कतै गृहयुद्धको संकेत त होइन ?

– निशा खनाल अर्याल
नेपाल आमाका सन्तानले देशको लागि दिएका बलिदानको कथा लेखिसकिएकै छैन । छिया छिया भएका मुटु र टुक्रिएका शरीरको अंगहरुबाट रगताम्य भएर पोतिएका खेतबारी पहाड, पखेरा, खोलानाला, ढुङगा बगर, जङगल, गोरेटो, उकाली ओराली, डाडा काँडा अझै सुसाउन छोडेका छैनन् । सबै तिर बम र बारुदको बिस्फोटनबाट उछिटिएका त्यो आलो रगतको टाटा अझै सुकेका छैनन् । न त पिल्सिएर प्राण छाड्दा चिच्याएको त्यो आवाजमा पुकारी रहेको आफन्तको कोलाहल नै सेलाएको छ ।
शान्त र सुन्दर नै थियो हाम्रो हिन्दुराष्ट्र नेपाल मात्र राजनीतिक परिवर्तनको खाँचो खड्केको थियो । तर देशमा भएका राक्षस प्रवृत्तिका मुकुण्डाधारी नेताहरुले आफूलाई महान् बनाउन र हिन्दु राजा र राज्य एक आपसमा पुरक भएको देखेर असह्य भई त्यो शक्तिलाई भत्काउन अशान्ति मचाएर देश भित्रको कलहको बीज छर्दै शान्तिलाई बिथोल्न थालेर जनताको आँखामा धूलो छ्यापी सबैलाई सपनाको महल चलचित्र झैं पर्दामा देखाएर ओझेलमा राख्दै गरिबी हटाउने र देशलाई सिंगापुर बनाउने सपना बाँडेर उकास्न थाले ।
साँच्चै पो होकी भन्दै सोझा साझा जनता पछिलागेको देखेर ठुला ठुला योजना र मिठा मिठा भाषण गर्दै देशका विद्वान, तथा हामीजस्ता जनतालाई नै अल्मल्याउन पुगे । नचाहिने कुराहरु झिकेर जनतालाई एकापसमा लडाई घर भित्रै आगोको राँको बाल्न सुरु गरे । विभिन्न झुठा आश्वाशनहरु दिंदै देश बनाउने, गरिबी हटाउने, रोजगारी दिलाउने, कारखाना खुलाउने, बाटो घाटोको सुविधा युक्त देश निर्माण गरी सबैलाई सुखी बनाउने मिठासे कुराले लटपट्याउन गए र जनताको मन जित्न भाषण छाडे नेपाली जनताले कहिल्यै विदेशी माटोमा पसिना वहाउनु पर्ने छैन यस्ता आश्वाशन बाँड्न थाले पछि यस्तै सपनाको भ्रममा परेर आफन्त बिच नै सलाईको काटीले सुकेको दाउरामा आगो सल्काए झैं गरी के के न होला भनेर दाजुले आफ्नै भाइलाई गोलीले भुटे । मन्दिरमा बोकाको बलि चढाए झैं गरी तलवारको धारले रेटे ।
जवानी मै सिन्दूर पुछिएर एक्लै बाँच्न विवश भएका नारीहरु जो बालक सन्तानको अनुहार टुलुटुलु हेरी लाचारको जीवन विताउदै आएका विधुवा नारी र बुढा आमा बाबाको सहारा भएका एक्लो सन्तानलाई समेत गुमाउँदा पीडाले बाँच्न बाध्य भए, र आमा बाबु बिनाका जीवन बिताउन लाचार बुढा बाबु, आमाको कथा उस्तै रह्यो । भएका टुहुरा बालक, बालिकाको घरपरिवार तहसनहस भएका ती दिनहरुका त्रासदी उस्तै गरी ताजै छन् आज पनि । जसरी कुनै दिन आफै मारिने सम्भावनाको कुनै आंकलन नै नगरी महको मिठासको लोभमा परि माहुरीले नौ रंगी फूलको रस ल्याई थुपार्छन्, त्यसरी नै आफैले गरेका कर्तुत, ठुटा बाचाहरु र थुपारेको सम्पतिकै कारणले आफ्नो पतन हुनेछ भनेर नेताहरुले कहिल्यै सोचेनन् । राज्यभित्रको परिवेशसंग बिल्कुलै नमिल्ने अपच हुने र बेतुकका कुरामा जनतालाई एक अर्काको विरुद्धमा उकासेको भरमा मन नपरेर पनि त्रास भित्र लाचार भएर साथ दिन बाध्य भएका यी कयौ जनताले आफूलाई बोका राँगा झैं बलि चढाए पनि आज उनका सन्तानले गणतन्त्रको नाममा देश भित्र यो लुट र ठगी बाहेक के पाए त ?
यहाँ मैले व्यक्त गर्न चाहेको कुरा “एउटा नारीको अधिकार मात्र हैन सिंगै देशको प्रगति र जिम्मेवारीको प्रश्न आएको छ । तिनै गरीब, निमुखा, दलित जनताले अभावै अभावमा कामको खोजीले विदेशीको गुलाम बन्नु परेको तितो सत्यले गर्दा आज सम्पूर्ण देशवासीहरुसँग प्रश्न गर्न मन लागेको छ । के अब पनि देश तहसनहस भएको यसरी नै हेरेर बस्ने हो ?
यी नेताहरु त “छेपारोले रङग फेरे झैं गरी पालै पालो फेरिदै आ–आफ्नो ढिकुटी भर्दै जाँदैछन । “जति जोगी आए पनि कानै चिरेको” भन्ने उखान सबैको सामु घाम जतिकै छर्लङग छ । यसरी दिनरात जनताको आखाँमा छारो हाल्दै मिति, समय तोकी संविधान बनाउने कुरा गर्छन् अनि आपसको खिच्चातानीले न देशमा संविधान बनाउन सक्लान्, न कुनै प्रगति गर्न ।
के राजनीतिको मूल मन्त्र नेताले देशलाई तहसनहस गरी एक आपसमा कुर्सी तानातान गरी आफ्नो र आफन्तको दुनो सोझ्याउनु मात्र हो ? के नेताहरु भनेको भ्रष्ट गरी अकुत सम्पति कमाउने छुट पाउनु हो ? देश भित्र जनताका छोरा–छोरीलाई एकापसमा लडाई, काटाकाट र मारामारको सिकारमा मर्न बाध्य बनाई आफूले बाँधले सिनो लुछेझै गरी मोजमस्ती गर्नु हो ?
के नेताहरुको अर्थ जनतालाई जात, धर्म, लिङग, भाषा आदिका आधारमा विभाजित गरी आफ्नो स्वार्थसिद्धि गर्नु हो ? देश भित्र धर्म निरपेक्ष भनेर संविधान भित्र हुँदै नभएको कानुनले हिन्दु राष्ट्र नेपालको नामलाई विदेशीले हातपात गर्न खुल्लमखुल्ला धर्म परिवर्तनको नाममा नेताले राजनीतिको आड दिनु हो ?
नेपाल सरकार र नेपालकै गरिमामय संविधानसभा आज विदेशी डलरका दलालहरु र भारतीय खुफिया एजेन्टका छत्रछायाको परिधि भित्र हातपाउ जंजिरले बाँधेझैं गरी मन्त्रीपरिषद भित्रका नेताहरु कैदी भएको किन ? नेपाल देश भित्र आफ्नो गरिमामय संविधान निर्माण गर्न लाग्दा विदेशी दलालहरुको, हस्तक्षेप र अवरोध किन ?.
यदि नेपालको राष्ट्रियताको ख्याल गरेर बहुभाषी र बहुसंस्कृती सबैको पहिचानलाई स्वनिश्चित हुने खालका संविधान नबनी डलरवादी विदेशी दलाल र भारतीय एजेन्टहरुको दबावमा आएर उनीहरुकै सल्लाह र सुझाव अनुरुप देशको गरिमालाई व्यापार बनाई धर्म निरपेक्ष शब्दलाई कसिंगर झैं नफाली यदि हिन्दु राष्ट्रलाई अवहेलना हुने आँच आउने खालको संविधान लेखियो भने हेर नेता हो नेपाली आमाका वीर सन्तानले फेरी एकपल्ट ज्वालामुखी बनेर सिंह झैं तिमीहरुको विनाशको लागि गणतन्त्रको नामलाई सधैंको लागि अन्त्य गर्न र तिमीहरु जस्ता देशद्रोही, लुटेरा नेताहरुको तहसनहस गर्न गृह युद्ध पक्का हुने कुरामा दुइमत छैन । क्रमश:

प्रकाशित मितिः२०७१ माघ २९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment