मित्रराष्ट्र भारतको हालै दिल्ली विधानसभाको निर्वाचन परिणामले आम पार्टीलाई ६७ स्थानमा विजय प्राप्ती गर्नु र स्थापित पुरानो दल काँग्रेस शून्य स्थानमा खुम्चिन पुग्नुले आम भारतीय तथा विश्व समुदाय आश्चर्यमा परेका छन् ।
यसरी नै, पछिल्लो लोकसभा निर्वाचनमा आश्चर्यजनक नतिजा प्राप्त गरी बहुमतको सरकार बनाउन सफल भएको भारतीय जनता पार्टीले हरियाणा, महाराष्ट्र, झारखण्ड, गुजरातलगायत विभिन्न राज्यमा सरकार बनाउन सफल भइरहेको निरन्तरता हालै कूल ७० सिटमा मात्र तीन स्थानमा विजय प्राप्त भएपछि राज्य सरकार बनाउने निरन्तरतामा पूर्ण विराम लागेको छ । भारतमा मोदी लहरले मुलुक नै चलायमान भईरहेको यथास्थितिमा नयाँ दिल्लीको विधानसभा निर्वाचनमा मोदी लहरले पूर्ण विराम लिएको छ । किन ?
सो दिल्ली विधानसभाको निर्वाचनमा भारतीय जनता पार्टी सुमेरु रथ रुपी रथयात्रामा चुनावी प्रचार प्रसारमा तन, मन, धन लगाएर चुनावी युद्धमा लागेर पनि हार अर्थात पराजयको प्राप्त परिणामले प्रधानमन्त्री मोदीलाई पक्कै पनि ठूलो धक्का अर्थात नोक्सान पुर्याएकै हुनुपर्छ ।
मोदी सरकारले राज्यमा सरकार बनाउने निरन्तरता दिल्ली विधानसभाको निर्वाचनको ताजा परिणामले पूर्ण विराम लाग्नु र आम आदमी पार्टी अर्थात केजरीवालको पूर्ण बहुमतको जीतले दिल्ली विधानसभामा विश्वको नजर दौडन थाल्नु आफैंमा उल्लेखनीय राजनीतिका यात्रा पनि हो । यसर्थ केजरीवाल अर्थात आम आदमी पार्टी स्थापित हुन बामे टेकी कुदिरहेको दलले स्थापित पुराना पार्टी काँग्रेस र भाजपाको हार शर्मनाक पनि हो ।
हार र जीत राजनीतिक यात्रामा भइरहने साधारण विषय नै हो । तर राज्यलाई ६० वर्षसम्म आफ्नो पकडमा लिन सफल काँग्रेसलाई भाजपाले धुलो चटाउँदै लोकसभाको निर्वाचनमा पूर्ण बहुमत ल्याएर मोदी सरकार स्थापित भएको नवौं महिना अर्थात छोटो समय पछि नै मोदीको लहरमा ह्रास आउनु भनेको आश्चर्यजनक पनि हो । यसर्थ पनि दिल्ली विधानसभाको चुनावमा मोदी लहर निस्तेज हुनु प्राकृतिक नभएर कृत्रिम पनि हो भन्ने कटु यथार्थता हो । किनभने अमेरिकी राष्ट्रपति बाराक ओवामाको भारत यात्रापछि ह्वाइट हाउसमा भारतमा हालै धर्म आतंकवादीको क्रियाकलापले धार्मिक सहिष्णुतामा ह्रास आएको टिप्पणीसहित भाषण ठिक दिल्ली विधानसभाको निर्वाचनको पूर्व सन्ध्यामा हुनु आफैंमा अर्थपूर्ण पनि हो । भारत यात्राका क्रममा प्र.म. मोदीसँग गलामा गला मिलाउने, मिठा मिठा कुरा गरेर मोदीलाई वाहवाही गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउस पुगेर भारतमा धर्म अतिवादीको चरम विन्दूमा पुगेको सन्देश प्रवाह गर्नुको अर्थ केजरीवाल (आम आदमी पार्टी) मोदी सरकारलाई उपहार हो भन्ने राजनीतिक वृत्तमा व्यापकता पाइरहेको समयमा दिल्ली विधानसभाको निर्वाचन हुनु र स्वयं भारतीय जनता पार्टीका नेताहरूले चुनावको ठिक १५/२० दिन अगाडीको छोटो समयमा किरण वेदीलाई मुख्य मन्त्रीको उम्मेदवार घोषणा गर्नु नै हारको प्रमुख कारण भएको ठहर छ ।
यसर्थ मोदी र बाराक ओबामाको फ्रेण्डशीप कस्तो रहेछ ? भन्ने यथार्थता छताछुल्ल भएको छ ।
प्रकाशित मितिः२०७१ माघ २९ गते बिहीवार