार