समग्र तराइ मधेसमा ३० प्रतिशत धान रोपाइ : खडेरी र अनिकालको संकेत

वीरगंज । प्रत्येक वर्ष १० जुन जेष्ठको अन्तिम हप्तामा सुरु हुनु पर्ने मनसुन वर्षा साउन ६ गते (२२ जुलाइ)सम्म नहुँदा समग्र तराइका ३० प्रतिशत खेतमा मात्र धान रोपाइ सम्पन्न भएको छ ।
     तराइका जिल्लाहरुमा पम्पिङ सेट, टयूववेल, सिंचाइ नहर र कुलो भएको ठाउँमा धानको रोपाइ भएपनि मनसुन वर्षाको भरपर्नु पर्ने सम्पूर्ण खेत बाँझ छ । तराइ मधेशलाई धानको भण्डार भनिन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको तराइको भूभागमा पानी परेको छैन भने सारसुर परेको छ तर धानको रोपाइका लागि पर्याप्त पानी छैन । रोपिएको खेतमा पनि पानी पर्याप्त नहुँदा धानको वोट राम्रो छैन । किसानहरुले राखेको धानको बिउ छिप्पिइ सकेकोले अव उप्रान्त मनसुन वर्षा भइहाले पनि रोपाइ गर्न विउ छैन, छिप्पीइएको बिउ रोपेर काम छैन । जसले गर्दा धान कृषक चिन्तित छन् । खेत बाँझ छ, कृषक र सरकारले वैकल्पिक खेती गर्ने तर्फ कुनै सोच नराखेकाले खाद्यान्नमा पर निर्भर हुँदै गएको नेपालमा ठूलो अनिकाल पर्ने देखिन्छ । लामो खडेरी पर्ने संकेत देखापरेको छ । पहाडी जिल्लामा पनि पर्याप्त, पानीको अभावमा मकै र धान खेती बिग्रिएको छ । खाद्यान्नको ठूलो अभाव हुने परिस्थिति देख्दा पनि देशलाई आवश्यक पर्ने खाद्यान्नको जाहो गरी भण्डारण गर्न सरकारले तत्परता देखाएको छैन । ‘जब पर्‍यो राती तब बुढी ताती’ को अवस्थाबाट नेपालले कहिले मुक्ति पाएन । समय छँदा नै सस्तो सर्वसुलभ भएको बेलामा नै सर्वसाधारण जनताले आफ्नो घर परिवारलाई आवश्यक पर्ने खाद्यान्न चामल किनेर राख्न सके बेस हुन्छ तर बहुसंख्यक जनताहरुसँग स्टक राख्न सक्ने क्षमता छैन । विहानका लागि विहानै, बेलुकाको लागि बेलुकी खाद्यान्न सामाग्री किनेर खाने, नत्र भने भोकै बस्ने हुँदा खाने अवस्थाका नेपाली जनताहरुका लागि संभावित अनिकाल अति कष्ट हुन सक्दछ ।
मनसुनको अवधी सकिए पछि, खाद्यान्न धान, मकै र कोदोबाली बिग्रिएपछि अति दृष्टिले ठूलो प्राकृतिक विपद आउन सक्ने संभावना देखिन्छ । मौसम प्रक्रियामा देखिने (इलनिनो) प्रभावका कारण यस वर्ष औसत भन्दा निकै वर्षा हुने, ढिलो मनसुन हुने मौसमवीदहरुले अनुमान गरे पनि अहिलेसम्म मनसुन वर्षा नभइ, मनसुन वर्षा नै हराएको छ ।
धान र मकै नेपालको प्रमुख बाली हो । मनसुन वर्षा नहुँदा पहाडमा धान र मकै, तराइमा धान बाली पूरै बिग्रिएको छ । किसानको प्रमुख बाँच्ने आधार कृषि नै हो । कृषि बाली विग्रिएपछि किसानको हालत कस्तो होला अनुमान भन्दा बाहिर हुनेछ । असार, श्रावण महिनामा अविरल वर्षा, झमझम पानी पर्नु पर्ने हो पदेन । खडेरी र अनिकालको पीडा यस पटक नेपाली जनताले अनुभूति गर्न पाउने देखिन्छ ।
खडेरीका कारण धान र मकै बाली बिग्रिएपछि बैकल्पिक खेती तत्काल गर्न सरकारले कृषकहरुलाई लगाउनु पर्दछ । कृषकहरुलाई आवश्यक सहुलियत दिन सोच्नु पर्दछ । झापा, मोरङ, सुन्सरी, बाँके, बर्दिया, कैलाली र कंचनपुर तराइको धान बाली राम्रो हुने जिल्ला हो । वर्षा महिनामा लगभग तराईको सबै भूभागमा धान रोपिन्थ्यो यस पटक कृषकको लगानी यसै खेर जाने भएको छ ।

SHARE THIS

Author:

Facebook Comment